Friday, January 4, 2013

अस्तित्वको खोजीमा योमरी माग्ने चलन

अस्तित्वको खोजीमा योमरी माग्ने चलन

— लक्ष्मी गारु

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
“त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु योमरी छग ति यः
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्ह्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
योमरी माकु उकि दुने चाकु
व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी”

    धान्य पूर्णिमा अर्थात् योमरी पूर्णिमाको साँझ नेवार समुदायको घरआँगनमा मिठासपूर्ण लोकलयमा उल्लेखित गीत गाएर योमरी माग्ने चलन अस्तित्वको खोजीमा रहेको छ ।
    पूर्णिमाको साँझ टोलटोलमा तिहारमा देउसीभैलो खेलेझैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ ।
    योमरी एक प्रकारको परम्परागत रोटी हो । सबैलाई मनपर्ने भएर नै यसको नाम योमरी अर्थात् मनपर्ने रोटी भएको हो ।
    चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, मास, मुगी राखी अंजिर अथवा त्रिकोण आकार गरी दुई किसिमबाट बनाई पानीको बाफमा पकाउने गरिन्छ ।
    योमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो हो । आजभोलि यो महत्वपूर्ण सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा अस्तित्व रक्षाका लागि संर्घषरत छ ।
    संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार मल्लकालदेखि नै योमरी माग्ने प्रचलन चल्दै आइरहेको हो ।
    उहाँले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकोले योमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने उल्लेख गर्नुभयो । योमरी माग्ने गीतमा उल्लेखित शब्द केलाउँदा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत दिने भन्दै उहाँले पछिल्लो समयमा प्रचारप्रसारको अभावमा योमरी माग्ने प्रचलन हराउँदै गएको बताउनुभयो ।
    ‘देउसीभैलोमा जस्तै दक्षिणाको रुपमा पैसा नपाउने भएकाले युवावर्गको योमरी माग्ने संस्कृतिप्रति रुचि नभएको देखिन्छ । लोकलाजकै कारणले पनि युवा वर्ग यस संस्कृतिबाट टाढिँदै गएको हुनसक्छ’ उहाँले भन्नुभयो ।
    यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको आंैल्याउँदै संस्कृतिविद् धौभडेलले यस्ता सांस्कृतिक महत्व बोकेका परम्परागत चाडपर्वहरूको उत्थानका लागि व्यापक प्रचारप्रसार गनुपर्ने बताउनुभयो ।
    योमरीलाई कुवेर र गणेशका प्रतीकको रुपमा लिइन्छ । पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाइने गरिन्छ । यसरी चढाएको योमरी चारदिनपछि मात्र प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ ।
    योमरीलाई धानका भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रही आएको छ ।
    योमरी पूर्णिमाको बारेमा ऐतिहासिक कथनअनुसार पाँचाल देशमा (हालको पनौती) सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको योमरी खुवाए ।
    उनको सत्कारदेखि प्रशन्न भई कुवेरले आफ्नो असली रुप देखाई योमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी योमरी चढाउने विधि बनाएर गए ।
    सोही अनुरुप सुचन्द्र दम्पतीले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र योमरी खाएका कारण शरीरसमेत हृस्तपुस्त हुन थाल्यो ।
    विस्तारै यो कुरा जताततै फैलिएपछि त्यस बेलादेखि नेवार समुदायमा योमरी पूर्णिमाको संस्कृति विकास भएको देखिन्छ ।
    धनसम्पत्ति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा योमरी पूर्णिमाका दिन सबैले योमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गर्दछ । तर दान गर्ने इच्छा भए तापनि योमरी माग्ने प्रचलन लोप हुँदै जाँदा योमरी दान गर्न नसक्ने अवस्था आएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete