Friday, May 24, 2013

नेमकिपा काठमाडौंको कार्यकर्ता भेला

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

नेमकिपा काठमाडौंको कार्यकर्ता भेला

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले राजनैतिक कार्यकर्ताहरूमा वैचारिक स्पष्टता नभएमा पार्टी विकासमा बाधा पुग्ने बताउनुभयो ।
    नेपाल मजदुर किसान पार्टी, काठमाडौं जिल्ला समितिद्वारा शनिबार आयोजित ‘देशको समसामयिक राजनैतिक स्थिति’ विषयमा पार्टी कार्यकर्ताहरूको भेलामा बोल्दै सचिव प्रजापतिले नेपालको वर्तमान राजनैतिक अन्योलको कारण चार शासक दलहरू भएको बताउनुभयो ।
    संवैधानिक नियुक्तिहरूमा चार शासक दलहरूले भागवण्डा गरेकोमा विरोध गर्दै उहाँले सरकार चार शासक दलको निर्देशनमा मात्रै चले निर्वाचन गर्न गा¥हो हुने बताउनुभयो । एक प्रतिशत मत नल्याएको पार्टीलाई संविधानसभामा प्रतिनिधित्व गराउन नचाहनेहरूलाई नयाँ बिचारदेखि डराएकाको संज्ञा दिँदै उहाँले भन्नुभयो– पुरानो विचारलाई नयाँ विचारले विस्थापित गर्छ ।
    समाजवादी विचारले पूँजीवादी विचारलाई विस्थापित गर्ने अवश्यम्भावी भएको हुँदा पूँजीवादीहरू ‘थ्रेस होल्ड’ को प्रावधान राखेर नयाँ विचारलाई निषेध गर्न खोज्दैछन् ।
    जनप्रतिनिधिविहीन अवस्थामा देश कमजोर हुने उल्लेख गर्दै उहाँले केन्द्रदेखि स्थानीय निकायसम्म जनप्रतिनिधिविहीन बनाउनु भारतीय स्वार्थअनुकूल छ भन्नुभयो । भारत नेपाललाई जातजाति, भाषाभाषीको राज्यहरू बनाउन दिएर नेपाल कमजोर भएको चाहन्छ । प्रचण्डको पछिल्लो भारत भ्रमणमा ‘भाषाको आधारमा संघीयतामा जान सुझाव’ दिनुको मुख्य उद्देश्य यही हो – उहाँले भन्नुभयो ।
    पार्टी काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा सम्पन्न  कार्यक्रममा उपाध्यक्ष नरमान महर्जन, सचिव राजवीर डंगोल र सदस्य गीता महर्जनले पनि समसामयिक राजनीतिबारे बोल्नुभएको थियो ।

No comments:

Post a Comment