Friday, January 25, 2013

नेमकिपालाई शुभकामना

वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)

नेमकिपालाई शुभकामना

    नेपालमा समाजवाद र साम्यवाद दीर्घकालीन लक्ष्यलाई पुरा गर्ने अठोतका साथ वि.सं. २०३१ माघ १० गते नेमकिपाको स्थापना भएको हो । स्थापनाको ३९ वर्ष लागेको छ ।
    नेमकिपाको स्थापना तत्कालीन कम्युनिष्ट आन्दोलनलाई जकडिरहेको खोटा विचारहरुको विरोधमा भएको थियो । तत्कालीन तथाकथित कम्युनिष्ट नेतृत्वमा निर्वासनमा रहेर देशभित्र राजनीतिक गतिविधि गर्न नचाहने, क्रान्तिकारी किसान आन्दोलन उठाउन नरुचाउने, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको नस्वीकार्ने, कम्युनिष्ट पार्टी एक्लैले पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन गर्न सकिन्छ भनी विश्वास नै नगर्ने, कागजी कार्यक्रमका आधारमा देशमा आफसेआफ क्रान्ति हुन्छ भनी ठान्ने दक्षिणपन्थी अवसरवाद र चर्काचर्का नारा दिएर संगठनलाई नोक्सान पुर्याउने वामपन्थी अवसरवाद व्याप्त थियो ।
    देशभित्रै भूमिगत गतिविधिमार्फत् जनतालाई सचेत र संगठित पार्ने, नेपाली काँग्रेसपछि नलागी कम्युनिष्ट आन्दोललाई एक शक्तिका रुपमा अगाडि बढाउने, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखिएका संशोधनवाद र अवसरवादको विरोध गर्ने, देशका विभिन्न भागमा किसाना आन्दोलन उठाउनेजस्ता नेमकिपाका संस्थापकहरुको विचारसित तथाकथित नेतृत्व त्रसित थियो । तसर्थ नेपालको कम्युनिष्ट आन्दोलनलाई सही सिद्धान्त, विचार र प्रवृत्तितिर उन्मुख गराउन नेमकिपाको स्थापना अपरिहार्य भएको थियो ।
    नेमकिपा जन सैद्धान्तिक र वैचारिक आधारमा स्थापना भयो, ती सिद्धान्त र विचारलाई नेपाली जनतामाझ स्थापित र व्यवहारिक रुपमा रुपान्तरित गर्यो । नेमकिपाले जनमत संग्रहलाई उपयोग गरी त्यसलाई जनताको चेतनास्तर उठाउने र नाप्ने माध्यमका रुपमा उपयोग गर्यो । यसले ‘प्रतिक्रियावादी संघसंस्थाभित्र पसेर जनताको सेवा गर्ने’ लेनिनवादी नीति अनुसार निर्वाचनमार्फत् पञ्चायती व्यवस्थाभित्र पसेर पञ्चायतकै जरा काट्ने कार्य गर्यो । ०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापनापछि नेमकिपाले पूँजीवादी व्यवस्थाले बहुमत कामदार वर्गका जनताको हित गर्न नसक्ने भन्दै समाजवादी गणतन्त्रका निम्ति आन्दोलन उठाउनुपर्नेमा जोड दियो । कम्युनिष्ट पार्टीहरु पूँजीवादी सरकार जान संशोधवादी विचार भएको तर समाजमा तात्विक परिवर्तन ल्याउन नसकिने नेमकिपाको ठहर थियो । एमाले र एमाओवादीलगायत पूँजीवादी सरकारमा पुगेका ‘कम्युनिष्ट’ पार्टीहरुको स्थितिले नेमकिपाको ठहर सही प्रमाणित ग¥यो । नेमकिपा नेपालको कम्युनिष्ट आन्दोलनको प्रकाशस्तम्भ सिद्ध भइरहेको छ ।
    ०४६ सालको जनआन्दोलनको सफलता राज्यस्तरबाट षड्यन्त्रिक भक्तपुर काण्डले झन मलजल बनायो । नेमकिपालाई नष्ट गर्न खोज्नेहरु आफै नष्ट भए । २०६३ सालको जनआन्दोलन संसद पुनःस्थापनाको उपलब्धीबाट टुङ्गिने विचारलाई नेमकिपाले अगाडि सार्यो । अन्ततः त्यही विचार सही सावित भयो र देशमा गणतन्त्र ल्याउन सक्ने वातावरण बन्यो ।
    अहिले पनि देशमा राजनैतिक अन्योल कायमै छन् । पूँजीवादी गणतन्त्र र संघीय राज्यहरु नेपाली जनताको अन्तिम उपलब्धी होइन त्यसबाट नेपालीको हित गर्दैन भन्ने कुरामा नेमकिपा स्पष्ट छ ।
    अहिलेको राजनैतिक अन्योलको अन्त्य राष्ट्रपति शासनले मात्र हुन्छ राष्ट्रपति मार्फत् स्वतन्त्र र तटस्थ व्यक्तिको सरकार गठन गरी संसदीय निर्वाचन गराउनु नै उपयुक्त निकास हुने जुन विचार राखेको छ । त्यो पनि भविष्यमा सही सावित हुनेमा विश्वास गर्न सकिन्छ ।
    माक्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचार धारलाई नेपाली भूमिमा सही प्रयोग गरी दीर्घकालीन लक्ष्य समाजवाद प्राप्तिमा सफलता मिलोस् यही शुभकामना छ ।

No comments:

Post a Comment