Friday, March 1, 2013

गाईको दूध बजारमा

वर्ष ९, अंक ४६ (२०६९ फागुन १८ गते शुक्रबार प्रकाशित)

गाईको दूध बजारमा

    दुग्ध विकास संस्थानले फागुन १६ गते बुधबारबाट शुद्ध गाईको दूध काठमाडौं बजारमा ल्याएको छ ।
    गाईको दूधको उपभोगको लागि र धार्मिक प्रयोजनमा समेत प्रयोग गर्ने हेतुले माग धेरै भएकोले बजारमा ल्याएको कृषि विकास मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले बुधबार दुग्ध विकास प्रशोधन केन्द्र बालाजुमा आयोजित पत्रकार भेटघाटमा बताउनु भएको हो ।
    कार्यक्रममा दुग्ध विकास संस्थानका महानिर्देशक शियाराम सिँहले पनि गाईको शुद्ध दूधको माग बढेकोले अलग्गै प्रशोधन केन्द्र र अलग्गै ढुवानीको व्यवस्था गरेको जनाउनु भयो । ५०० मि.लि.को प्याकेटमा उपलब्ध हुने सो दूधको मूल्य प्रति प्याकेट रु.३०।– कायम गरेको छ ।
    चिल्लो (फ्यायट ३.५%) रहने सो दूधको बजारिकरणले गाई पालन साथै गाईको बाच्छा उत्पादनमा बृद्धि गराउन किसानलाई थप प्रोत्साहन मिल्ने संस्थानले विश्वास लिएको छ ।
    साथै संस्थाले यही चैत्र महिनाबाट मही (वटर मिल्क) उत्पादन गरी नेपालगन्ज, धनगढी साथै पूर्व तराई ज्यादा गर्मी क्षेत्रमा बिक्री वितरण गर्ने योजना रहेको छ । आधा लिटरको रु.१५।– मूल्य कायम रहने पनि जनाएको छ ।
    सोमबार सूचना तथा संचार मन्त्रालयमा भएको प्रवक्ता–पत्रकार भेटघाटमा पनि कृषि विकास मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले दुग्ध संस्थानको गाईको दूध र मही बजारमा ल्याइने कुराको सार्वजनिक गर्नुभएको थियो ।

No comments:

Post a Comment