Friday, November 23, 2012

राष्ट्रपति कार्यालय र केन्द्रीय पुस्तकालयमा सौर्य विद्युत जडान

राष्ट्रपति कार्यालय र केन्द्रीय पुस्तकालयमा सौर्य विद्युत जडान

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    राष्ट्रपति कार्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा विद्युतको अभाव हुन नदिन सौर्य विद्युत प्रणाली जडान गरिएको छ ।
    विद्युत भार कटौतीबाट आक्रान्त मुलुकका प्रमुख निकायहरुमा विद्युत ऊर्जाको अभाव हुन नदिने उद्देश्यका साथ सौर्य विद्युत प्रणाली जडान गरिएको वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले जनाएको छ ।
    केन्द्रले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा रु.८५ लाखको लगानीमा २४ किलोवाट क्षमताको सौर्य विद्युत जडान गरेको हो । जडित क्षमताबाट पुस्तकालयका लागि आवश्यक पर्ने ऊर्जा उपलब्ध हुने भएको छ ।
    यसैगरी, राष्ट्रपति कार्यालयमा समेत केन्द्रले सौर्य ऊर्जा प्रणाली जडान गरेको छ ।
    कुल रु. ५४ लाख लागतमा १४ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ ।
    केन्द्रका सहायक निर्देशक धितालका अनुसार सौर्य ऊर्जा जडान गरिएपछि राष्ट्रपति कार्यालयको सुरक्षा कक्ष र बगैंचामा उज्यालो भएको छ भने केन्द्रीय पुस्तकालयमा समेत सौर्य ऊर्जाबाट विद्युत आपूर्ति हुनेछ ।
    यसैगरी, केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि अध्ययन सम्पन्न गरिसकेको छ । केन्द्रका अनुसार प्रधानमन्त्री कार्यालयमा सौर्य ऊर्जा जडानका लागि रु. एक करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
    सहायक निर्देशक धितालले सौर्य ऊर्जा जडानको लागि आवश्यक अध्ययन पूरा गरी प्रतिवेदन पेस गरिसकेकोले केही दिनमै काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ७७ किलोवाट क्षमता आवश्यकता पर्ने अध्ययनबाट पत्ता लागेको छ ।
    बढ्दो विद्युतभार कटौती र चरम ऊर्जा सपूर्व सङ्कट व्यहोरिरहेको मुलुकलाई केही भएपनि सौर्य ऊर्जाले राहत प्रदान गर्नका लागि सहयोगी हुने विश्वास लिइएको छ ।
    सिंहदरवारभित्र एक मेगावाट सौर्य ऊर्जा प्रणालीबाट विद्युत आपूर्ति गर्ने तयारीसमेत केन्द्रले गरिरहेको छ । त्यसका लागि करिव रु. २० करोड लाग्ने अनुमान गरिएको छ ।
    सौर्य ऊर्जा प्रणालीबाट विद्युत उत्पादनका लागि विश्व बैंक, एसियाली विकास बैंक र कोरिया सरकारले आर्थिक सहयोग गर्ने बताएका छन् ।
    सिंहदरवारभित्र खपत हुने बिजुली अन्यत्र वितरण गर्दा लोडसेडिङ्ग कम हुने भएकोले सौर्य ऊर्जा प्रणालीबाट उत्पादित विद्युत आपूर्ति गर्दा सो विद्युत अन्यत्र प्रयोग गर्न सकिनेछ ।
    यसैगरी केन्द्रले अन्य ऐतिहासिक स्थल, मन्दिर तथा सार्वजनिक स्थलहरुमा समेत सौर्य ऊर्जा जडान गर्ने तयारी गरेको छ ।
    सार्वजनिक स्थलहरुमा प्रयोग हुने विद्युतमात्रै बचत गर्न सकियो भने सो विद्युत अन्य स्थानमा प्रयोग गर्दा मुलुकमा व्याप्त ऊर्जा संकटमा केही मात्रामा भएपनि राहत हुने विश्वास केन्द्रले लिएको छ ।

No comments:

Post a Comment