Thursday, February 14, 2013

वर्कर्स कप भलिबलको उपाधी नेपाल पुलिसलाई

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

वर्कर्स कप भलिबलको उपाधी नेपाल पुलिसलाई

    भक्तपुर । नेपाल पुलिस क्लवले एपीएफलाई पराजित गदै वर्कर्स कप भलिबलको उपाधीमाथि आफ्नो कब्जा जमाएको छ ।
    खेलमा नेपाल पुलिस क्लवले पहिलो सेट सहजै आफ्नो पक्षमा पारे पनि दोस्रो सेट सहजै पराजित भएको थियो । दोस्रो सेट पराजित भएपछि निकै आक्रामक भएको नेपाल पुलिस क्लवले  तेस्रो सेट आफ्नो पक्षमा पारे भने चौंथो सेटमा फेरि पराजय भोग्नु परेको थियो । खेलको अन्तिम तथा निर्णायक सेटको सुरूवातमै नेपाल पुलिसले अग्रता लिएको थियो । खेलको अग्रता लिएपछि निकै आक्रामक देखिएका एपीएफका खेलाडीलाई खेल मैदानका हजारौं दर्शकको साथ पाएपछि खेलको दस अङ्कमा बराबरी गरेका थिए ।
    खेलको अन्तिम अवस्थामा अङ्क बराबर भएपछि अन्तिम समय नेपाल पुलिस क्लवका स्पाइकर ईम राना मगरको बललाई एपीएफका ब्लकर कैलास भट्ट, सुनिल श्रेष्ठले रोक्न नसकेपछि एपीएफले पराजय भोग्नु परेको थियो । फाइनल खेलमा नेपाल पुलिस क्लवले एपी एफलाई २५–१५, १५–२५, २१–२५ र २५–१४, १८–१६ मा पराजित गरेको थियो ।
    त्यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लवले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान ओगट्न सफल भएको थियो । खेलमा त्रिभुवन आर्मी क्लवले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–२१, २५–९ र २५–२१ मा पराजित गरेको थियो । यस खेलमा त्रिभुवन आर्मी क्लवका राजकुमार थापा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।
    प्रतियोगिताको उत्कृष्ट तथा लोकप्रिय नेपाल पुलिस क्लवका खेलाडी सञ्जय अर्याल भए भने उत्कृष्ट स्पाइकर नेपाल पुलिसकै कुलबहादुर थापा, उत्कृट ब्लकर एपीएफका दीपेन्द्र भट्ट, उत्कृष्ट सर्भर एपीएफकै कैलाशदत्त भट्ट, उत्कृष्ट सटर नेपाल पुलिसकै ईम रानामगर, उत्कृष्ट डिफेण्डर नेपाल पुलिसकै वीरेन्द्र चौधरी र उत्कृष्ट कोच नेपाल पुलिसकै सुदेश रिमाल भएका थिए । उत्कृष्ट खेलाडी, कोच, स्पाइकर, ब्लकर, सटर, सर्भर, डिफेण्डर, खेलाडी छनौट खेल अवधिभर प्रतियोगिताका सहसंयोजक एवं नेपाल भलिबल संघका पूर्वमहासचिव विनोदचरण रायको संयोजकत्वमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवासहित अन्य दुईजना सदस्य रहेका थिए ।
    प्रतियोगिता विजेता नेपाल पुलिस क्लवलाई नगद रू. ५० हजार र सोही मूल्य बराबरको ट्रफी, उपविजेता एपी एफलाई नगद रू. ३० हजार र सोही मूल्य बराबरको ट्रफी तथा तेस्रो स्थान प्राप्त गर्ने त्रिभुवन आर्मीलाई नगद रू. २० हजारसहित सोही मूल्य बराबरको ट्रफी र सान्त्वना स्थान प्राप्त गर्ने जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई नगद रू. १० हजारसहित विजेता, उपविजेता,  तेस्रो र चौंथो स्थान प्राप्त गर्नेलाई मेडल, प्रमाणपत्र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment