Thursday, February 7, 2013

शिशुस्याहार के हो?

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

शिशुस्याहार के हो?

    शिशुस्याहार भनेको शिशुहरुको हेरविचार गरी स्याहार–सुसार गर्नुका साथै सन्तुलित पौष्टिक आहार खुवाई सरसफाइलाई ध्यानमा राखी दुर्घटनाबाट बचाएर सार्वाङ्गिण विकासको कार्य हो । बालबालिकाको इच्छा, भावना र आकांक्षाअनुसार जन्मेदेखि ५ वर्षसम्मको उमेरका शिशुहरुलाई म सिकिरहेको छैन, म खेलिरहेको छु भन्ने भावनाका साथै खेलाई–खेलाई स्याहार–सुसार गर्ने एक थलो वा पाठशाला हो, शिशुस्याहार तथा बालविकास केन्द्र ।
    मानवको विकास गर्भ अवस्थादेखि मृत्युसम्म नै क्रमशः अगाडि बढिरहने प्रकृया हो । तैपनि सबैभन्दा संवेदनशील, गतिशील र अटुटरुपमा चलिरहने प्रक्रिया जन्मेदेखि ५ वर्ष सम्मको हो । शिशुको पहिलो ५ वर्षको उमेरमा सबै पक्षहरुका विकास हुने गति तिव्र हुन्छ । अर्थात् जन्मे देखि ५ वर्षसम्मको शिशुको मस्तिष्क ९१ प्रतिशतले विकास भइसकेको हुन्छ । यस उमेरमा उसको सिक्ने गति अत्यन्त छिटो हुन्छ र जिज्ञासु हुन्छ । उसको इच्छा आकांक्षा भावना चाहना अनुभव जिज्ञासा उत्सुकता पूर्ति गरिदिने अवसर विभिन्न किसिमको खेलहरुद्वारा खेलाई–खेलाई दिनु पर्दछ । जसको कारण शिशुहरुको सार्वाङ्गिण विकास हुनमा सकारात्मक असर पर्दछ ।
    शिशु भनेको कुमालेले भाडा बनाउने मलिलो, रसिलो, नरम माटो जस्तो हुन्छ । ऊ जस्तो वातावरणमा हुर्कायो उस्तै बन्ने भएकोले राम्रो वातावरण आवश्यक छ । शिशुको इच्छा आकांक्षाअनुरुप विभिन्न क्रियाकलाप गर्ने अवसर पाएन भने उसले क्षमताअनुसार विकास हुन पाउँदैन । पछि क्रमशः उसको विकास गति बन्द हुँदै जान्छ । शिशु विकासका चार पक्षहरु मध्ये एक पक्ष मात्र विकास हुन सकेन भने त्यो अपाङ्ग भएको जस्तै हुन्छ । शारीरिक अपाङ्गपन आँखाले सजिलै देख्न, थाहा पाउन सकिन्छ । तर मानसिक तथा संवेगात्मक अपाङ्गगता थाहा पाउन र देख्न सकिँदैन । सामाजिक समायोजन हुन कठिन पर्दछ । जसको कारणले बल, बुद्धि नराम्रो काममा पनि प्रयोग हुन्छ । त्यस्तै बौद्धिक पक्ष कमजोर भएमा उसले जीवनमा न त कुनै प्रगति गर्न सक्छन् त समाजलाई कुनै ठूलो योगदान दिन सक्छ । त्यसकारण शिशुहरुको पूर्ण विकासको लागि शिशु अवस्थामा सन्तुलित र उपयुक्त प्रोत्साहनको आधारशिला हामीले तयार गरिदिनु पर्दछ । गाडी गुड्नको लागि चारैवटा पाङ्ग्राको आवश्यकता हुन्छ । कुनै एक पाङ्ग्रा मात्र भएन भने गाडी गुड्न सक्दैन भने जस्तै एक शिशु सम्पूर्ण मानिस बन्नका लागि पनि शारीरिक विकास, बौद्धिक विकास, सामाजिक विकास र संवेगात्मक विकास हुन अत्यन्त जुरुरी छ ।
शारीरिक विकास
    शारीरिक विकास भन्नाले शरीरको उमेरअनुसार सम्पूर्ण अङ्गहरुको पूर्ण रुपले विकास हुनु हो । जस्तै दुई वर्षको शिशुको टाउकोको गोलाइ ४८ से.मि. हुनु, उचाइ ८१ से.मी. हुनु, शरीरको तौल १२ किलो ग्राम हुनु, हिँड्न सक्नु र ११ वटासम्म शब्द बोल्न सक्नु, (जस्तै बस्छु, खान्छु, हिँड्छु इत्यादि) । केही शारीरिक समस्या लिएर जन्मेको हुन्छ भने कोही वातावरणबाट प्रोत्साहन पाउन नसकेर पछि परेको
हुन्छ ।
    यस कुरामा शिशुको विकास वंशानुक्रम र वातावरण दुवैले प्रभाव पारेको हुन्छ । तसर्थ शारीरिक बृद्धि र विकास दुवै सँगसँगै हुने गर्दछ । शारीरिक बृद्धि भनेको तौल, उचाइ, गोलाइबाट थाहा पाउन सकिन्छ भने शारीरिक विकास चाँहि शिशुको क्रियाकलाप बोली र गतिविधि अनुसार थाहा पाउन सकिन्छ । शारीरिक विकास बिना कुनै किसिमको विकास हुनुको अर्थ नै हुँदैन । त्यसैले सबैभन्दा महत्वपूर्ण शारीरिक विकास हुनुपर्दछ ।
बौद्धिक विकास
    बौद्धिक विकास भन्नाले शरीरका विभिन्न अंगहरु अर्थात् पाँच इन्द्रियहरुबाट सूचना दिएर सोच्ने, बुझ्ने, सुँघ्ने, स्वाद लिने, सचेत हुने, कल्पना गर्ने, फरक देखाउने, समूह छुट्याउने, बोल्न सक्ने सक्षमतालाई नै बौद्धिक विकास भन्दछ । शिशुहरुको मस्तिष्क पाँच वर्षसम्ममा ९१ प्रतिशत ले विकास हुने भएकाले अति होशियारका साथ देखाएर र बुझाएर सिकाउनु पर्दछ ।
सामाजिक विकास
    मानव जन्मजात सामाजिक प्राणी भएकोले समाजमा मिलेर जिउनको लागि चाहिने आवश्यक गुण, सिप र भावना हुनु आवश्यक छ । जस्तै शिशु एक अर्कासँग मिलेर समूहमा बस्नु, खेल्नु, माया गर्नु, दया गर्नु, ममताको भावना हुनु, एक अर्कालाई मद्दत गर्नु, पालैपालो गरी नियममा बस्नु, सरसामान ठीक ठाउँमा राख्नु, अरुको सामान नसोधी नलिने, सर–सफाइमा भाग लिनु र विभिन्न निर्देशनमा बसेर राम्रोसँग व्यवहार गर्नु नै सामाजिक विकास हो ।
संवेगात्मक विकास
    शिशुहरुको मनभित्र रहेका इच्छा, आकांक्षाहरु राम्रो नराम्रो भावनाहरुलाई विभिन्न किसिमबाट समय र वातावरण अनुसार प्रकट गरी देखाउनु नै संवेगात्मक विकास हुनु हो । जस्तै– माया, दया गर्नु, इसर्या गर्नु, रिस देखाउनु, खुशी भई हाँस्नु, रुनु, दुःखी हुनु, डर त्रास देखाउनु र निर्माण गर्नु, गीत गाउनु, चित्र कोर्नु, बुट्टा भर्नु, रङ्ग लगाउनु र सामाजिक व्यवहारको अनुकरण गरी खेल खेल्नु इत्यादि विभिन्न किसिमका क्रियाकलापहरुबाट मनको भाव प्रकट गर्नु हो ।
    यी माथिका सम्पूर्ण पक्षहरुमा चिन्तन, मनन गर्दै भविष्यमा देशको एक सभ्य, दक्ष, सक्षम कर्णधार नागरिक बन्न सकोस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुको पहलमा २०५६ सालदेखि शिशुस्याहार केन्द्रहरु सञ्चालन भएको हो । स्थापना कालमा मासिक शुल्क रु. १५१ देखि हाल रु. ५ सयमा वडा नं. २, ५, ६, ७, १४ र १७ गरी छ वटा शिशु स्याहार तथा बालविकास केन्द्रहरु सञ्चालन गर्दै आएको छ । यी केन्द्रमा वर्षमा अढाइ सय शिशुहरुले सेवा पाइरहेका छन् । — रामप्यारी शिल्पकार, शिक्षिका

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete