Wednesday, October 16, 2013

नक्कलीहरुको मुकुण्डो खुल्दै

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

नक्कलीहरुको मुकुण्डो खुल्दै

    आजभोलि देशमा संविधानसभा निर्वाचनको चर्चा चलिरहेको छ । निर्वाचन तोकिएको समयमा हुने वा नहुने भन्ने विषय भने अझै गर्भमा रहेको कुरा राजनीतिक दलहरु विशेष गरी देश संचालनको ‘ठेकेदार’ ठान्ने ‘ठूला’ भनिने दलहरुको ढटुवा परनिर्भर र दुई जिब्रे प्रवृतिले प्रष्ट पार्दछ । तर नेताहरु भने विभिन्न कार्यक्रमहरु मार्फत् निर्वाचन गर्ने कुरालाई बोलीमा जोडतोडले उठाउँछन् र आफूलाई त्यसको प्रमुख मसिहाको रुपमा चित्रण पनि गर्दछन् । नेपालका यस्ता ‘ठूला’ भनिएका दल र नेताहरुको विगतले जनमानसमा यिनीहरु प्रतिको धारणा बनिसकेको छ । नेपाली जनताले नेताका बोली र व्यवहारलाई सम्पूर्ण रुपबाट चिनिसकेका छन् । यस्तो अवस्थामा पनि नेताहरु विशेषतः ‘शीर्षस्थ’ का विशेषण धारीहरु आफू र आफ्नो कुकृत्य बाहेक अरुलाई चिन्न त के देख्ने सम्म पनि नैतिकता देखाउन सकिरहेका छैनन् । आफ्नो जालसाझी ढाक्न, इमानदारी र सरलपन देखाउन थप झुठ र पाखण्डको खेती गर्न तर्क दौडिरहेका छन् ।
    एक दशक लामो ‘जनयुद्ध’ गरेर देशको शासकको रुपमा समेत नाम दर्ता गरिसकेका एमाओवादी अध्यक्षले आफ्नो कार्यक्रम मार्फत् नेमकिपा र का.रोहितको बारेमा मिथ्या बाँडेको खबर आइरहेको छ । त्यो झुठ, पाखण्ड, आत्मसमर्पण, संशोधनवादी र अराजक चरित्रको प्रदर्शनको भन्नेमा दुई मत हुनसक्दैन । भक्तपुरमा मात्रै होइन नेपालको कम्यूनिष्ट आन्दोलनकै एक प्रकाशस्तम्भ नेमकिपाले हालसम्म त्यस्तो धृणाप्रद कार्यहरु गर्दै आएको छैन । पटकपटक सरकारको नेतृत्व गर्दै आएको, निर्वाचनका बेला र लडाईंका बेला जनतासामु अभिव्यक्त गरेका वाचाहरु पुरा नगर्ने, सैद्धान्तिक बाटो परिवर्तन गरी संशोधनवादी पतनको बाटो लिने, सामन्त पूँजीवादी दलालहरुसँग सम्झौता, समदारी र साँठगाँठ गर्ने, भ्रष्ट, अपराधी र नालायकहरुको भीडलाई सुरक्षा प्रदान गर्ने, नामले कम्यूनिष्ट भन्न चाहने, जातीय, क्षेत्रीय, सम्प्रदायिकताको नारा दिएर विखण्डनको खेती गर्नेहरुले आफ्नो आङ्गको भैंसी नदेख्ने भनेझैं अरुलाई संर्किण, पुरानो सोच भएका र परिवर्तन नचाहने भन्ने आरोप लगाउनु कुकृत्र्यहरु लुकाउने अर्को श्रृङखला बाहेक केही होइन । जनताको अभिमतबाट आएको सबैभन्दा ठूलो, जिम्मेबार भन्न चाहनेहरुको जनताको दैनिक जीवन व्यवहारमा के परिवर्तनको अनुभूति दिलाएका छन् भन्ने प्रश्नको कसीमा राखेर मूल्याङ्कन गर्नु नै न्यायोचित वस्तुवादी र सही हुन्छ । त्यसकारण जनताको मत लिएर जनता कै अगाडि दिएका वाचाहरु पुरा नगर्ने धोकेवाजहरुले अब अर्काको विचार र व्यवहारलाई संकिर्ण देख्ने होइन बरु उनीहरुबाट इमानदारीता, जनताको सेवा स्वाभिमान, निर्भिकताको पाठ सिक्नु जरुरी देखिन्छ । समग्र देशकै नेतृत्वको महान विल्ला भिडाउन मनपराउनेले किन जातीय, क्षेत्रीय र सम्प्रदायिकताको विजारोपण गर्दै हिँडेको ? यहाँ नेर यस्तो चरित्र संकिर्ण नभएर के हो ? थोत्त्रो, शोषणमा निर्लिप्त भ्रष्ट पूँजीवादी धार सही वैचारिक दिशा कि, शोषणरहित समाजवादी वैचारिक धार सही दिशा, जनताको निःस्वार्थ सेवा सही वा आश्वासन र भ्रमको खेती सही जस्ता प्रश्नहरुको कसीमा उभाएर अब जनताले नेताहरुको सक्कली अनुहारको मूल्याङ्कन गर्नैपर्ने बेला भएको छ । ‘स्याल देखाएर चल्ला खाने’ ढाड जस्तै गर्नेहरु देश र जनताको सेवा होइन धोका बाहेक अरु केही दिन सक्दैन ।
    गरिव, मजदुर, किसान, विपन्न, भोका, नाङ्गा जनताको पक्षमा वास्तविक परिवर्तनको महसुस गराउनु त कहाँको कहाँ भ्रष्ट, बेइमान, फटाहाहरुको संरक्षणमा जुटेकाहरुले अर्कालाई विकास विरोधी एकाधिकारवादी देख्नु कुनै अस्वभाविक घटना भने होइन । इतिहासबाटै गरेको गल्तीलाई ढाक्न र जनताका सेवकहरुलाई पाखा लगाउन खोज्नु तिनीहरुको मुख्य ध्येय त होला तर सत्य सत्य नै हुन्छ र यस्ता नक्कलीहरुको सक्कलीपन खुल्दै जानेछ । हामीलाई थाहा छ नेमकिपाका प्रतिनिधिहरु विजय भएका क्षेत्रहरु भएका विकास सम्बन्धी कार्यहरु होउन वा अन्य कुनै कार्यहरु नै होउन तिनले जनताको प्रत्यक्ष लाभको लागि उदाहरण बनेर देखाएका छन् । स्थानीय निकायलाई जनताको सेवाको माध्यमका रुपमा लिएर काम गरेको प्रशस्तै उदाहरणहरु छन् ।
    यस तथ्यलाई हेर्दा यो भन्नैपर्ने हुन्छ, यस्तो कुन स्थानीय छ जसले विद्यालय, कलेज मात्रै होइन विश्वविद्यालय संचालनको व्यवस्थित योजना दिएको छ ? राजनीतिक भागवण्डा जस्तो घृणित खेलमा नलागि, बन्द हड्ताल, अराजकता, आदिको प्रभावबाट टाढै रही राजनीतिक संस्कार सिकाउन सक्षम नेता र पार्टीलाई चिन्नु र चिन्नु जनताको वास्तविक विजय हो । तसर्थ पूर्वाग्रह, मिथ्या प्रचार तथा झुण्डहरुको पछाडि नलागि आलोचनात्मक दृष्टिले नेताहरुको विचार र विचारलाई केलाउँदै अभिनत दिनु सही बाटो हो ।
— वी आर, कीर्तिपुर

No comments:

Post a Comment