Thursday, February 14, 2013

सीटीईभीटीमा अख्तियारको छापा

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

सीटीईभीटीमा अख्तियारको छापा

    भक्तपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा छापा मारी निर्णय पुस्तिका र विभिन्न फाइल नियन्त्रणमा लिएको छ ।
    गत पुस ४ गते सीटीईभीटीको १२६ औं बैठकले शैक्षिक सत्र २०६९/७० बाट नै विद्यार्थी भर्ना गर्ने गरी पाँचवटा कलेजलाई १३ वटा विषयको सम्बन्धन दिँदा व्यापक आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिएको आरोप सार्वजनिक भएपछि आयोगले मङ्गलबार छापा मारी सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको थियो ।
    आयोगका उपसचिव लक्ष्मी निरौलाको नेतृत्वमा सुवास पण्डित, विभूती कोइरालासहितको आयोगको टोलीले सम्बन्धन दिएका पाँच कलेज र १३ वटा विषयको सम्पूर्ण फाइल र सीटीईभीटीको पुस ४ गतेको निर्णयसहितको निर्णयपुस्तिका कब्जामा लिएको निरौलाले जानकारी दिनुभयो ।
    सीटीईभीटीले शैक्षिक सत्र सुरू भएको तीन महिनापछि गत पुस ४ गते बसेको परिषद्को बैठकले मोरङ्ग विराटनगरको नोबेल मेडिकल कलेजलाई प्रमाणपत्र तहमा स्टाफ नर्स, डेण्टल साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसीको यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने गरी सम्बन्धन दिएको छ ।
    त्यसैगरी बैठकले चितवन भरतपुरको कलेज अफ मेडिकल साइन्सलाई प्रमाणपत्र तहमा डेण्टल साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीको सम्बन्धन दिएको छ भने काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेण्टल एन्ड रिसर्च सेन्टरलाई प्रमाणपत्र तहमा डेण्टल साइन्स र डिप्लोमा इन फार्मेसी सञ्चालन गर्न सम्बन्धन दिएको छ ।
    त्यस्तै चितवन भरतपुरको चितवन स्कूल अफ मेडिकल साइन्सलाई प्रमाणपत्रतहमा मेडिकल ल्याब टेक्नोलोजी र रेडियोग्राफी तथा भरतपुरकै भरतपुर हस्पिटललाई नर्सिङ्गको कक्षा सञ्चालन गर्न सम्बन्धन दिएको थियो ।
    सीटीईभीटीका नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन र कर्मचारी संघले अनियमितरूपमा सम्बन्धन दिएको भन्दै गत पुस २४ गते सीटीईभीटीका उपाध्यक्ष, सदस्य सचिवको कार्यकक्ष, प्रशासन महाशाखा र स्तरनिर्धारण महाशाखामा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।
    आयोगको कर्मचारी संघसंगठनले लगाएको तालामध्ये सदस्य सचिव, प्रशासन महाशाखा र स्तर निर्धारण महाशाखाको ताला फुटाएर फाइलहरू नियन्त्रणमा लिएको हो । अन्य शाखाको तालाबन्दी भने जारी छ ।
    टोलीले सदस्य सचिव जयबहादुर टण्डनको कार्यकक्षको ताला फोडेर विभिन्न फाइल तथा कागजपत्र नियन्त्रणमा लिएको छ भने स्तर निर्धारण महाशाखाको ताला फुटाएर सम्बन्धन दिएका सबै फाइल नियन्त्रणमा लिएर सो कार्यकक्षमा आयोगकै टोलीले ताला लगाएर शिलबन्दी गरेको छ ।
    टोलीले सदस्य सचिवसँग पुस ४ गतेको निर्णयसहितको निर्णयपुस्तिका माग गर्दा सदस्य सचिव टण्डनले निर्णयपुस्तिका आफ्नो घरमा भएको जवाफ दिएपछि टोलीले निर्णय पुस्तिका नपाए टण्डनलाई नै नियन्त्रणमा लिएर लैजाने जानकारी गराएपछि दुई कर्मचारी खटाएर टण्डनका घरबाट निर्णय पुस्तिका मगाएर डेढ घण्टापछि बुझाएका थिए ।
    आयोगका उपसचिव निरौलाले सीटीईभीटीको आवश्यक कागजपत्रहरू नियन्त्रणमा लिएको र यसबारे आवश्यक छानबिन गरिने बताउनुभयो ।
    संस्था सम्बन्धन दिँदा परिषद्ले एउटै संस्थाबाट  रू.२५ देखि रू.३५ लाखसम्म अनियमित रूपमा रकम लिएको र विभिन्न संस्थालाई  कार्यक्रम स्वीकृत गर्दासमेत लाखौं रूपैयाँ अनियमितरूपमा लिएको  सीटीईभीटीका कर्मचारीहरूले आरोप लगाउँदै आएका छन् ।
    यता सीटीईभीटीका सदस्य सचिव टण्डनले धेरै वर्षदेखि आवेदन परेर पूर्वाधार पु¥याएका कलेजहरूलाई सम्बन्धन दिएको दाबी गर्दै आयोगले छानबिनको क्रममा दोषी देखिए कारबाही भोग्न तयार रहेको बताउनुभयो । दिउँसो करिब १ बजे सीटीईभीटी प्रवेश गरेको टोलीले सीटीईभीटीका पदाधिकारी, कर्मचारी संघसंगठनका पदाधिकारीसँग बृहत् छलफल गरेपछि फाइल कब्जामा लिएको थियो ।
    कर्मचारी संघका अध्यक्ष राजु खड्काले विगतका सम्झौता कार्यान्वयन नगरेको, चार महिनादेखि पढाइ भइसकेको र विद्यार्थीको रजिष्ट्रेसनको दोब्बर दस्तुरको म्यादसमेत सकिएको अवस्थामा पाँच कलेजलाई सम्बन्धन दिएको कारण तालाबन्दी गरेको र तालाबन्दी जारी रहेको बताउनुभयो ।

No comments:

Post a Comment