Saturday, January 12, 2013

बुद्ध धर्ममा शील

बुद्ध धर्ममा शील

 

पूर्णमान महर्जन

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    शील भनेको सदाचार हो । शील अनुशासन हो । शील नियम हो । शील समय हो । अर्को रुपमा कुशल कर्म/धर्मलाई धारण गर्नु यसको अर्थ हो । यसैगरी शील धर्मको जग हो, शील माथि चढ्ने भर्याङ्ग हो, शील कायको पवित्रता , वाणीको पवित्रता र मनको पवित्रता हो । पण्डितहरुले हिरि (पाप गर्नुमा लज्जा) र ओतप्प (पाप गर्नुमा डर)लाई यसको पदस्थान भनेका छन् । हिरि र ओतप्प भएकै कारणले शील उत्पन्न हुन्छ । पश्चाताप नगर्नु यसको गुण हो । अनाचार (दुःशील) को नाश गर्नु तथा निर्दोष गुणयुक्त हुनु शील हो । शरीरमा शीर (टाउको) भएन भने शरीरको अस्तित्व लोप हुने जस्तै विना शील गुणधर्मको सत्ता नै लोप हुन्छ ।
     शीलरुपी भर्याङ्गमा थुप्रै खुड्किलाहरु छन् । प्रथम खड्किलो यानि सच्च व्यक्तिले पालन गर्नुपर्ने शील पञ्चशील हो । पञ्चशील भन्नाले (१) प्राणी हिँसा नगर्ने, (२) चोरी नगर्ने, (३) व्यविचार (अनैतिक कार्य) नगर्ने, (४) असत्य नबोल्ने र (५) लागु पदार्थ सेवन नगर्ने हुन् । सामान्य शील भन्नाले यही बुझिन्छ । पाँचवटा शिक्षा भएको हुनाले यसलाई पञ्चशिक्षापद पनि भनिन्छ । चक्रवर्ती राजाहरुले शासन चलाउँदा यसैलाई आधार मानी कानुन बनाउने हुनाले चक्रवर्ती नियम पनि भनिन्छ । गृहस्थिहरुको लागि गौरवपूर्वक रक्षा गर्नुपर्ने धर्म भएकाले यसलाई गरुधर्म र गृहस्थशीलको रुपमा पनि लिइन्छ । यसैगरी अर्य सत्पुरुषहरुको धर्म भएकोले आर्यधर्म र आर्यकान्त÷अरियकन्त (आर्यहरुले मनपराउने) को रुपमा प्रचलित छ । नित्यरुपमा पालन गर्नुपर्ने हुनाले यसलाई नित्यशीलको रुपमा पनि लिइन्छ । अष्टशील, दशशील, (श्रामणेर शील), २२७ भिक्षु विनय, ३३१ भिक्षुणी विनय पनि शील हुन् ।
    पालन गर्नुपर्ने शीललाई चारित्र शील भनिन्छ । राम्रा कुराहरुलाई पालन गर्नुपर्दछ भने नराम्रो कुरालाई छोडनु पर्दछ । त्यसैले छोड्नु पर्ने शीलाई वारित्र शील भनिन्छ । दुःख मक्तिको मार्ग आर्य अष्टङ्गिक मार्ग हो । यसलाई शील, समाधि र प्रज्ञामा विभाजन गरिएको छ । शील अन्तर्गत सम्यक वचन, सम्यक कर्मान्त र सम्यक आजिविका पर्दछन् । वोधिसत्वले बुद्ध हुने क्रममा दशपारमिता पूर्ण  गर्नुभयो । दशपारमितामा एक शीलपारमिता हो । शीलपारमिता अन्तर्गत पर्दछन् :
१) शीलपारमिता अर्थात् आफ्नो सुःख सुविधा त्यागेर पनि शीललाई नविगारीकन पालन गर्ने, २) शीलउपपारमिता अर्थात् आफ्नो शरीरका अंग प्रतयंगहरु नाश भएपतापनि शीललाई नविगारीकन पालन गर्ने र ३) शीलपरमथ्तपारमिता अर्थात् आफ्नो प्राण नै गएपनि शीललाई नविगारीकन पालन गर्ने ।
    शरीरलाई शीर (टाउको) को जति महत्व हुन्छ, जीवनमा शीलको त्यति नै महत्व हुन्छ । बुद्ध धर्ममा शीललाई पहिलो खुड्किलो मानिन्छ । यसलाई पार नगरीकन अरु खुड्किलो चढ्ने कार्य प्रायः असम्भव छ । किनभने कुशल धर्मको आरम्भ शीलबाट हुन्छ । भगवान बुद्धको उपदेश “सब्ब पापस्स अकरण” अर्थात् नगर्नु सबै पापहरु शील धर्मको आरम्भ हो । शीलले कामसुखमा लिप्त हुने तृष्णा अन्त्य गर्दछ । शीलले क्लेसहरुको दमन र निरोध गर्दछ । खराब आचरण (दुःशील) लाई नाश गर्ने गर्दछ । त्यसैले भनिन्छ  “गंगा, जमुना, सरस्वती, अचिरवती (राप्ती), नारायणी र महानदीले जुन मललाई धोएर सफा गर्न सक्दैन, प्राणीहरुको त्यो मल यस शीलको जलद्वारा धोएर सफा हुन्छ ।”
