Friday, June 7, 2013

'राजनैतिक कार्यकर्ताहरु इमानदार हुनुपर्दछ'

वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)

'राजनैतिक कार्यकर्ताहरु इमानदार हुनुपर्दछ'

    देश र जनताको सेवामा लाग्ने राजनैतिक कार्यकर्ताहरु हरेक विषयमा ज्ञाता हुनुपर्दछ । देश र जनताको सेवामा इमानदार र नैतिकवान हुनु पर्दछ । उक्त भनाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काठमाडौं जिल्ला समितिको आयोजनामा काठमाडौंको बालाजु बाइसाधारा पार्कमा भएको वनभोज तथा प्रशिक्षण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
    वहाँले एमए, पिएचडी पढेका बुद्धिजीविहरु एक विषयको मात्र ज्ञाता हुनेभएकोले राजनैतिक रुपमा अगाडि आउन नसकेको बताउनुभयो । साथै राजनीतिमा वेइमानको हावीले गर्दा देश झन झन अन्यौलमा फसिरहेको बताउनुभयो । वहाँले राजनैतिक कार्यकर्ताहरु हिनताबोध र कमजोरीबाट मुक्त हुनुपर्ने बताउनुभयो । कार्यकर्ताहरुले जाँड–रक्सी जस्ता अम्लिए पदार्थबाट टाढा रहनुपर्ने बताउँदै जनताबीच संगठन बिस्तारमा आफ्नो ध्यान केन्द्रित बनाउनु पर्दछ भन्नुभयो ।
    वर्तमान राजनैतिक अवस्था बिग्रनुमा चार शासक दलहरुको अदुरदर्शीता र अकर्मन्यता हो भन्नु हुँदै विदेशको इसारामा देश चलाउनु राष्ट्रको लागि हित नहुने भन्नुभयो । नेमकिपा वर्तमान राजनैतिक अवस्थामा संविधानसभाको चुनाव भन्दा पनि संसदीय र स्थानीय निकायको निर्वाचन गरी राजनैतिक संकटको समाधान गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
    कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका कोषाध्यक्ष शोभा प्रधान बिजुक्छेंले महिलाहरु राजनैतिक रुपले सचेत हुनुपर्ने बताउनुभयो । वहाँले पुरुषसरह महिलाहरुको पनि हरेक क्षेत्रमा ठूलो योगदान रहेको स्मरण गराउँदै ०४५ साल भाद्र ९ भक्तपुर काण्डको घटनाको अनुभव सुनाउनुभयो । महिलाहरु पनि अनुशासित र संगठित हुँदै अगाडि बढ्नु पर्नेमा वहाँले जोड दिनुभयो ।
    त्यस्तै नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष उकेश कवांले वैदेशिक हस्तक्षेप विरुद्ध जनचेतना अभियानलाई गाउँगाउँ र जिल्ला–जिल्लामा पु¥याउनुपर्ने बताउनुभयो । वहाँले १९५० को असमान सन्धी, कोशी–गण्डकी सम्झौता, ४६ र ६३ सालपछि नेपालको भूमि एक÷एक गर्दै भारतले अतिक्रमण गरेकोमा विरोध जनाउनु भयो । वैदेशिक हस्तक्षेप विरुद्ध सत्तासिन दलहरु बोल्न नसक्नु नेपालको स्वाधिनतामाथि खतरा रहेको बताउनुभयो ।
    त्यसैक्रममा काठमाडौं जिल्लाका उपाध्यक्ष नरमान महर्जनले जातिय राज्यले देशलाई बिखण्डन र द्वन्द्व निम्त्याउने भएकोले नेवारहरुले पनि जातीय राज्यको पनि विरोध गर्नुपर्ने बताउनुभयो । सोही क्रममा जिल्ला सचिव राजवीर डंगोलले वनभोज तथा प्रशिक्षण कार्यक्रमको औचित्यबारे बोल्नुभएको थियो ।
     जिल्ला पार्टी अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रतिभा श्रेष्ठ र विशोक डंगोल र स्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले पार्टीलाई निरन्तर भौतिक, आर्थिक सहयोग गर्नुभएका कार्यकर्ताहरुलाई कदर पत्रबाट सम्मान गर्नुभएको थियो ।

No comments:

Post a Comment