Friday, May 10, 2013

नेमकिपा निर्वाचन आयोगमा दर्ता

वर्ष १०, अंक ६ (२०७० बैशाख २७ गते शुक्रबार प्रकाशित)

नेमकिपा निर्वाचन आयोगमा दर्ता

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी निर्वाचन आयोगमा शुक्रबार दर्ता भयो । दर्ताअघि जमलबाट जुलुससहित नेता र कार्यकर्ताहरू आयोगमा पुगेका थिए । नेपाल मजदुर किसान पार्टी जिन्दावाद ! चारदलीय तानाशाही मुर्दावाद !!, आदि नारा लगाउँदै जुलुस आयोगमा पुगेको थियो ।
    नेमकिपाले आयोगमा पार्टीको निवेदनसाथ कार्यक्रम, विधान, नियमावली, हँसिया–हथौडा अङ्कित झण्डा पेस गर्यो र चुनाव चिन्ह मादल नै दावी गर्यो । आयोगमा नेमकिपाको दर्ता नं. १९ कायम भएको छ ।
    पार्टी दर्तालगत्तै नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश सम्बन्ध समिति प्रमुख प्रेम सुवालले आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतिलाई भेटी स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित निर्वाचनको लागि आयोग तटस्थ हुनुपर्ने, चार शासक दलको ईसारामा काम गर्न नहुने र सूचनाको प्रवाह भित्रभित्रै चार शासक दललाई मात्र गर्न नहुने विचार राख्नुभयो ।
    उहाँले चार शासक दलको निर्देशनमा आयोगले समानुपातिकमा एक प्रतिशत मत नआएको पार्टीलाई प्रतिनिधित्व गर्न नदिने मस्यौदा ऐन फिर्ता लिनुपर्ने उल्लेख गर्दै निर्वाचन चिन्ह अगाडि पार्न शासक दलहरू पहिलो दिन सबेरै आयोगको ढोकामा कुर्न पुगेको धाँधलीको सङ्केत नै भएको बताउनुभयो ।
    प्रमुख आयुक्त उप्रेतीले आयोग चार शासक दलको निर्देशनमा नहिँड्ने आश्वस्त पार्दै सबैको सहभागितानै निष्पक्ष निर्वाचन सम्पन्न गर्ने आयोगको उद्देश्य रहेको बताए ।
    आयोगमा पार्टी दर्ताको लागि केन्द्रीय सदस्यहरू बुद्धिकुमार गोसार्इं, सनकमान महर्जन, नारायण महर्जन, अम्बिका न्याइच्यार्इंलगायत पार्टी र जनवर्गीय सङ्गठनका नेता र कार्यकर्ताहरू आयोगमा पुगेका थिए ।

No comments:

Post a Comment