Friday, September 14, 2012

बाल अधिकार

सन्दर्भ : बाल दिवस २०६९

बाल अधिकार

- रामचन्द्र महर्जन
शिक्षक: जनसेवा उच्च मावि

 वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
    २०६२/०६३ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त लोकतन्त्र तथा गणतन्त्र आएदेखि हरेक वर्ष भाद्र महिनाको २९ गते बाल दिवस मनाउँदै आइरहेको छ । तर पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म स्थानीय निकायहरुले आ–आप्mनो क्षेत्रमा के कति बाल–बालिकाहरु छन् सोको लेखाजोखा गरेको देखिदैन र आकँडा संकलन गरेको पनि देखिदैन । यस्तो अवस्थामा कसरी बालअधिकार संरक्षणको पहल गरेको हुनेछ ।
     कुन घरपरिवारमा कस्ता–कस्ता बालबालिकाहरु छन्, ती बालबालिकाहरुको अवस्था कस्तो छ ? सोको कुनै जानकारी लिएको छैन तर विश्वमा बालबालिका संरक्षणको लागि विभिन्न पहल वा प्रयासहरु हुँदै आइरहेको छ ।  बालअधिकार भन्नाले बालबालिकाहरुले प्राप्त गर्ने जन्मसिद्ध अधिकार वा मौलिक अधिकार, गाँस बाँस र कपास उचित शिक्षा दिक्षा तथा उचित स्वास्थ उपचारको सुविधा इत्यादीलाई बालअधिकार भनिन्छ ।
    बालबालिका साथ हुने अन्याय, अत्याचार, शोषण, दमन, बालश्रम, अपहरण, हत्या विरुद्ध उठेका कुराहरुलाई बालअधिकारको रुपमा लिन सकिन्छ । विकासशील मुलुकमा गरिवी र बेरोजगारले गर्दा बालश्रम गराउने गरिन्छ । बालबालिकाहरुलाई क्षमता भन्दा कठिन काम गराउने, यौन दुराचारका लागि बेचबिखन गर्ने आमाबुबाले पैसाका लागि श्रममा लगाउने, उद्योगधन्दा र विभिन्न प्रतिस्ठानहरुमा सस्तो वा कम ज्यालामा काम लगाउने, धनाध्य वा जमिन्दारको घर र होटल तथा सानातिना भट्टीमा क्षमता बाहिरका काममा लगाउने, श्रम शोषण गर्ने कार्य भइरहेका छन् र पैसाका लागि अपहरण गरी हत्या गर्ने कार्य पनि भइरहेका छन् । बालबालिकाहरु सडकमा जताततै फोहोर मैलोकासाथ जिन्दगी बिताइरहनु पर्ने बाध्यता छ र उचित बाल संरक्षण तथा उचित शिक्षा–दीक्षा नपाउँदा कुलत तथा दुव्र्यसनमा लागि रहेको देखिन्छ । त्यस्तै अनाथ तथा अपाङ्ग बालबालिकाहरुको लागि कुनै पनि योजना तथा संरक्षणका योजनाहरुको व्यवस्था गरेको देखिदैन र दातृ संस्थाको आशमा बसिरहेको देखिन्छ ।
    स्कूले बालबालिकाहरुले बन्द हड्ताल, चक्का जाम, आदिले गर्दा उचित शिक्षा पाएका छैनन् । डर त्रासमा हिँडिरहनुपर्ने बाध्यता छ । यस्तो अवस्थाबाट उन्मुक्तिका लागि सम्बन्धित निकायहरुले कुनै पहल गरेको देखिदैन । भन्छ बाल अधिकार तर कहाँ र कस्तालाई बाल अधिकार यी कुरा सम्बन्धित निकायले समय–समयमा अनुगमन तथा निरीक्षण भइरहेको देखिदैन । आर्थिक रुपमा सम्पन्न र विकसित देशहरुमा भने बाल अधिकारका बारेमा त्यति ठूला समस्याहरु देखिदैन तर अल्पविकसित तथा आर्थिक रुपले विपन्न गरिवी सर्वसाधारण बालबालिकाहरुलाई बाल अधिकार समस्याका रुपमा उठ्ने गरेका छन् ।
     सन् १९८९ मा संयुक्त राष्ट्र संघको महासभाले बाल अधिकार सम्बन्धी घोषणा जारी गरेको थियो । संयुक्त राष्ट्र संघको उक्त घोषणालाई बालबालिकाको मौलिक अधिकारका रुपमा लिइने गरिन्छ भने उक्त घोषणालाई कार्यान्वयन गर्न सन् १९९० मा थाइल्याण्डको जोम्टिन भन्ने ठाउँमा संयुक्त राष्ट्र संघको अगुवाइमा विश्व शिखर सम्मेलन भएको थियो । उक्त सम्मेलनमा प्राथमिक शिक्षामा जोड दिने, सबैका लागि शिक्षा जस्ता नाराहरु उठाइएका थिए तर के ती नारा हाम्रो देशमा मेचीदेखि महाकालीसम्मका बालबालिकाहरुले त्यो नारा अनुसार समान अवसर प्राप्त गरे होला त !  यसमा नेपालले पनि हस्ताक्षर गरेको थियो । हस्ताक्षर गरेको गरै भयो किनभने ऐतिहासिक जन आन्दोलनबाट प्राप्त लोकतन्त्र तथा गणतन्त्रमका पनि बालबालिकाको हकहितका लागि संविधान निर्माण नगरी सत्ताको लागि घम्साघम्सी गरिरहेका छन् ।  बाल अधिकार हरेक देशका हरेक परिस्थिति खास गरी अल्पविकसित र अविकसित देशहरुमा हनन् हुने गर्दछन् । जस्तै शिक्षा तथा तेश्रो आँखा प्राप्त गर्ने बेलामा बालबालिकाहरुलाई विभिन्न कार्य गराई उनीहरुको अधिकार हनन् गर्ने गरेको पाइन्छ । जस्तोसुकै आदर्शवादी आमाबाबु पनि व्यवहारमा छोराछोरीप्रति भेदभाव गर्न पछाडि पर्दैन । जस्तो छोरालाई नीजि विद्यालय र छोरीलाई सामुदायिक विद्यालय पढाउने गरेको पाइन्छ । शिक्षा, अज्ञातना तथा सौतेनी व्यवहारले गर्दा बालबालिका विद्यालय जानको सट्टा घरमा नै काम गर्ने वा घर छाडी सडक बालबालिकाको जीवन यापन गर्न बाध्य हुन्छन् । साथै देह व्यापार गर्न बाध्य रहेका छन् । त्यस्तै जुनसुकै देशमा पनि राजनीतिकर्मीहरु हुन्छन् तर विभिन्न दर्शन वा आदर्श बोकेर अन्धो समर्थन गर्दै हिँडेका राजनीतिकर्मीहरु आफ्नो पार्टी र स्वार्थको लागि बालबालिकाहरुलाई विभिन्न कार्यमा लगाउने गर्दछन् तर ठूला दलका नेताहरु सरकारमा जाँदा पनि बालबालिकाहरुको हरेक हितका लागि कुनैपनि आर्थिक बजेट तयार गरेको देखिदैन बरु लोडसेडिङ्ग गराएर बालबालिकाको अध्ययन गर्नबाट बञ्चित गराएको छ । जसले गर्दा बालबालिकाको शैक्षिक गुणस्तरमा बृद्धि नभएको देखिन्छ । बालबालिकाको लागि के हो सोच नराख्ने सरकारले हरेक माध्यमबाट शैक्षिक गुणस्तर खस्के भन्दै भाषण गर्दै, उद्घोष गर्दै हिँड्दोरहेछन् । गरिव निमुखा सर्वसाधारण जनताका बालबालिकामाथि सरकारले ठूलो खेलवाद गरेको पाइन्छ र बालबालिकाहरुका लागि कुनैपनि हौसलाका कार्यक्रमहरु ल्याएको देखिदैन । बरु सामुदायिक विद्यालयमा निःशुल्क भन्ने नाम उठाएको थियो तर त्यसको कार्यान्वयन, अनुगमन र निरीक्षण पटकै भएको देखिदैन जसलेगर्दा जनताका बालबालिकाहरु मारमा परिरहेका छन् । खोइ कसले विचार गर्ने ? न त बालमैत्री समाज, अभिभावक संघ, बाल कल्याणकारी संघ तथा स्वयम् सरकार नै गर्दछन् । यस्तो बेला कहाँ गयो बाल अधिकार । यसरी बाल अधिकारको हनन् र शोषणले चरम सीमा लिँदै गएमा एक दिन देशलाई अति नराम्रो सँग क्षति पु¥याउँछ । एक दिन बाल दिवसको औचित्यलाई पनि ख्याल गर्नुपर्ने देखिन्छ । अन्तमा आजका बालबालिकाहरु भनेका भविष्यका राष्ट्रिय कर्णधार हुन् । उनीहरुले राम्रो गुणस्तरीय शिक्षा, सामाजिक माया तथा स्नेह, सांस्कृतिक संरक्षण तथा आधुनिकरण भएको सामाजिक, सांस्कृतिक, शैक्षिक परिवेश पाएमा राष्ट्रले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक आक्रान्तता भोग्नुनपर्ने कुरामा विश्वस्त रहन सक्छौ । सरकारले बाल अधिकार प्रति न्यायिक दृष्टि लगाई बालबालिकाको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता जाहेर गर्नु अत्यन्त आवश्यक भइसकेको छ र समयमै संविधान निर्माण गरी बालबालिकाहरुको हकहित तथा मौलिक अधिकारका लागि सुनिश्चित गरियोस् । यो आम बालबालिकाको अनुरोध हो । अनिमात्र बालबालिकाहरुले बाल दिवसको अनुभूति गर्नेछन् ।

No comments:

Post a Comment