Friday, April 5, 2013

चार शासक दलसँग संसदको अधिकार नहुने

वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)

चार शासक दलसँग संसदको अधिकार नहुने

    काठमाडौ । नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिको आयोजनामा ‘देशको समसामयिक विषयबारे जुलुस तथा जनसभा’ सम्पन्न भयो । काठमाडौंको सुन्धाराबाट सुरू भएको जुलुस बसन्तपुरमा पुगेर जनसभामा परिणत भएको थियो ।
    जनसभामा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश सम्बन्ध समिति प्रमुख प्रेम सुवालले चार शासक दलले संसद नभएको बेला संविधान संशोधनको सिफारिस गरेको अनाधिकार भएको चर्चा गर्दै निर्वाचन सरकारको गल्ती चार शासक दलको दोष हुने बताउनुभयो  ।
    उहाँले चार शासक दल असफल भएकैले ती दलहरू बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न बाध्य भएको उल्लेख गर्दै ती दलहरूको बाध्यताको भाषा हिन्दी या अँग्रेजी कुन हो भनी प्रश्न
गर्नुभयो ।
    एमाओवादी र एमाले दुवै भाइ काँग्रेस बनेको हुँदा सरकारमा गएर पूँजीपति वर्गको सञ्चालक समितिको रूपमा काम गरेको चर्चा गर्दै उहाँले देश असफल होइन चार शासक दल असफल भएको बताउनुभयो ।
    उहाँले प्रजातन्त्रमा प्रतिपक्ष बलियो हुनुपर्ने तर सहमतिको नाममा चार शासक दलले भागवण्डाको राजनीति गरेको हुँदा प्रजातन्त्र कमजोर भएको चर्चा गर्दै स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा प्रजातन्त्र र बजेट सिंहदरबारभित्र सीमित भएको उल्लेख गर्नुभयो ।
    काठमाडौं उपत्यकामा जनसंख्या केन्द्रित गरिएकोले खानेपानीको हाहाकार भएको, खोला फोहर ढलमा परिणत भएको, फोहर मैला व्यवस्थापनमा समस्या भएको, अपराध र असुरक्षा बढेको चर्चा गर्दै उहाँले पश्चिम नेपालमा सानो सानो सहरको विकास गरेर सन्तुलन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    साठी प्रतिशत नेपाली जनता गरिबी रेखामुनि रहेको तर सरकारी अस्पतालमा डाक्टर, प्रयोगशाला र एक्सर,े अल्ट्रासाउण्ड, एमआरआईलगायत व्यवस्थित नहुँदा सर्वसाधारण जनता निजी अस्पतालमा उपचार गराउन बाध्य भएको चर्चा गर्दै उहाँले निजी अस्पतालमा मरेको मान्छेलाई भेन्टिलेटरमा राखेर शुल्क असुल गरे पनि सरकार मौन रहेको बताउनुभयो ।
    उहाँले जनताले सिटामोल पाउन गा¥हो भएको देशमा मूल्यअभिवृद्धि कर (भ्याट) अर्बौं रूपैयाँ छलेकाहरू माथि कारबाही नभएको र बैंक र वित्तीय संस्थाबाट आर्थिक अपराध गरेकाहरू शासक दलमै लुकेर फरारको नाटक गरिरहेको चर्चा गर्नुभयो ।
    बिप्पा विमानस्थल भारतलाई जिम्मा दिने, नदीनाला भारतलाई सुम्पने रविशंकर र रामदेवजस्ता भारतीयहरूको प्रवचन र योग सिक्ने नेपाली शासक र प्रमुख कर्मचारीहरूकै कारण भारतीय हस्तक्षेप बढेको चर्चा गर्दै उहाँले शासक दलका नेताहरू लेण्डुप दोर्जेको नयाँ संस्करणको रूपमा उदय हुने खतरा बढेको उल्लेख गर्नुभयो । उहाँले गिरिजा र प्रचण्डले एसडी मुनीका अनुसार एक मधेस एक प्रदेश भारतको इच्छा भएको हुँदा जातजातिको आधारमा होइन भूगोल र प्राकृतिक स्रोत साधनको आधारमा हिमाल, पहाड, मधेस समावेश संघ राज्य उचित हुने पार्टीको धारणा दोहो¥याउनुभयो ।
    नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले ठूला राजनीतिका दलका सहमति नेपाली जनतालाई स्वीकार्य नभएको बताउनुभयो । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर ठूला राजनीतिक दलहरूले प्रतिगामी काम गरेको बताउनुभयो ।
    स्थानीय निकायमा जनप्रतिनिधिविहिनताले गर्दा व्याप्त भ्रष्टाचार मौलाएको, आर्थिक अनियमितता बढेको र राजनीतिक दलले विकास बजेट बाँडीचँुडी खाइरहेको बताउनुभयो ।
    नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य लीला न्याइच्यार्इंले महिला सशक्तिकरणको नाममा गैससले आफ्नो लगानी गरिरहेको बताउँदै गैससहरूबाट महिला मुक्ति सम्भव नभएको बताउनुभयो ।
    उहाँले कम्युनिष्ट पार्टीका महिला नेतृसमेत गैससहरूको दलाल बनिरहेको बताउँदै कम्युनिष्ट पार्टीलाई बिगार्न र समाप्त पार्न गैससहरू लागिरहेको उल्लेख गर्नुभयो ।
    नेमकिपा केन्द्रीय सदस्य सनकमान महर्जनले देशमा राजनीतिक अस्थिरता र संक्रमणकाल लम्बिँदै जानुमा ठूला राजनीतिक दल नै दोषी रहेको स्पष्ट पार्दै राजतन्त्र अन्त्य भइसकेकोले अब नेपाली जनताको प्रमुख शत्रु भारतीय विस्तारवाद भएको उल्लेख गर्नुभयो ।
    काडमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं उपाध्यक्ष नरमान महर्जन, नेक्रायुसंघका केन्द्रीय अध्यक्ष उकेश कवां, नेक्राविसंघका सहसचिव सरोजकुमार साह, राजवीर डंगोल र गीता महर्जनले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment