Friday, October 12, 2012

फर्पिङमा ठूलो धिमे प्रशिक्षण

फर्पिङमा ठूलो धिमे प्रशिक्षण

- उज्जल महर्जन

वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)

    काठमाडौंको दक्षिण भेगमा अवस्थित ऐतिहासिक एवं साँस्कृतिक नगर फर्पिङमा सँस्कृति संरक्षनार्थ परम्परागत ठूलो धिमे बाजा प्रशिक्षण सुरु भएको छ । दक्षिणकाली गाविस वडा नं. ४ फर्पिङस्थित टिपी टोलमा धिमे गुरु उज्जल महर्जनको प्रमुख प्रशिक्षणमा महिलाहरुको उल्लेख्य सहभागितासहित १२ जना महिला र १८ जना पुरुष गरी ३० जना प्रशिक्षार्थीहरुलाई ठूलो धिमे बाजा प्रशिक्षण कार्य भइरहेको छ ।
    साँस्कृतिक, ऐतिहासिक एवं धार्मिक नगर फर्पिङमा रहेको सातवटा टोलमध्ये ठूलो धिमे बाजा प्रशिक्षण गरेको यो पहिलोपल्ट हो । स्थानीय समाजसेवी एवं सँस्कृतिकर्मी भरत बलामीका अनुसार गाउँमा रकेका बुढापाकाहरु मात्र ठूलो धिमेको जानकार रहेको साथै बुढापाकाहरुले जानेको ठूलो धिमेको ज्ञान युवापुस्तामा हस्तान्तरण नगरेको तथा १०–१२ वर्षअघि सानो धिमे प्रशिक्षण गरेतापनि चलन चल्तीमा नआएका कारण पुरानो एवं ऐतिहासिक गाउँ भएर पनि धिमेको अभाव रहेको जानकारी दिए । हाल नेवारी परम्परागत दाफा, खिं र धाँ बाजा मात्र प्रचलन रहेको फर्पिङमा ठूलो धिमे बाजाले छुट्टै रौनक थप्ने जसले गर्दा गाउँका युवाहरु, बुढापाकाहरु र बच्चाहरुसमेत उत्साहित भएको भरत बलामीले बताए ।
    नेवार समुदायको प्रमुख बाजाको रुपमा रहेको ठूलो धिमे बाजा प्रशिक्षणका लागि उक्त क्षेत्रमा रोशनी महर्जनको अध्यक्षतामा टिपी त्वाः धिमे खलः को गठन गरिएको छ । नेवारहरुको बाहुल्यता रहेको फर्पिङमा ठूलो धिमे बाजाले जात्रा, पर्व, सँस्कृतिमा धनी बनाउने निश्चित छ भने लोप अवस्थामा रहेको ठूलो धिमे बाजा पुनः संचालनले सँस्कृति जगेर्णा हुने अध्यक्ष रोशनी महर्जनले बताए साथै धिमे बाजाले गाउँका युवापिढीहरुमा परम्परा, सँस्कृतिप्रति सकारात्मक सोचका साथै संस्कृति संरक्षणमा पनि राम्रो छाप छोड्ने अध्यक्षको धारणा छ ।
    त्यस्तै कोषाध्यक्ष यमुना महर्जनका अनुसार हाल प्रशिक्षणमा रहेको ठूलो धिमे बाजा परम्परागत रुपमा मात्र नभई नयाँ विचार एवं आधुनिक तरिकाले संचालन गरी आर्थिक अवस्था पनि मजबुट बनाउँदै संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै फर्पिङमा मात्र नभई अन्यत्र पनि प्रशिक्षण भईरहेका विभिन्न बाजाहरुलाई स्थानीय, सम्बन्धित निकाय र सरकारले संरक्षण दिनुपर्नेमा पनि कोषाध्यक्ष यमुना महर्जनले जोड दिए ।

No comments:

Post a Comment