Friday, May 31, 2013

पाँगा दोबाटो–चोभारबाटो असारले नबिगारोस्

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

पाँगा दोबाटो–चोभारबाटो असारले नबिगारोस्

    पाँगा दोबाटोदेखि चोभार गेटसम्म बाटो निर्माण कार्य सुरु भएको छ । लामो समयसम्म खाल्डाखुल्डी सहेर स्थानीय सरकार नगरपालिकालाई गाली गर्ने मुख अहिलेलाई थुनेको छ ।
    आ.व. २०६९/०७० को जगेडा कोषवाट रु ६४ लाख र सडक बोर्डको ९ लाख वरावरको यो निर्माण कार्य हुने नपाको प्राविधिक प्रमुख बालकृष्ण महर्जनले बताउनु भएको छ ।
    जगेडा कोषको ठेक्का कविन्द्र कन्स्ट्रक्सन प्रालिको र सडक वोर्डको ठेक्का आरएम निर्माण सेवाले पाएको नपा स्रोतले जनाएको छ ।
    सडक पिच र प्याचिङ जे जस्तो कार्य भएपनि दिगो हुनुपर्दछ । नगरवासी जनताको पसिनाले तिरेको पैसाबाट निर्माण हुन लागेका कमसल निर्माण कार्यले विगतमा धेरै अपजस वेहोर्नु परेको घटना ताजै छन् । बर्षायाम सूरु संगै गरिने सडक कार्य एक हप्ता पनि नतिकेको सडक हो पाँगा दोबाटो – चोभार सडक खण्ड ।
    अहिले पनि बर्षा याममै आर्थिक बर्षको बजेट सिध्याउनुपर्ने वाध्यतामा हिजो जस्तै फासफुस सडक निर्माण हुने हो भने यो असारे झरिले नबिगार्ला भन्न सकिन्न । यो निर्माण कार्य ठेक्कामाथि ठेक्काले कार्य गर्न लागेको जनमानसमा चर्चा परिचर्चा भैरहेको छ । कतै कमिसनको खेलमा अधुरो नहोस् कमिसनकै खेलमा कमसल खालकै पिच नहोस् ।
    ३–४ बर्ष पछि बल्ल निर्माण हुन थालेको यो सडक खण्ड पाँगा प्रवेशको मुख्य नाका हो । कीर्तिपुर नपाका प्राविधिक टोली जसले अनुगमन र निरीक्षण गर्ने संस्था तैं चुप मैं चुप नगरोस्, ठेकेदारहरुले यो आफ्नै देशको विकासमा हलुका ढंगले निर्माण गर्ने नसोचोस् र पाँगावासी, नागरिक समाज, राजनीतिक दल, पाँगा विकास समाज र संघ संस्थाले निर्माण कार्यमा अनियमितता गर्यो कि भन्ने विषयमा निरन्तर चासो लिन सकोस् । हाम्रो बाटो राम्रो बाटो बनाउन सबै लागौं । हाम्रो सडक राम्रो बन्नेछ भन्ने विश्वास लिऊँ ।

No comments:

Post a Comment