Friday, September 14, 2012

प्रजग कोरियाको स्थापना दिवसमा नेमकिपाको शुभकामना

 प्रजग कोरियाको स्थापना दिवसमा नेमकिपाको शुभकामना

 वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
     काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रजग कोरियाका मार्शल, कोरियाली मजदुर पार्टीका प्रथम सचिव, प्रजग कोरियाको राष्ट्रिय सुरक्षा आयोगका प्रथम अध्यक्ष र कोरियाली जनसेनाका सर्वोच्च सेनापति का. किम जोङ उनलाई प्रजग कोरिया स्थापनाको ६४ औं वार्षिक अवसरमा सोमबार बधाई सन्देश पठाउनुभयो ।
    सन्देशमा अध्यक्ष बिजुक्छेंले विश्व कम्युनिष्ट आन्दोलनका एक अगुवा र प्रजग कोरियाका राष्ट्रपति का. किम इल सङले सन् १९४८ सेप्टेम्बर ९ का दिन जापानी उपनिवेशवादमाथि विजय प्राप्त गरी प्रजग कोरिया स्थापना गर्नुभएको चर्चा गर्दै राष्ट्रपतिकै नेतृत्वमा अमेरिकी नेतृत्वमा रहेको साम्राज्यवादी शक्तिलाई कोरिया युद्धमा परास्त गरेको र कोरियाली शैलीको समाजवाद स्थापना गरी देशको सार्वभौमिकता र जनताको जीवन सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।
    अमेरिकी साम्राज्यवादले प्रजग कोरियालाई शत्रु ठानेर यसको सार्वभौमिकता र औपचारिक नामसमेत अस्वीकार गर्दै जनताद्वारा चयन गरिएको समाजवादी व्यवस्था समाप्त पार्ने नीति लिएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले प्रजग कोरियाविरुद्ध ६ दसकदेखि अमेरिकाले आर्थिक नाकाबन्दी थोप्रेकोमा विरोध गर्नुभयो ।
    कोरियाली प्रायअद्वीपको शान्तिको लागि अमेरिकाले शत्रुतापूर्ण नीति त्याग्नुपर्ने, दक्षिण कोरियामा तैनाथ विनाशकारी हातहतियार हटाउनुपर्ने र आर्थिक नाकाबन्दी फिर्ता लिनुपर्ने उल्लेख गर्दै प्रजग कोरियाले देशको सार्वभौमिकता रक्षाको लागि वार्ता भए वार्ता, युद्ध भए युद्धको नीति लिएकोप्रति समर्थन जनाउनुभयो ।
    अध्यक्ष बिजुक्छेंले का. किम जोङ उनको कार्यकालमा कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनःएकीकरणको कामना गर्दै नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीचको सम्बन्ध थप बलियो हुँदै जाने आशा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment