Thursday, February 21, 2013

टोखामा छैठौं जनसाहित्य सम्मेलन

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

टोखामा छैठौं जनसाहित्य सम्मेलन

     काठमाडौं । छैठौं जन साहित्य सम्मेलन सोमबार टोखामा  सम्पन्न भएको छ ।
    कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले जन साहित्य सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै ठूला दलले विदेशीको दबाब अगाडि झुकेर प्रधानन्यायाधीशलाई कार्यपालिकाको प्रमुख बनाउने सहमति गरेको बताउनुभयो ।
    उहाँले न्यायपालिका र कार्यपालिकाका प्रमुख एउटै बनाउनु निरंकुशता निम्त्याउने कदम भएको बताउँदै त्यसले न्यायिक प्रक्रियालाई समेत बिथोल्ने बताउनुभयो । विदेशीहरूले आफ्नो हित हेर्नु र अनेक किसिमको चलखेल गर्नु  स्वाभाविक भएको बताउँदै उहाँले देशको हित देशवासीले नै हेर्नुपर्छ भन्नुभयो ।
    उहाँले नयाँ पुस्तालाई देशभक्ति र समाजवादी विचारले प्रशिक्षित पार्दै जानुपर्नेमा जोड दिँदै नयाँ पुस्ता सचेत, संगठित र सक्रिय नभए समाजवाद स्थापना सपनामात्र हुने प्रस्ट पार्नुभयो ।
    नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव भारतीय निर्देशनअनुसार भएको बताउनुभयो । प्रधानमन्त्री र प्रधानन्यायाधिश एकै व्यक्ति हुँदा शक्ति सन्तुलन नहुने उहाँले बताउनुभयो ।
    उहाँले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा समस्या समाधान हुनुभन्दा यसले झन् कानुनी जटिलता ल्याउनेछ भननुभयो ।
    साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन टोखाका ज्येष्ठ नागरिक तुल्सीनारायण श्रेष्ठले गर्नुभएको थियो ।
    सम्मेलनमा वरिष्ठ पत्रकार भेैरव रिसाल, प्राध्यापक एवं बामपन्थी बुद्धिजीवी माणिकलाल श्रेष्ठ, नेमकिपा केन्द्रीय सदस्य सनकमान महर्जन, नेमकिपा काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जन, साहित्यकार इन्दिरा प्रसाईं, साहित्यकार एवं शिक्षक प्रभात सापकोटा, ने.क्रा.शिक्षक संघ केन्द्रीय उपाध्यक्ष पूर्ण धिताल नेक्रायुसंघ केन्द्रीय अध्यक्ष उकेश कवां, नेक्रामहिला संघका केन्द्रीय सचिव लीला न्याइच्याईंले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै निरन्तरताको कामना गर्नुभयो ।
    सम्मेलनमा जन साहित्य समाजको स्मारिका लोकार्पण तथा ‘टोखाको संस्कृति र चाडपर्व’ नामक पुस्तक विमोचन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिबाट भएको थियो ।
    सो साहित्य सम्मेलनमा कबितातर्पm दुर्गा लवत (यहाँ फेरि बुद्ध जन्मनु पर्छ) प्रथम, अभिनाश डंगोल (लोडसेडिङ्ग भएको भै) द्वितीय, अनिता डंगाल (क्यानभासमा कोरिएका आकृति) तृतीय भएका थिए ।
    त्यसैगरी निबन्धतर्फ कसुरी दयाल (नारी हिँसा हिजो आज र भोलि) प्रथम, सुनिता डंगोल (आमा) द्वितीय र अनिश डंगोल (देशको आँसु) तृतीय भएका छन् भने कथातर्फ सीता घिमिरेको ‘पृथ्वीमा तीन खण्ड पानी छ रे’ उत्कृष्ट हुन सफल भएको थियो ।
    विजयी सहभागीहरुलाई र खेलकुद प्रतियोगिता विजयी भएकालाई प्रमुख अतिथि नारायणमान बिजुक्छेंले पुरस्कार वितरण गर्नुभएको थियो ।

No comments:

Post a Comment