Friday, October 19, 2012

पाँचौं विश्व हात धुने दिवस मनाइयो

पाँचौं विश्व हात धुने दिवस मनाइयो

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    १५ अक्टोवर, विश्व हात धुने दिवसको दिन । आज भन्दा ५ वर्ष अधिदेखि थालिएको विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । त्यसै सन्दर्भमा कीर्तिपुरमा पनि जनचेतना मुलक र विद्यालयस्तरीय चित्रकला प्रतियोगिता समेत मनाइयो ।
    लुमन्तिको आयोजनामा कीर्तिपुर वडा नं. १ लाय्कुमा हात धुने दिवसको अवसरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।
    कीर्तिपुर क्षेत्रका १५ वटा विद्यालय सहभागी भएको सो प्रतियोगितामा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीमध्ये एन्जेल एकेडेमीका गौरव भण्डारी प्रथम, क्रियटिभ एकेडेमीका नितेन महर्जन द्वितीय र ल्याण्डमार्क एकेडेमीका रोसनी पन्थी तृतीय भएका छन् भने कक्षा ६ देखि ८ सम्मका मध्येबाट क्रियटिभ एकेडेमीका साजन बस्नेत प्रथम, मंगल उमाविका युवराज लामा द्वितीय र जनसेवा उमाविका युवराज कार्की तृतीय भएका छन् । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका लेखा अधिकृत सानुबाबु परियार, वडा सचिव महेश्वर कार्की र लुमन्तिका सुमिनाले प्रमाणपत्र र उपहार प्रदान गर्नुभएको थियो ।    कार्यक्रममा अतिथि परियारले हात धुन दिवसको अवसरमा चित्रकला प्रतियोगिता गरेर प्रतिभाको उजागरको साथै जनचेतना दिने कार्यको सराहना गर्नुभयो ।
    त्यसैगरी इन्द्रायणी स्कुलका मचाभाई महर्जन, लुमन्तिका मधुनानी महर्जन, जुना, सुमिना, महेश्वर कार्कीले पनि हात धुने दिवसको महत्वबारे बोल्नुभएको थियो ।
    लाय्कुमा कार्यक्रम गर्नुअधि चिलञ्चो सिंहद्वाबाट जनचेतना मुलक र्याली निकालिएको थियो । कार्यक्रम लुमन्तिका सुमिनाको सभापतित्वमा भएको थियो ।   
चिठू विहार स्वास्थ्य चौकीको आयोजनामा सोमबार चिठू विहार सामुदायिक भवनमा स्वास्थ्यसेविका र स्थानीय महिलाहरुलाई हात धुने तरिका सहित हात धुने दिवस मनाइयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय टेकुका प्रतिनिधि गीता आचार्यको आतिथ्यमा मानिसमा रोग लाग्नुको प्रमुख कारण मध्ये हात नधोई खानेकुरा पकाउँदा र खाँदा रोग सर्छ भन्नु हुँदै हात धुँदा ६ प्रकारले सावुन पानीले हात धुनुपर्दछ भनी शिक्षा दिनुभयो । सफा हात धोएर खाएमा ५० प्रतिशत रोग नलाग्ने पनि उहाँको भनाई थियो ।
    त्यसैगरी चिठू विहार स्वास्थ्य चौकीका इन्चार्ज लीलाराम थापाले हामीले अल्छी नगरीकन हात धुने बानी बसाल्नुपर्ने भन्दै रोग लाग्न नदिन सचेत हुनुपर्ने बताउनुभयो । वहाँले ‘सावुन र पानी हातमा साथसाथ’ लाई सार्थक बनाउन उपस्थित व्यक्तिलाई हात धुने तरिका समेत सिकाउनु भयो ।

No comments:

Post a Comment