Friday, May 31, 2013

बलम्बु खुला दिसामुक्त क्षेत्र घोषणा

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

बलम्बु खुला दिसामुक्त क्षेत्र घोषणा

    काठमाडौं  । सन् २०१७ (वि.सं.२०७४) सम्ममा नेपाल राज्य खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अनुसार काठमाडौंको पश्चिम क्षेत्र रहेको बलम्बु गाविस जेठ १३ गतेबाट खुला दिसामुक्त क्षेत्र भएको घोषणा गरेको छ ।
    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका निमित्त सचिव दिनेश थपलियाले एक समारोहबीच बलम्बु खुला दिसामुक्त क्षेत्र घोषणा लेखेका नक्सा सहितको ब्यानर उधारी उद्घाटन गर्नुभयो । त्यसक्रममा वहाँले बलम्बुको आफ्नै पहिचानभित्र थप अर्को पहिचानको ईटा थपेको छ भन्नुहुँदै इमान्दार लगनशील भएमा कार्यान्वयन गर्न डराउनु नपर्ने भन्नुभयो ।
    ठूलो घर, आलिशान गाडी र फराकिलो सडक निर्माण गर्ने मात्र ठूलो हुने हुँदैन , जनताको आधारभूत आवश्यकता पुरा हुनु ठूलो कुरा हो भन्नुभयो ।
    वहाँले स्थानीय विकास मन्त्रालयमा प्राप्त तथ्याङ्क अनुसार बलम्बुको समेत १०२४ वटा गाविसमा खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको जानकारी दिँदै बलम्बुले नयाँ अभियानको प्रारम्भ गर्नु भएको छ । त्यस कार्यमा मन्त्रालयको तर्पmबाट नियमित सहयोग रहने भन्दै कार्य सफलताको शुभकामना दिनुभयो ।
    कार्यक्रममा जिल्ला विकास समितिका प्राविधिक प्रमुख (DE) महेश आर्यालले वि.सं. २०७१ साल सम्ममा न्यूनतम १० वटा गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको बताउनुभयो ।
    कार्यक्रममा नेमकिपा काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले खुला दिसामुक्त क्षेत्र घोषणाप्रति जनतामा चेतना आवश्यक छ भन्नुभयो । वहाँले चर्पी बन्दैमा हुँदैन, प्रयोग गर्ने भावना र बाहिर फोहार नगर्ने मनस्थिति तयार पार्नुपर्छ भन्नुभयो । गाविसले अझ प्रभावकारी कार्यको लागि सार्वजनिक शौचालयको बन्दोवस्त गरेमा बाह्य पर्यटकको र स्थानीयको समस्या नहुने भन्नुभयो ।
    बलम्बु गाविसका सचिव रामप्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रममा एमाओवादीका श्रीकृष्ण महर्जन, एमालेका हरिशरण थापा, बलम्बु उपस्वास्थ्य चौकीका विमला केसी लगायतले बोल्नुभएको थियो ।
    कार्यक्रमा बलम्बु खुला दिसामुक्त क्षेत्र घोषणाको १५ बुँदे आचारसंहिता र प्रतिबद्धता पत्र गाउँस्तरीय खानेपानी, सरसफाई तथा समन्वय समितिका प्रकाश शर्माले वाचन गर्नु भएको थियो । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रक्रियामा वडा खुला दिसामु्क्त प्रतिस्पर्धा गरेको थियो । जसमा वडा नं. १ प्रथम, वडा नं. ३ द्वितीय र वडा नं. ६ तृतीय हुनु सफल भएको थियो ।
    प्रतिस्पर्धामा सफल हुने वडाका संयोजक कृष्णभक्त महर्जन, गुणदास महर्जन र अन्जना महर्जनलाई प्रमुख अतिथि थपलियाबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
    त्यसै गरी वडा नं. ७, ८ र ९ तीनवटामा एकघर एकचर्पी बनाउन विशेष भूमिका खेल्नु हुने रामशरण केसीलाई खाडा ओढाई सम्मान गरिएको थियो ।    कार्यक्रम अघि र कार्यक्रम पछि स्थानीयवासीले वाजागाजा सहित गाउँ परिक्रमा गरिएको थियो । स्मरणीय छ, बलम्बु गाविसमा १२०३ वटा घरधुरीमा चर्पी निर्माण सम्पन्न गरी काठमाडौं जिल्लामा दोस्रो खुल्ला दिसामुक्त गाविस बन्न सफल भएको छ । यस अघि महाँकाल गाविसले घोषणा गरिएको थियो ।

No comments:

Post a Comment