Friday, September 28, 2012

त्रिवि शुल्कवृद्धिको विरोधमा पन्ध्र बुँदे माग पेस

त्रिवि शुल्कवृद्धिको  विरोधमा पन्ध्र बुँदे माग पेस

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)   
            काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हालै स्नातक र स्नात्तकोतर तहमा गरिएको शुल्क वृद्धिको विरोधमा आन्दोलनरत ११ विद्यार्थी सङ्गठनहरूले त्रिविका उपकुलपति डा. हिरा महर्जनलाई १५ बुँदे मागसहित आइतबार ज्ञापनपत्र बुझाए । वृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न र बर्षेनी १२ प्रतिशतका दरले शुल्क वृद्धि गर्ने नियमावलीको खारेजी माग गरिएको हो ।
    त्रिविको लापरबाहीको कारणले हजारौं विद्यार्थीहरू पीडित छन् । त्रिविभित्र भइरहेको भद्रगोल अन्त गरी व्यवस्थित र वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाई कडाइका साथ लागू गर्न विद्यार्थी सङ्गठनका नेताहरूले त्रिविका पदाधिकारीहरूको ध्यानाकर्षण गराएका छन् ।
    त्रिविमा अध्ययनरत प्राध्यापकहरूद्वारा सञ्चालित निजी कलेजहरू र निजी कलेजमा अध्यापन गराउने परिपाटीको अन्त्य गराउन ज्ञापनपत्रमा माग गरिएको छ । त्रिविको पाठ्यपुस्तकलाई समयानुकूल परिमार्जन गर्न र विद्यार्थीहरूलाई सम्बन्धित क्याम्पसबाट ट्रान्सक्रिप्ट र प्रमाणपत्रको बन्दोबस्त गर्न र विगतमा त्रिवि र विद्यार्थी सङ्गठनहरूबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग गरिएको छ ।
    ज्ञापनपत्र बुझ्दै उपकुलपति महर्जनले असोज १४ गते आइतबार आन्दोलनरत विद्यार्थी सङ्गठनहरू र त्रिविबीच दुईपक्षीय वार्ता गर्ने बताउनु भयो।

असोज ५ को संयुक्त बैठक निर्णय

    पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा गरिएको अचाक्ली मूल्यवृद्धि र कालाबजारीविरूद्ध नेक्राविसंघलगायत एघार विद्यार्थी सङ्गठनले शुक्रबार आन्दोलनको घोषणा गरेको थियो ।
    निर्णयअनुसार महङ्गी, कालाबजारी र भ्रष्टाचारविरूद्ध आउँदो असोज १२ गते देशव्यापी विरोध प्रदर्शन हुनेछ । त्यसको प्रचार स्वरुप हिजो असोज ११ गते देशभरी कोणसभा र माइकिङ तथा महङ्गी विरूद्ध पर्चा वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

No comments:

Post a Comment