    शील सबै सम्पत्तिको मूल हो किनभने शीलवानको लागि अल्पमात्र गरेको उपकारको महाफलदायक हुन्छ । मनुष्यलोक र देवलोकमा जुन सम्पदा छ, त्यो शीलवानको लागि दुर्लभ हुँदैन । शीलपालनामा अकुशल कर्म नुहने हुनाले पश्चाताप गर्न नपर्नु शीलको आनिसंस हो । शील स्रोतापन्न, सकृदागामी फल प्राप्तिको साधन हो । अर्थात् निर्वाण नगरको प्रवेशद्वार या स्वर्ग आरोहणको सिढी शील हो यसको सुगन्ध जस्तो दोस्रो कुनै सुगन्ध छैन । यसको आभूषणद्वारा विभुषित जति शोभायमान हुन्छ, त्यति सर्वश्रेष्ठ मोती मणिहरुद्वारा शोभित राजा हुन सक्दैनन् । शील पालनामा धेरै धेरै गुणहरु विद्यमान छन् । यसका मुख्य पाँच गुणहरु यस प्रकारका
छन् :–
१) शीलवान÷शीलयुक्त व्यक्ति प्रमाद या बेहोशमा नपर्ने हुनाले धनसम्पत्तिको कहिल्यै अभाव हुँदैन,
२) शील पालन गर्ने शीलवानको ख्याति, इमान्दारी पैmलिन्छ,
३) शीलपान गर्ने व्यक्ति जसको सभामा पनि निर्भिक निःसंकोच रुपले जान्छ,
४) शीलपालन गर्ने शीलवान बेहोश भएर मर्दैन र
५) शील पालन गर्ने व्यक्ति मृत्युपछि सुगतिमा उत्पन्न हुन्छ ।
    प्रा. म्याक्स मुलरले एक ठाउँमा उल्लेख गरेका छन् कि विश्वले अहिलेसम्म थाहा पाएका मध्ये बुद्धको नैतिक नियम सबैभन्दा उत्कृष्ट हो । यस प्रकारको उत्कृष्ट नैतिक नियमको पालनाको महत्व पनि उत्कृष्ट हुनु स्वभाविक हो । किनभने जाल–जंजालमय भवदुःखबाट मुक्त गराउने सद्बीज शील हो । शील पालनामा दृढ स्थविरले एकजना गृहस्थको पिठ्युँमा अरहत्व प्राप्त गरेको प्रसङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । महातिष्य स्थविर अकालको समयमा मार्गमा जाँदा भोजन मिलेन । यात्राको थकावटले शरीर दुर्वल भएर कुनै पाकेको आपँको रुखमुनि पल्टिनुभयो । स्थविर थाकेको थाहा पाएर एक वृद्ध गृहस्थले आँपको सर्वत पिलाएर आफ्नो पिठ्युँमा बोकेर आफू बस्ने स्थानमा लग्यो । पिठ्युँमा बोकाउँदै जानु भएको स्थविरले मनमनै विचार गरेर आफैले आफूलाई  “उ न तिम्रो पिता हो, न माता हो, न आफन्त हो, न भाइ हो, जसले त्यस्तो काम गरोस्, मात्र तिमी शीलवान भएको नाताले त्यो व्यक्तिले तिम्रो सेवा गर्दैछ” आदि उपदेश गरी विपश्यना ज्ञान बढाएर गृहस्थको पिठ्युँमा नै अरहत्व प्राप्त गर्नु भयो । त्यसैले शील पालनाको महत्व सन्दर्भमा बुद्धले भन्नुभएको छ –
“सीलेन सुगतिं यन्ति, सीलेन भोगसम्पदा ।
सीलेन निब्बुतिं यन्ति, तस्मा सीलं विसोधये ।।”
अर्थात् शील पालना गर्नेलाई सुगति प्राप्त हुन्छ, शीलले भोगसम्पत्ति दिन्छ, अझ शीलले निर्वाणसम्म पुर्याइदिन्छ । तसर्थ शीललाई परिशुद्ध रुपले पालन गर्नुपर्दछ । शीलको पहिचानबारे मिलिन्द राजाको प्रश्नको सम्बन्धमा भन्ते नागसेनको प्रत्युत्तर थियो  “धर्ती जस्तो शील मानिसहरुको आधार हो, कल्याण र समृद्धिको मूल जरो हो, सबै बुद्धहरुको शासन (धर्म) को मुख हो, मोक्ष (मुक्ति) को लागि उत्तम मार्ग हो ।” त्यसैले अनन्त दुःखको चक्रबाट पार हुन, अपरिमित सुखानन्दको अनुभव गर्न र निर्वाणको गन्तव्यमा पुग्न जसरी बट्टाई चराले आफ्नो अण्डालाई, चौरीले आफ्नो पुच्छरलाई, आमाले एक्लो प्रिय पुत्रलाई, कानाले आफ्नो एउटै आँखाको रक्षा गर्दछ, त्यसरी नै हामी सबैले शीललाई सर्वदा प्रेम र गौरव राख्नुपर्दछ ।

No comments:

Post a Comment