Friday, April 5, 2013

बिस्केट जात्राका लागि चोकचोकमा सिसी क्यामरा

वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)

बिस्केट जात्राका लागि चोकचोकमा सिसी क्यामरा

    भक्तपुर । नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरले सुरक्षा व्यवस्थामा कडाई गर्ने भएको छ ।
    हरेक वर्ष ढुङ्गा हानाहान हुने र एक दर्जनभन्दा बढी घाइते हुने यो जात्रालाई यस वर्ष शान्तिपूर्ण रुपमा सम्पन्न गर्न शान्ति सुरक्षामा कडाई गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज भट्टराईले आज जानकारी दिनुभयो । सुरक्षा रणनीतिबारे विशेष बैठक बसेर सुरक्षाका अवधारणा बनाइएको छ ।
    आउँदो चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक महत्वको बिस्केट जात्रालाई सुसंस्कृत रुपमा सञ्चालन गराउन सुरक्षा व्यवस्थालाई निकै कडा बनाइने महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले बताउनुभयो ।
    जात्रा हुने मुख्य क्षेत्र र ढुङ्गा हानाहान हुने क्षेत्रमा ढुङ्गा हान्नेहरूको पहिचानका लागि प्रहरी र प्रशासनले यस वर्ष सिसी क्यामरा जडान गर्ने भएको छ ।
    प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, ‘यसवर्ष हामीले जात्रा सञ्चालन हुने चोकचोकमा, ढुङ्गा हान्ने स्थानहरूमा र विगतका झगडा भएका स्थानमा सिसी क्यामरा जडान गर्ने र त्यस्ता व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिएर कारबाही गर्ने भएका छौं ।’
    विगतका वर्षहरूमा ढुङ्गा हान्ने व्यक्तिहरूलाई अहिलेदेखि नै निगरानीमा राखिएको प्रहरीले जनाएको छ । यसवर्ष ढुङ्गा हान्ने र झगडा गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाइने र कम्तीमा आठ दिनसम्म थुनामा राखिने प्रहरीले बताएको छ ।
    रथ तान्ने दिन स्थानीय होटलहरूसमेत केही घण्टाका लागि बन्द गराउने प्रशासनको योजना छ । भक्तपुरसँगै काठमाडौंका जनपद, सशस्त्र प्रहरीसमेत ल्याएर सुरक्षा व्यवस्था कडा गरिने र सादा पोसाकका प्रहरीसमेत व्यापकरुपमा खटाइने भएको छ ।
    जात्रामा स्थानीय क्लब, संघ संस्थाका सदस्यहरूलाई  स्वयंसेवकका रुपमा परिचालन गरिने भएको छ ।

No comments:

Post a Comment