Sunday, December 16, 2012

भ्रष्टाचारमा अगाडि बढ्दै नेपाल

भ्रष्टाचारमा अगाडि बढ्दै नेपाल

– सुरज सिंह 

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
   जनताको अगाडि ‘नयाँ नेपाल निर्माण’ को नारा दिएर सरकारमा पुगेका र बसेका राजनीतिक दलहरूले देशलाई दुर्गतिको मार्गमा अग्रसर गराएको त नेपाली जनताले अनुभूत गरेकै हुन् । लोकतन्त्र र गणतन्त्रको नाममा शासन गर्ने तर नीति निर्माण तहमा जनप्रतिनिधिहरूलाई वर्जित गर्ने नीतिका कारण अपारदर्शिता, अनियमितता र भ्रष्टाचार बढेको जन धारणा आजको मात्र होइन । भ्रष्टाचारकै कारण अन्तर्राष्ट्रिय समुदायमा देशको बेइज्जत हुने कुरा नउठेको पनि होइन । सचेत जनताको खबरदारी र मागलाई वास्ता नगर्दा विश्वकै सामुन्ने फेरि पनि नेपालको इज्जत उतारिएको छ । भ्रष्टाचारसम्बन्धी नियमन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल १३९ स्थानमा पर्न गएको छ ।
    विश्वका १ सय ७६ राष्ट्रमा सर्वेक्षणको बुधबार सार्वजनिक गरिएको नतिजामा २७ अंकका साथ १३९ औं स्थानमा परेको बताइएको छ । सूचकाङ्कमा कम भ्रष्टाचार हुने मुलुकलाई शीर्ष राखिएको छ भने बढी भ्रष्टाचार हुने मुलुकलाई पछाडिबाट राखिएको छ । ट्रान्सपरेन्सीको सूचकाङ्क नै एउटै र अन्तिम मापदण्ड नहोला तर देशमा भ्रष्टाचार व्याप्त रहेको कुरा अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा परेको उजुरीको चाङ्ग, आयोगका वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदन र प्रधानमन्त्री मातहतको राष्ट्रिय सतर्कता केन्द्रले दिएका प्रतिवेदनहरूले स्वीकारेकै तथ्य हो ।
    राजनीतिक संक्रमणकालको बहानामा सरकारमा पुगेका दलहरूले दलीय भागबण्डामात्र गरेनन् नेतृत्व आफै भ्रष्टाचारमा डुबेर कर्मचारीतन्त्र, सुरक्षा निकाय र स्थानीय निकायमा भइरहेका भ्रष्टाचारमाथि आँखा चिम्लेर काम गरे । त्यसैकारण नेपाल विश्वकै बढी भ्रष्टाचार हुने मुलुकहरूमध्येमा पर्न गएको छ । स्थानीय र जनस्तरबाट भ्रष्टाचारविरुद्ध उजुरी दिँदा पनि वास्ता नगर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पदाधिकारी विहीन र निरुपाय बनाउने, हरेक अंगमा पदाधिकारी नियुक्ति गर्दा रकम लेनदेन गर्ने, आदि कार्यले भ्रष्टाचारको जड नै सरकारमा पुगेका नेताहरू भएको सावित हुन्छ ।
    वर्तमान पूँजीवादी सरकारमा पुगेका दलहरूले देशलाई अग्रगमनतर्फ त अलिकति पनि बढाउन सकेनन् तर भ्रष्टाचारको मार्गमा अगाडि बढाउनमा भने नेतृत्व गरेको फेरि पनि पुष्टि भएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete