Friday, February 8, 2013

प्राकृतिक विज्ञान संग्रहालय एक अध्ययन केन्द्र हो

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

प्राकृतिक विज्ञान संग्रहालय एक अध्ययन केन्द्र हो

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, प्राकृतिक विज्ञान संग्रहालयको (स्वयम्भू, काठमाडौं) इतिहास, त्यहाँको स्थितिबारे विज्ञान विषय लिएर अध्ययन गर्नुहुने विद्यार्थी र सर्वसाधारणको जानकारी दिने उद्देश्यले केन्द्रित भएर त्यस संग्रहालयका प्रा.डा. धर्मराज डंगोलले सहिद साप्ताहिकको लागि तयार पार्नु भएको तपाईंको सवाल हाम्रो जवाफ यहाँ प्रस्तुत छ । – स.

१. प्राकृतिक विज्ञान संग्रहालय के हो ?
    प्राकृतिक विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, प्राप्त अनुसन्धानात्मक नतिजालाई आम जनता समक्ष सू–सूचित गर्ने र जागरण गराउन तथा संकलित नमूनालाई प्रदर्शनी गर्ने एउटा छुट्टै संस्था अथवा संस्थाको जिवित अंग (निकाय) नै प्राकृतिक विज्ञान संग्रहालय हो ।
२. नेपालमा प्राकृतिक विज्ञान संग्रहालयको  स्थापना कहिले र कहाँ गरिएको थियो ?
    नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्ने र जानकारी दिने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट प्राकृतिक विज्ञान संग्रहालयको वि.सं. २०३२ श्रावण २ गतेका दिन  काठमाडौंको स्वयम्भूमा स्थापना गरिएको
थियो ।
३. यस्ता संग्रहालय कसले संचालन गर्दछन् ?
    हाम्रो संग्रहालय त्रिभुवन विश्वविद्यालयबाट संचालन हुन्छ ।
४. संग्रहालयको  लागि आवश्यक नमूनाहरु कसरी संकलन गर्ने गर्नु हुन्छ ?
    यस संग्रहालयका वैज्ञानिकहरुले प्रकृति सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्दा वैज्ञानिक बिधि अपनाई नमूनाहरु संकलन गर्ने गर्दछन् । यसका अतिरिक्त व्यक्ति वा संस्थाबाट खरिद गरिएका अथवा दानबाट प्राप्त नमूनाहरु पनि संग्रहालयमा प्रदर्शनीको लागि राखिएका
हुन्छन् ।
५. यस प्राकृतिक विज्ञान संग्रहालयमा  संकलित नमूनाहरु के कति छन् ?
    यस संग्रहालयको हलमा वनस्पति, जीवजन्तु, जिवावशेष र चट्टान तथा खनिज पदार्थहरुका नमूनाहरु प्रदर्शनीमा छन् । संकलित नमूनाहरुको किसिम र संख्या तलको तालिकामा देखाईएको छ ।
६. संग्रहालयलमा के कस्ता अनौठा नमूनाहरु छन् ?
    यहाँ हात्ति, गैंडा र मानिसको भ्रूण, काठमाडौंबाट संकलन गरिएको ९ फीट ३ इञ्च लामो राजगोमन, २० फीट ४ इञ्च लामो अजिंगरको काँचुली, दुई टाउके सर्प, बाख्राको आठ खुट्टे पाठी, कुखुराको चार खुट्टे चल्ला, एक टाउके दूई जिउ भएको सुंगुरको पाठी, सेतो काग, रामानिपिथेकसको बंगारा, नेपालबाटै लोप भईसकेको रामगाई, संसारकै ठूलो पतङ्ग, समुद्री घोडा जस्ता अनौठा खालका नमूनाहरु संग्रहित छन् । साथै यहाँ आउने आगन्तुकहरुले थुप्रै थरीका जडिबुटीहरु, किरा खाने बिरुवाहरु, विभिन्न थरिका झ्याउ तथा च्याउहरु, जातजातका यार्सागुम्बा र बोट–विरुवाबाट बनाईएका सर–सामानहरुको साथ साथै  देशका विभिन्न कुनाकाप्चाबाट संकलन गरिएका बोट विरुवाका हर्वेरियम नमूनाहरु पनि अवलोकन गर्न सक्दछन् ।
७. संग्रहालयले के–कस्ता प्रकाशनहरु गरेको छ ?
    देश विदेशका वैज्ञानिकहरुका प्रकृति सम्बन्धी अध्ययन अनुसन्धानका नतिजाहरुलाई वैज्ञानिक समुदाय र आम जनमानसमा पुर्याउने उद्देश्यले सन् १९७७ देखिनै “जर्नल अफ नेचुरल हिष्ट्री म्यूजियम” प्रकाशन गर्दै आएको छ र हाल सम्म २६ अंक प्रकाशन गरिसकेको छ । अनुसन्धानकर्ता, शिक्षाविद् र अध्ययनकर्ताहरुको आवश्यकतालाई ध्यानमा राखि “फिल्ड गाइड टु नेपालीज बटरफ्लाइज”, “नेपालका सर्पहरु”, र “नेपाल सिवालिक: द्योर इन्भाइरोनमेण्ट एण्ड पालियान्टोलोजिकल इम्पोट्र्यान्स”, “एन आर्ट अफ टेक्सीदर्मी” जस्ता पुस्तकहरु यस संग्रहालयले प्रकाशन गरिएको र यी प्रकाशनहरु संग्रहालय अथवा काठमाडौं उपत्यकाका विभिन्न पुस्तक पसलहरुबाट खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
८. संग्रहालयको अवलोकन गर्न को–को पुग्ने गर्दछन् ?
    काठमाडौं उपत्यका र वरपरका स्कूल, कलेज र विश्वविद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरु यस संग्रहालयको अवलोकन गर्न पुग्ने गर्छन् । संकलित नमूनाहरुको अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु पनि संग्रहालयमा पुगेका हुन्छन् ।
९. संग्रहालय किन पुग्छन् ?
    नेपालका प्राकृतिक विज्ञानसँग सम्बन्धित विषय वस्तुलाई हेर्न, बुझ्न र आफूले पनि त्यस विषयमा केहि योगदान दिन सकिन्छ कि भनेर मनन गर्न र अन्य सहयोग गर्ने अवसर जुटाउने उद्देश्यले संग्रहालयको अवलोकन गर्न पुग्ने गर्छन् ।
१०. संग्रहालयसम्म कसरी पुग्ने ?
क) यदि तपाई चक्रपथमा हुनुहुन्छ भने चक्रपथ घुम्ने बस, मिनिबस या माइक्रोबस चढ्नुस् र स्वयम्भूको ठूलो भगवान बुद्घको मूर्ति भएको ठाउँमा ओर्लनुस्, र मञ्जुश्री बजारको बाटोबाट ५–१० मिनेट पैदल हिँड्नुस् अनि तपाई प्राकृतिक विज्ञान संग्रहालयको ढोकामा पुग्नुहुन्छ ।
ख) यदि तपाई छाउनीको राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय हेरेर प्राकृतिक विज्ञान संग्रहालय हेर्न चाहनुहुन्छ भने छाउनीबाट किमडोल चोक पुग्नुस् र मञ्जुश्री बजार मार्गमा २–३ मिनेट पैदल हिँड्नुस् प्राकृतिक विज्ञान संग्रहालयको बोर्ड देख्नु हुनेछ ।
ग) यदि तपाई रत्नपार्क अथवा शहिद गेटमा हुनुहुन्छ भने स्वयम्भूको रुट १९ को बस चढ्नुस् , कालिमाटी–कलंकी हुँदै स्वयम्भू पुर्याउँछ, स्वयम्भूमा ओर्लनुस् मञ्जुश्री बजारबाट ५–१० मिनेट पैदल हिँडेर सिधै संग्रहालय पुग्न सक्नुहुनेछ ।
घ) रत्नपार्कदेखि स्वयम्भू रुटको माइक्रो बस चढेर पनि संग्रहालयको गेटमा पुग्न सक्नुहुन्छ ।
ङ) सुन्धारा÷रत्नपार्क÷ शहिदगेटबाट टेम्पुमा चढी किमडोल चोकमा ओर्लनुस् र मञ्जुश्री मार्गबाट २–३ मिनेट पैदल हिँडेर संग्रहालयमा पुगिन्छ ।
च) स्वयम्भू भगवानको दर्शन गरिसकेपछि यस संग्रहालयमा अवलोकन गर्न चाहनुहुन्छ भने तल मञ्जुश्री बजार हेर्नुस्, यस संग्रहालयको हल, पार्क र चउर देख्न सक्नु हुन्छ र सिढीबाट ओर्लनुस् र ठूलो प्रवेशद्वारले तपाईलाई स्वागत गरी राखेको हुनेछ ।
११. प्रदर्शनी हलमा प्रवेश गर्न कति शुल्क तिर्नु पर्छ ?
    नेपाली अथवा सार्क देशका वयस्क आगन्तुकले प्रति व्यक्ति ने.रु. २०।– र विदेशीले ने.रु. ५०।– शुल्क तिरी हलभित्र प्रवेश गर्न सकिन्छ । म्यूजियम भित्र फोटो खिच्न चाहेमा प्रति क्यामरा रु. ५०।– र भिडियो खिच्न चाहेमा प्रति मुभि क्यामराको रु.२००।– तिर्नु पर्नेछ । ५ वर्ष मुनिका बच्चाहरुलाई शुल्क लाग्दैन । स्वदेशी विद्यार्थीहरुले परिचय पत्र देखाएमा ५०% छुट दिने व्यवस्था गरिएको छ ।
१२. के संग्रहालय निश्चित समयमा मात्र खोल्ने गरिन्छ ?
    यो संग्रहालय शनिबार र सार्वजनिक विदाको दिन बाहेक अन्य दिनमा खुला रहनेछ । माघ १६ गतेदेखि कार्तिक १५ गते सम्म बिहान १० बजे देखि बेलुका ५ बजे सम्म, र कार्तिक १६ गते देखि माघ १५ गते सम्म बिहान १० बजे देखि बेलुका ४ बजे सम्म अवलोकनको लागि खुला गरिएको हुन्छ ।
१३. थप अथवा अन्य जानकारी चाहिएमा के गर्ने ?
    तपाईंलाई अन्य थप जानकारी आवश्यक भएमा संग्रहालयमा पुगी वैज्ञानिकहरु अथवा त्यहाँका कर्मचारीसँग  भेटनुस् । साथै संग्रहालयको वेभसाइट (www.nhmnepal.edu.np) हेरेर अथवा info@nhmnepal.edu.np मा इमेल गरेर पनि जानकारी लिन सकिन्छ । तपाईंले ०१–४२७१८९९ मा फोन गरेर पनि आवश्यक जानकारी पाउन सक्नुहुन्छ । (थप जानकारी र प्रश्नको लागि सहिद साप्ताहिकमा पत्राचार या इमेल गर्न सकिन्छ ।)
प्रा.डा. धर्मराज डंगोल
त्रिभुवन विश्वविद्यालय
विज्ञान तथा प्रविधि अध्ययन संस्थान
प्राकृतिक विज्ञान संग्रहालय
स्वयम्भू, काठमाडौं, नेपाल ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete