दशैं उत्सव र नवदुर्गा पीठ
- बेनी जङ्गम
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)राष्ट्रिय संस्कृतिको विकासमा टेवा पुर्याउँदै आएका अनेकौं पर्वहरुमध्ये विजया दशमी पर्व नेपालीमात्रको प्रमुख पर्व हो । विशेष गरेर यो आश्विन महिना शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्म मानिने पर्व र उत्सव हो । यो नौ दिन मनाइन्छ त्यसकारण यसलाई नवरात्र वा नौरथा पनि भनिन्छ । नौ दिनसम्म व्रत पूजा गर्न प्रातः कालमा उठेर विहानीको शुरुवातसँगै नवदुर्गा पीठ स्थलमा दर्शनार्थीहरु मलाश्री भजन, गीत गाउँदै बाजा बजाउँदै पीठपीठमा भएका नदी, घाट एवं कुण्डकुण्डमा स्नान गरेर फर्कन्छन् । घटस्थापनाका दिन पूजा कोठामा कलश स्थापना गरेर भगवतीको आह्वान गरी जमरा रोपिसकेपछि अष्टमीको दिनदेखि दुर्गा भवानीको विधिपूर्वक पूजा गरिन्छ । नवौं दिनमा नवरात्रीको पूर्णहुति दिइन्छ । शक्ति सम्प्रदायमा नवदुर्गाका मुख्य नौ रुपको उपासना गरिन्छ ती हुन् – १) ब्रम्हायणी २) माहेश्वरी ३) कुमारी ४) वैष्णवी ५) बाराही ६) इन्द्रायणी ७) महाकाली ८) महालक्ष्मी ९) त्रिपुरसुन्दरी हुन् । त्यस्तै शक्ति सम्दायमै प्रचलित नवदुर्गाको अन्य नौ रुपहरुमध्ये १( महाकाली २) महालक्ष्मी ३) महासरस्वती ४) योगमाया ५) रक्तदन्तकाली ६) शाकंभरी ७) दुर्गा ८) भ्रामरी ९) चण्डिका हुन् । दुर्गा, भवानी, अम्बिका, अण्डि, आदि नाम रुपले पनि तिनी महाभारत पुराणकालदेखि नै पुजिँदै आएको पाइन्छ । देवी महात्म्यको देवी कवचअनुसारका नवदुर्गा १) शैलपुत्री २) ब्रम्हचारिणी ३) चन्द्रघण्टा ४) कुष्माण्डा ५) स्कन्दमाता ६) काव्यायनी ७) कालरात्री ८) महागौरी ९) सिद्धियात्री उल्लिखित रहेको पाइन्छ । अपराजित पृच्छामा सबै नौ स्वरुपहरुलाई सिंहवाहिनी एवं चुर्तुभुजाको रुपमा वर्णन गरिएको छ । १) महालक्ष्मी २) नन्दी ३) क्षेमकरी ४) शिवदूती ५) महाचन्दा ६) भ्रमरी ७) सर्वमँला ८) रेवती ९) हरसिद्धि, आदि ग्रन्थहरुमा वर्णित नवदुर्गाको नाम यस प्रकार छन् – १) महालक्ष्मी २) क्षेमकरी ३) हरसिद्धि ४) रुद्रांशा ५) वनदुर्गा ६) वनदुर्गा ७) जयदुर्गा ८) विन्ध्यवासी ९) रिपुमारिणी दुर्गा । नवदुर्गालाई नवचनायिका रुपमा पनि नवरात्र पर्वमा पूजा अर्चना गर्ने चलन छ । नवचक्रनायिका – १) त्रिपुरा २) त्रिपुरेशी ३) त्रिपुरसुन्दरी ४) त्रिपुरवासिनी ५) त्रिपुराश्री ६) त्रिपुरामालिनी ७) त्रिपुरासिद्धा ८) त्रिपुराम्ना ९) महात्रिपुर भैरवी । त्यस्तै नवदुर्गा सदृशमा नवगौरी – १) मुखनिर्मालिका २) जेष्ठा ३) शौभाग्य ४) श्रृंगार ५) विशालाक्षी ६) ललिता ७) भवानी ८) मँला ९) महालक्ष्मी, आदिको उल्लेख पाइन्छ ।
विजया दशमी एवं लंकामा रामले रावणमाथि विजयपश्चात् गरिएको पर्वमा हुनाले यसलाई विजया दशमी भनिएको हो भनिन्छ । शक्तिरुपीणी देवी माताको पूजा रामको विजयोत्सव आदि यस्ता विषय हुन् जसको कारणले नौरथा र दशमी, दशैं हृदयग्राही हुनपुग्छ ।
यस सन्दर्भमा भक्तपुरको लोकजीवनमा अंशुवर्माद्वारा प्रतिष्ठापित नवदुर्गा गणलाई आनन्ददेव (वि.सं. १२०४–१२२४) द्वारा नवदुर्गा पीठको प्रतिष्ठापित जीवित देवताको रुपमा र संगीत, वाद्य एवं नृत्यसँग सम्बद्ध देवताको रुपमा सम्झिनुपर्ने हुन्छ । मानव शरीरमा देवताले वास गरेको हुन्छ भन्ने मानयता प्राचीनकालमै प्रचलित भइसकेको बुझिन्छ । यसको उदाहरण जीवित देवी कुमारी, गणेश, भैरव, आदि हुन् भने आत्मनिरीक्षण वा आत्मोन्नतितर्फ समाज प्रेरित भएको बेलामा संगीत, वाद्य र नृत्यसँग सम्बद्ध नवदुर्गा भवानीको तान्त्रिक नृत्य यस आधारमा दर्शनीय हुन आउँछ । त्रिपुरसुन्दरी जडित खिं, ताः एवं कायँ वाद्यकै तालमा नवदुर्गा गण नाच्ने, विनाबाजा निष्प्राण देखापर्ने हुँदा क्रियात्मक एवं प्रतीकात्मक दृष्टिले पनि विचारणीय नै मानिन्छ ।
नवरात्र, नौरथाभरि गाइने मालश्री गायनको सन्दर्भ परम्परा, संस्कृति र धर्मसँग र संगीतशास्त्र अनुसार सायकालमा गाइने रागिनी मालश्रीसँग पनि रहेकोले यस गीतको विशेष महत्व रहँदै आएको छ ।
शक्तिको सम्मिश्रणले धार्मिक आस्थालाई मूर्तरुप दिन मठ, मन्दिर, देवताको रुपाङ्कनमा भव्यता ल्याउन मद्दत गर्छ भने वैभवअनुसारको कला, संगीतकलाले विशिष्ट उदात्त प्रवृतिको विकास पनि हुन्छ । भव्यता र सौन्दर्य मानवमनलाई आकृष्ट गर्ने तत्व पनि हो । संगीतभित्र श्रुति, शक्ति, सृष्टिको सामूहिक रुप हुने हुनाले नेपाली संस्कृतिको यथार्थ चित्रण यस्ता पर्व र पर्वगीतहरुमा पाइन्छ । श्रुति तत्वबाट जन्मिने संगीतले निर्गुण ब्रम्ह पनि सगुनमा रुपान्तरित हुनपुग्छ । ब्रम्हको अद्वैत रुपको परिकल्पना ‘शब्दब्रम्ह’ र ‘‘परब्रम्ह’ दुई रुपबाट गर्न सकिन्छ । ‘शब्दब्रम्ह’ को सम्बन्ध स्वयम्भू र नदी स्वर ध्वनिसँग रहने र नादबाट वर्ण, वर्णबाट शब्द, शब्दबाट वाक्य र वाक्य र शब्दार्थबाट भाषाकृत संगीत निष्पन्न हुन्छ । त्यसकारण संगीतमा लय र वाद्यहरुको प्रमुख स्थान रहन्छ । यी संगीत तत्वहरु अतीतको संस्कृतिको देन हो । यसप्रकार पर्व संगीतले आदिकाल, अनादिकालदेखि मानिसको जीवनमा सार्वजनिक सांस्कारिक रुप धारण गर्दै स्वाभाविक क्रियाहरुसँगै पर्वधुन र संगीतमा परिणत हुँदै आइरहेका छन् । शक्तिको अभिन्न रुप दुर्गा भगवती सौम्यरुपा, दयामयी, कल्याणदायी र संहारकारिणी अग्ररुपाको उपासना गर्दा संगीतमा डुबेर पूजा बन्दनाले शुभफलदात्री बनाउन सकिन्छ ।
धार्मिक, ऐतिहासिक, सामाजिक दृष्टिले मात्र नभई समसामयिक र सांस्कृतिक दृष्टिकोणबाट पनि पर्व र संगीतको सम्बन्ध समाजमा माथिल्लो रहेको छ । धर्मको प्रेरणाले यहाँ संगीतको सृजना भएको छ । व्यक्ति र जातिमा जुन सम्बन्ध छ त्यही सम्बन्ध धर्म र संगीतमा उपलब्ध हुन्छ । यी दुवै अनन्य व्यतिरेक रुपमा सर्वत्र विद्यमान रहन्छ । यही धार्मिक पृष्ठभूमि र विश्वास गीत संगीत भजनहरुमा उपलब्ध हुन्छ । धर्मकै आधारमा पर्वको अवसर, संस्कार, व्रत, मंगलकामनाको भावना, सुक्ति र गीतहरुको जन्म भएको मान्नुपर्छ ।
बैद्धिक पुरातनकालदेखि चलेको दशैं पर्वमा गाइने गीत ‘मालश्री’ गीतको सांगीतिक परिचय र यसका नमुनाहरु प्रस्तुत छ ।
मालश्री गीत
मालश्री नवदुर्गा भवानीको महिमामा वर्णित स्तुति गीत हो । खास गरेर महिलाद्वारा पुरुषद्वारा छुट्टाछुट्टै अथवा सामूहिक पनि गाइएको पाइन्छ । बाजासहित वा रहित सामूहिक, ८ मात्राको लयमा गाइने मालश्री प्राचीन पर्वगीतको रुपमा देखिन्छ । मल्लकालीन नेपालमा मालश्री रागमा आधारित स्तुतीहरु रचना गरेको अभिलेखालयबाट प्राप्त गर्न सकिन्छ । मालश्रीतको प्राचीन रुपमा हिन्दी, फारसी र उर्दू मिश्रित प्रभाव रहेको देखिन्छ भने नेपाली समाजमा गन्धर्व जातिले घरघरमा गएर सारङ्गी रेटी मालश्री गाउने चलन पनि यद्यपि छँदैछ । तर नृत्यभित्र तालवाद्य र सूरवाद्यसहित रागमा आधारित गाइने मालश्री दशैंभरि नै सक्रियसँग गाउने र मालश्रीकै धुनहरु पनि बजाउने चलन बढ्दै गइरहेको छ ।
उपत्यकामा गाइने मालश्री गीतको प्रवृतिगत विशेषतामध्ये रागात्मकता हो । सांगीतिक भेदमा यसका सकारात्मक पक्ष भेटिन्छन् । यी गीत विविध ताल, विविध रुप र विविध भाषामा गाइएको देखिन्छ । यहाँ मालश्री गायनले लोकसंस्कृतिको पुरातन देनमा संगीतको मूल्य र मान्यतालाई अगाडि सारिएको छ भने व्यक्तिगत मात्र नभई राष्ट्रकै विचारमा परिष्कार ल्याई नैतिक मूल्य र मान्यताको स्थापना पनि गर्दै आएका छन् । यसले मङ्गल कामनाका साथसाथै पर्वगीत लोकधर्म र संस्कृतिको पृष्ठभूमिमा रहेर जीवन जगतलाई व्यापकता प्रदान गर्ने पनि रहेको छ ।
मालश्री पर्व गीतका विभिन्न नमुना
नेपाली भाषामा
जयदेवी भैरवी गोरखनाथदर्शन देऊ भवानी हे
प्रथम देवी उत्पन्न भइ हे
जन्म लिए कैलाश हे
आउ देवी पाउ छमछम
चौसठ्ठी योगिनी साथ हे
नेपालभाषामा
कालिका नागबालिका, छलपोल जगत धारा रेवैंचुसुपाचरा समाज सलिरस वसत जनिथ धुँ छेंगुली
मोल मुकुटस कवँन छेंलस मोति झलक तयाव रे
गलस नरछेल गजन वसक्वस हारतल भिड मोति रे
खड्ग खप्पर सुलिब दबुदबु घरलपु प्यकाल्हात रे
हिन्दी मिश्रित स्थानीय भाषामा
दिज्ये धनजन मान भगवतीसकन पनजसँग विराजित
अति मनोहर घाम रे
अति कोमल तुम, हृदय जननी
दुखित जन प्रतिपालिनी
अष्ट सिद्धिसहित देवी
देतो रण हितकारी ।
No comments:
Post a Comment