Friday, October 5, 2012

'ख्वप विश्वविद्यालय सल्लाघारी भक्तपुरमा उपयुक्त'— नेपाल ट्रष्ट

'ख्वप विश्वविद्यालय सल्लाघारी भक्तपुरमा उपयुक्त'— नेपाल ट्रष्ट

वर्ष ९, अंक २७ (२०६९ असोज १९ गते शुक्रबार)
            नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा भाद्र मसान्त २०६९ सम्ममा जम्मा ६२४४ रोपनी जग्गा प्राप्त भइ संरक्षण रहेको छ । गणतन्त्र स्थापनापछि पूर्व राजाको नाममा रहेको जग्गा नेपाल ट्रष्टमा स्वामित्वमा ल्याउनेक्रम जारी छ ।
    ती ट्रष्टसँग रहेको जग्गा लिज र भाडामा दिइ आम्दानीमा पनि बृद्धि गरेका छन् । भाद्र मसान्तसम्म विभिन्न बैंकहरुमा १६ करोड ७९ लाख ७ हजार रुपैयाँ मौज्दात रहेको छ । सो कुराको जानकारी सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा सूचना विभागद्वारा आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा नेपाल ट्रष्टको कार्यालय दरवारमार्गका प्रवक्ता शरद राज विष्टले बताउनु भएको हो ।
    नेपाल ट्रष्टको कार्यालयले गोकर्ण, कमलादी, टेकु, कालिमाटी, काउखाली, कमलादी र सार्वजनिक खरिद तथा अनुगमन कार्यालय रेडक्रसमार्ग गरी ७ ठाउँबाट वार्षिक ३ करोड ४२ लाख ११ हजार आम्दानी गरेको पनि सो कार्यक्रममा वहाँले बताउनुभयो । त्यसैगरी ९ वटा सम्पतिहरु बालाजु, कमलादी, नुवाकोट थान्सिङ्ग बगैचा, पोखरास्थित रत्नमन्दिर बाहेक अन्य जग्गाहरु पोखरास्थित रत्न मन्दिर परिसर, ताहाचल, हेटौंडा, भक्तपुर सल्लाघारी र ताहाचल सोल्टी मोडको सम्पतिमा के गर्न मिल्छ भनी अध्ययन काम सम्पन्न भैसकेको पनि जानकारी दिनुभयो ।
    अध्ययनबाट कुन सम्पत्ति के प्रयोग गर्ने ट्रष्टको योजना रहेको भन्ने जिज्ञासामा प्राय कमर्सियल र मनोरञ्जन पार्क निर्माण गर्न जवाफ दिनुभयो । भक्तपुर सल्लाघारीमा ख्वप विश्वविद्यालय पनि उपयुक्त छ । त्यसको लागि गृहकार्य भैरहेको र ख्वप कलेज स्थापना गर्नेहरुको सुझाव आइरहेको बताउँदै बोर्डमा पारित नभएसम्म पुरानो निर्णय अनुसार मनोरञ्जन, गार्डेन पार्क बन्ने छ, भक्तपुर सल्लाघारीमा ख्वप विश्वविद्यालयको लागि के भइरहेको छ भन्ने प्रश्नमा उहाँको जवाफ थियो ।

ख्वप विश्वविद्यालय शिक्षा क्षेत्रकै नमूना हुने

    स्थानीय सरकार भक्तपुर नगरपालिकाले भक्तपुर नगरमा ५ वटा कलेज स्थापना गरी सस्तो र सुलभ शिक्षा दिइरहेका छन् । भक्तपुरको ५ वटा कलेजमा अहिले ७३ जिल्लाका हजारौं जनाले सस्तोमा शिक्षा पाइरहेका
छन् ।
    नेपालकै पहिलो स्थानीय सरकार भक्तपुर नपाले शैक्षिक क्षेत्रमा भक्तपुर नमूना बन्ने सफल भएजस्तै ख्वप विश्वविद्यालय सल्लाघारीमा निर्माण गरी शैक्षिक क्षेत्रको गन्तव्यको रुपमा विकास गर्ने सोच रहेको भक्तपुर नपाका जननिर्वाचित प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष प्रेम सुवालले सहिदलाई बताउनु भयो ।
    विश्वविद्यालयको लागि तत्कालीन संसदीय समितिले निरीक्षण गरिसकेको छ भने विश्वविद्यालय अनुदान आयोगबाट कार्यदल बनाई प्रतिवेदन समेत बुझाइसकेको अवस्थामा छिटो भन्दा छिटो प्रतिवेदन अध्ययन गरी ख्वप विश्वविद्यालय स्थापनामा सरकारले निर्णय गर्नुपर्ने भक्तपुरबासीको आवाज रहेको छ ।

No comments:

Post a Comment