Wednesday, October 16, 2013

मदिराले मस्तिष्कमा पार्ने असर

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

मदिराले मस्तिष्कमा पार्ने असर

    हुन त मदिरा र यसले हाम्रा जीवनमा पार्ने राम्रा नराम्रा असरहरूका बारेमा असङ्ख्य आलेखहररू लेखिसकिएका छन्, तैपनि यहाँ मदिराको मस्तिष्कसँग कस्तो जीव रसायनिक सम्बन्ध हुन्छ भत्रे कुरालाई सामान्य रूपमा प्रस्तुत गर्न खोजिएको छ । मदिरा मानव जातिले स्वास्थ्यजन्य, भोजनजन्य, धार्मिक वा मनोरञ्जनजन्य उद्देश्यहरूका लागि प्राग ऐतिहासिककालदेखि प्रयोग गर्दै आएको एउटा सामान्य पेयपदार्थ हो । आ–आफ्नो दृष्टिकोण र विश्लेषणअनुसार मदिराको परिभाषा पनि स्वाभाविक रूपमा फरक फरक हुन्छ । कसैलाई मदिरा साथीभाइ जमघट हुँदा नभई नहुने अत्यावश्यक र अनिवार्य ’तत्त्व’ हुनसक्छ त कसैलाई एउटा ‘सांस्कृतिक पेय’  कसैलाई हाकिमले खाउभन्दा नाइँ भत्र नमिल्ने ’बाध्यात्मकता’ हुनसक्छ त कसैलाई जँड्याहाहरूले मात्र खाने ’तीनपानी’ कसैलाई दुअख पीरलाई बिर्साउने भ्रमपूर्ण र मिथ्या अलौकिक ‘औषधि’ हुनसक्छ त कसैलाई हाइड्रोक्सिल कार्यात्मक समूह हुने प्राथमिक अल्कोहोल समूहको दोस्रो सदस्य, ‘इथानोल’ ।
    मदिरा विश्वमै सबैभन्दा बढी खपत हुने लागूपदार्थ हो । धेरैका लागि मदिरा सेवन भोजनजस्तै दिनानुदिन जीवनको एउटा अभिन्न अङ्ग बनेको हुनसक्छ । आक्कलझुक्कल कहिलेकाहीं वा नियमित सेवन गरिए पनि हामीमध्ये धेरैलाई मदिराले हामीलाई खासमा के गर्छ वा मदिराले कसरी असर गर्छ भन्ने कुरा वास्तवमा थाहा नभएको हुनसक्छ । परम्परागत ज्ञानअनुसार मदिरा एउटा अवसादक पदार्थ हो, जसको सेवनले हामीलाई झुम्म नशा लाग्दछ । तर यतिमात्रै भनेर मदिराले गर्ने असरहरूलाई व्याख्या गर्न सकिंदैन । मान्छेहरू रात्रीभोज तथा पार्टीहरूमा रमाउन र उत्साहित हुनका लागि पिउँछन्, न कि अवसादग्रस्त हुन् । मदिराका केही चुश्किहरूले ऊर्जा, स्फूर्ति र उत्साहलाई प्रज्ज्वलन गर्नसक्दछ र तपाईंलाई एउटा हलचलयुक्त झड्का दिनसक्दछ । मदिरा केवल सामान्य अवसादक पदार्थमात्र होइन ।
    व्यवहारसम्बन्धी अनुसन्धान गर्ने खोजकर्ताहरूले मदिराका शारीरिक र मानसिक असरहरूलाई बुझ्ने प्रयास गरेका छन् । मदिरा सेवनले मनोदशा, उत्तेजना, व्यवहार र स्नायु–मानसिक कार्यप्रणालीमा गम्भीर परिवर्तनहरू हुने गर्छ । यद्यपि, अध्ययनअनुसार कुनै व्यक्तिले कति पिउँछ भन्ने कुराले मात्र नभई उक्त व्यक्तिको रक्त सञ्चार प्रणालीमा रहेको मदिराको मात्रामा आउने उतारचढावले पनि मदिरा सेवनले पार्ने असरहरूलाई निर्धारण गर्दछ । मदिरा सेवनको प्रक्रियामा प्रारम्भिक चरणमा मदिराले उत्तेजक पदार्थको काम गर्दछ । जब रक्तसञ्चार प्रणालीमा रहेको मदिराको मात्रामाथि चढ्छ, मदिरा सेवन गर्ने व्यक्तिलाई स्फूर्ति, उत्साह र बहिर्मुखीपन बढेको र साथै, थकान, बेचैनी, अवसाद र तनाव घटेको महसुस हुन्छ । यसको विपरीत जब रक्त सञ्चार प्रणालीमा रहेको मदिराको मात्रा विस्तारै घट्न थाल्दछ तब शक्तिमा ह्रास आउनुका साथै थकान, विश्राम, भ्रम र अवसादजन्य अनुभूतिमा वृद्धि हुन्छ ।
    केही अनुसन्धानकर्ताहरूले मदिरा सेवनले हाम्रो शरीरमा नोरएपिनेफ्रिन (उत्तेजनासँग सम्बन्धित स्नायुसञ्चारक रसायन) को मात्रा बढाउने कुरा पत्ता लगाएका छन्, जसले मदिरा सेवन गर्ने व्यक्तिले प्रारम्भिक चरणमा अनुभव गर्ने सशक्त उत्तेजनाको प्रक्रियालाई व्याख्या गर्दछ । मदिरा र अरु थुप्रै उत्तेजक पदार्थहरूले नोरएपिनेफ्रिनको मात्रालाई बढाउने गर्दछ । तसर्थ, मदिरा अवसादक पदार्थमात्रै नहुन सक्दछ । नोरएपिनेफ्रिनको अधिक मात्राले आवेगजन्य व्यवहारलाई बढाउने गर्छ, त्यसैले हामीले मदिरा सेवनको आवेगलाई रोक्न असमर्थ हुँदै जान्छौं । नशामा चूर भएको मस्तिष्क मदिरा सेवनले उत्पत्र गर्नसक्ने दुष्परिणामहरूतर्फ कुनै विचारै नगरी केवल आनन्द प्राप्त गर्नमा नै लिप्त हुन्छ ।
    यद्यपि नोरएपिनेफ्रिनको मात्रामा आउने वृद्धिले मदिराले उत्पत्र गर्ने असरहरूलाई केही मात्रामा व्याख्या गर्दछ, तर यसले हाम्रो मस्तिष्कको कुन क्षेत्रमा प्रभाव पार्छ भन्नेबारेमा केही प्रस्ट छैन। अनुसन्धानहरूले मदिरा सेवनको अवस्थामा हाम्रो मस्तिष्कको प्रिफ्रोन्टल कोर्टेक्स र टेम्पोरल कोर्टेक्सका क्षेत्रहरूको क्रियाकलापमा सबैभन्दा कमी आउने देखाएका छन्। स्मरण रहोस्, प्रिफ्रोन्टल कोर्टेक्स मस्तिष्कको त्यो क्षेत्र हो जुन निर्णय क्षमता र तार्किक विचारसँग सम्बन्धित छ । तसर्थ मदिरा सेवन गर्दाखेरि प्रिफ्रोन्टल कोर्टेक्सको क्रियाकलापमा कमी आउनुको कारणले पियक्कडहरूले किन धेरैजसो अतार्किक क्रियाकलापहरूको प्रदर्शन गर्छन् भन्ने कुरालाई प्रस्ट पार्दछ । यसका अतिरिक्त, प्रिफ्रोन्टल कोर्टेक्सले आवेशजन्य व्यवहारहरूलाई नियन्त्रण गर्ने भूमिका पनि खेल्दछ, तसर्थ मदिरा सेवन गरेका मान्छेहरू सम्भावितरुपमा हिंस्रक र आक्रामक बन्न सक्दछ । प्रिफ्रोन्टल कोर्टेक्सको भित्री भागमा स्मृतिसँग सम्बन्धित हिप्पो क्याम्पस भनिने एउटा विशिष्ट क्षेत्र अवस्थित हुन्छ । हिप्पो क्याम्पसको क्रियाकलापमा आउने कमीको कारणले मदिरा सेवन गर्दा स्मृतिशून्य हुने अवस्थाको सृजना हुनसक्दछ ।
    त्यस्तै मदिराले शारीरिक चालसँग सम्बन्धित क्षेत्र, सेरेबेलममा ऊर्जा खपत हुने प्रक्रियामा पनि कमी ल्याउँछ । जब सेरेबेलमको क्रियाकलापको गति औसत अवस्थाको भन्दा आधा हुन्छ, तब हामीलाई सरल रेखामा हिंड्न कठिन हुन्छ । यसले मदिरा सेवन गरेकाहरूको ‘बाटो पूरै आफ्नो’ किन हुन्छ भन्ने कुरालाई स्पष्ट पार्छ । अब, यति भनी सकिएपछि, मदिराले आणविक तहमा मस्तिष्कमा कसरी प्रभाव गर्छ भन्ने कुराको सामान्य जानकारी लिऔं, यद्यपि यो एउटा अति जटिल र बहुआयामिक प्रक्रिया हो ।
    मस्तिष्कमा हुने स्नायुकोषहरूको कोष झिल्लीमा असङ्ख्य विशिष्ट ‘रिसेप्टर प्रोटिन’ हरू विद्यमान हुन्छन् । यी रिसेप्टर प्रोटिनहरूको मुख्य काम कोष बाहिरबाट कोषतर्फ प्रवेश गर्ने रसायनिक र गैररसायनिक सङ्केतहरूमा निहित जीव रसायनिक ‘सन्देश’ हरूलाई कोषभित्र पुर्याउनु हो । अध्ययनहरूका अनुसार मदिराले त्यस्ता सयौं प्रकारका विशिष्ट रिसेप्टर प्रोटिनहरूलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पार्दछ । विशेष गरेर र महत्वपूर्ण रुपमा, अध्ययनहरूले मदिराले, सानो मात्रामा समेत, गाबा रिसेप्टरको एउटा उप–अंशसँग आबद्ध भएर त्यसको क्रियाकलापमा वृद्धि ल्याउने देखाएका छन् । गाबा रिसेप्टरहरूको क्रियाकलापमा वृद्धि हुनुले हामीलाई आनन्दको अनुभूति दिन्छ । यसका अतिरिक्त, गाबा रिसेप्टरको उक्त उप–अंश हाम्रो मस्तिष्कको प्रिफ्रोन्टल कोर्टेक्स, हिप्पोक्याम्पस र सेरेबेलममा बढी मात्रामा सङ्केन्द्रित भएको पाइएको छ । याद गर्नुहोस्, मदिरा सेवनको अवस्थामा प्रभावित हुने क्षेत्रहरू यी नै हुन् । यसरी मदिराले गर्ने असर वास्तवमा मदिराले गाबा रिसेप्टरको क्रियाकलापमा ल्याउने वृद्धिले गर्दा हो भन्ने बलिया आधारहरू स्थापित हुँदै गएका छन, यद्यपि मदिराले मस्तिष्कका अन्य क्षेत्रमा गर्ने अरु असरहरूको बारेमा विस्तृत रुपमा थाहा हुन बाँकी नै छ भन्ने कुरामा स्पष्ट हुनुपर्दछ ।
 — मृगेन्द्रवीर कर्माचार्य
(लेखकःरसायनशास्त्रमा विद्यावारिधि हुनुहुन्छ)

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete