Friday, May 17, 2013

क्रान्तिकारी मजदुर संघको परिषद् सम्पन्न

वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)

क्रान्तिकारी मजदुर संघको परिषद् सम्पन्न

    भक्तपुर । नेपाल क्रान्तिकारी मजदुर संघको दोस्रो केन्द्रीय परिषद् बैशाख २७ र २८ गते विभिन्न निर्णय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरी शनिबार सम्पन्न भयो ।
    दोस्रो केन्द्रीय परिषद्को दोस्रो दिन नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रशिक्षण दिँदै पुराना संरचना ध्वस्त नगरी नयाँ संरचनाको विकास नहुने हुँदा कार्यकर्ताहरूले जनविरोधी विचार र नीतिविरूद्ध जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ भन्नुभयो ।
    विभिन्न देशका मजदुर आन्दोलन, समाजवादी आन्दोलनको अध्ययन गरी नेपाली मजदुरहरूलाई वर्गीय रूपमा एकताबद्ध गर्न गाउँ बस्तीमा पुग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – ‘चार दलले एकपक्षीय रूपमा संविधान संशोधन गरेर प्रजातन्त्रविरोधी काम गरेका छन्, दोषी ठहरिएका जनविरोधी व्यक्तिलाई अख्तियार प्रमुख बनाएर गलत काम गरेका छन् ।’
    उहाँले अगाडि भन्नभयो –‘जनतालाई सेवा गर्नुपर्ने कम्युनिष्टहरूले पूँजीपति वर्ग र भारतीय शोषक वर्गको सेवा गर्नु कामदार जनतालाई धोखा दिनु हो, कम्युनिष्ट चरित्र नभएका नेताहरूबाट कम्युनिष्ट आन्दोलन हुन्छ भनी आशा गर्न सकिँदैन, सच्चा कम्युनिष्टहरू जनताको घरदैलोमा पुग्नुपर्छ ।
    परिषद्मा नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले नेपालका ठूलठूला पार्टी एमाओवादी, काँग्रेस, एमाले र मधेसवादी पार्टीहरू नेपालको अस्तित्व नामेट पार्न नयाँ लेण्डुप दोर्जे बन्ने होडबाजीमा लागिरहेकोमा नेपाली जनता सचेत हुनुपर्छ भन्नुभयो ।
    नेक्रामहिला संघका केन्द्रीय सचिव लीला न्याइच्याईंले मजदुर आन्दोलनमा पुरूष र महिलाहरूबीच फूट ल्याउनसक्ने हुँदा होसियारीपूर्वक काम गर्नुपर्छ भन्नुभयो ।
    संघका केन्द्रीय अध्यक्ष नवराज कोइराला, उपाध्यक्ष नारायण महर्जनलगायत केन्द्रीय समितिका सदस्य एवं जिल्लाका प्रतिनिधिहरूले आ–आफ्नो विचार राख्नुभएको थियो ।
    परिषद्ले सङ्घको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरेको थियो ।
    यसअघि नेपाल क्रान्तिकारी मजदुर संघको दोस्रो केन्द्रीय परिषद् गत शुक्रबार सुरू भएको थियो ।
    केन्द्रीय परिषद्को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले गर्नुभएको थियो ।
    कार्यक्रम संघका केन्द्रीय अध्यक्ष नवराज कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।
    बन्द बैठकमा जिल्ला जिल्ला तथा पेशागत सङ्गठनका प्रतिनिधिहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment