Friday, May 31, 2013

नसुध्रेको नेपाली विद्यार्थी आन्दोलन

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

नसुध्रेको नेपाली विद्यार्थी आन्दोलन

    सोमबार एनेकपा (माओवादी) समर्थित अखिल (क्रान्तिकारी) देशभरका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुने क्याम्पसका क्याम्पस प्रमुख र निर्वाचन समिति कार्यालयमा तालाबन्दी गरेपछि जेठ २३ गते तय भइसकेको र प्रक्रियासमेत अघि बढिसकेको चुनाव अन्योलमा परेको छ । त्रिवि केन्द्रीय क्याम्पसमा निर्वाचन नहुने भए अन्यत्र पनि चुनाव गर्न नदिने भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । केन्द्रीय क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको भन्दै तालाबन्दी गर्दै आएको छ । उनीहरूले जेठ २ र ३ गते चुनाव प्रयोजनका लागि फर्जी विद्यार्थी भर्ना भएकाले दुवै दिनका सम्पूर्ण भर्ना रद्द गर्नुपर्ने माग गर्दै राजधानीका रत्नराज्य, केन्द्रीय क्याम्पस, महेन्द्ररत्नलगायतमा तालाबन्दी गरेको छ । जेठ २ र ३ गतेको सबै भर्ना रद्द गर्ने र नगर्ने विषयमा विद्यार्थी सङ्गठनहरूबीच मतान्तर छ । यस्तो तरल अवस्थाले ५ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुने–नहुने अनिश्चित बनेको छ ।
विद्यार्थी संगठनको दोहोरो चरित्र
    त्रिविले स्ववियु निर्वाचन घोषणासँगै जेठ ३ गतेलाई विद्यार्थी भर्नाको अन्तिम मिति तय ग¥यो । केही विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको मिति घोषणा गरेको मितिबाटै भर्ना प्रक्रिया रोक्नुपर्ने प्रस्ताव राखे पनि अधिकांश संगठनले भर्ना गर्न केही दिन दिनुपर्ने तर्क राखेका थिए । त्रिविले जेठ ३ गतेलाई अन्तिम भर्ना मिति तय गरेको घोषणापछि भने कुनै संगठनले कहीं विरोध जनाएका छैनन् ।
    तर जेठको आरम्भसँगै विद्यार्थी संगठनहरू विशेषतः दुईवटा अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेविसंघ र मधेसी विद्यार्थी संगठनहरूले क्याम्पस–क्याम्पसमा लाखौं रुपैयाँको भर्ना गरे । पैसाको बलमा संगठनहरूले नियमविपरीत मध्यरातसम्म पनि भर्ना गरेको सार्वजनिक भएपछि ती विद्यार्थी संगठनहरू चर्को आलोचनाको तारो बने । यद्यपि विद्यार्थी संगठनहरूले भने यो दोषबाट साखुले बन्न एक–अर्कामा आरोप–प्रत्यारोप गर्न थाले । वास्तविकता के हो भने कहीं कम कहीं धेरै हुनसक्छ, ती पाँचवटै विद्यार्थी संगठनहरूले निर्वाचनमा जसरी पनि जित्ने उद्देश्यले उनीहरूकै शब्दमा ‘खेताला’ विद्यार्थी भर्ना गरे । एउटै क्याम्पसमा तीसौं लाख रुपैयाँको भर्ना गरिएको भेद खुल्यो । यस्ता तथ्यहरूको विश्लेषण गर्ने हो भने विद्यार्थी संगठनहरूले भर्नाका लागि मात्र पनि करोडौं–करोड रकम खर्चेको प्रस्ट छ । कुनै आयस्रोत नभएका विद्यार्थीहरूका संगठनले कहाँबाट त्यति मात्रामा पैसा ल्याए, यो गम्भीर प्रश्न छ । डनहरूलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत स्रोत नखुलेका सम्पत्तिका कारण कारबाहीको प्रयास भइरहेको समयमा विद्यार्थी संगठनहरूले खर्चेको यति धेरै रकमको स्रोतबारे सरकार मौन बस्न मिल्छ र !
    स्ववियु जित्न करोडौं रकम ‘लगानी’ गर्ने विद्यार्थी संगठनहरूले भोलि के गरी त्यो लगानी उठाउने हुन् ? कति प्रतिशत नाफा जोडेर कहाँबाट त्यो पैसा उठाउँछन् ? ‘जोगी बन्न राजनीति नगर्नेहरू’ ले पक्कै पनि जनसेवाको लागि त्यति रकम दान गरेनन् ! ठूला राजनीतिक दलका यी विद्यार्थी संगठनहरूका पैसाको स्रोत पहिल्याउने हो भने निःसन्देह लहरो तान्दा पहरो गर्जिनेछ । ती संगठनहरूले जनआन्दोलनका घाइते र नेत्रहीन एवं अपाङ्गका लागि त्रिविले दिंदै आएको सुविधाको लाजमर्दो ढंगले दुरुपयोग गरेका छन् । कम रकममा भर्ना हुन पाउने सुविधालाई अवैध ढंगले दुरुपयोग गरी एकैजना त्यस्ता विद्यार्थी तीन र चार क्याम्पसमा भर्ना गरेका तथ्य उद्घाटन भएका छन् । एउटै क्याम्पसमा एकैजना विद्यार्थी बिहानी, दिवा र रात्री चरणमा भर्ना भएको पाइयो । यस्ता गतिविधि तिनै पाँच संगठनबाटै भएका छन् । त्यस्ता नैतिकताहीन क्रियाकलाप गर्न तिनका नेताले लाज र नैतिकता आ–आफ्ना पार्टीका कार्यालयमा छाडेर आएको प्रस्ट छ ।
    यस्ता सारा गतिविधि गरेपछि अहिले तिनीहरू नै ‘नक्कली’, ‘खेताला’, ‘फर्जी’ विद्यार्थी रद्द गर्न मीठो र चिप्लो कुरा गर्दै आफू चोखिन खोजेका छन् । तर उनीहरूको त्यो प्रयास सर्वाङ्ग नाङ्गो भएर लाज छोप्ने प्रयासमै मात्र सीमित छ । उनीहरूका असली चरित्र सबैका सामु छर्लङ्ग छ । आफै नक्कली काम गर्ने अनि अरुलाई दोष लगाउने यो दोहोरो चरित्रले विद्यार्थी आन्दोलन थप बद्नाम भएको छ ।
सिद्धान्तहीन चुनाव
    स्ववियू निर्वाचन अब विचारमन्थनको दबु रहेन भन्ने कुराको सबभन्दा प्रस्ट दृष्टान्त यो निर्वाचन तयारीको क्रममा देखियो । कहीं कुनै पनि क्याम्पसमा वैचारिक बहस र छलफल भएको सुनिएन, देखिएन । भित्ताहरूमा कुनै विरोत्तेजक नारा वा प्रस्ताव पोतिएन, टाँसिएन । कुनै संगठनले के नयाँ नारा वा विचार अघि सा¥यो भन्ने विषयमा कसैले चासो दिएका छैनन् । निर्वाचन प्रणालीमा सांगठनिक समानुपातिकको केही अभ्यास हुने भए अरू पनि कुनै संगठनको विचार वा प्रस्तावबारे आलोचना वा समर्थन कुनै विद्यार्थीको मुखबाट सुनिएको छैन ।
    बरू विद्यार्थी संगठनहरू हतियार संकलन, कुटाकुट, गालीगलौज, मुक्कामुक्कीमा प्रतिस्पर्धा गर्दैछन् । केन्द्रीयस्तरका नेताहरूसमेत वैचारिक तर्कमा भन्दा गालीगलौजमा झरेका छन् ।
    चुनावी सभाहरूमा अतिथि बोलाइएका पार्टीका नेताहरूसमेत आफ्ना संगठनका कार्यकर्तालाई यस्तै गतिविधिका निम्ति उत्प्रेरित गरिरहेका छन् । यसबाट शैक्षिक आन्दोलनको समीक्षा, नयाँ संविधानमा युवा–विद्यार्थी मुद्दाबारे चर्को सैद्धान्तिक छलफल हुनुपर्ने चुनाव वातावरणमा सिद्धान्तहीन चुनावी तयारीमा सीमित बनेको छ । विद्यार्थी संगठनहरू मतपत्रमा कसको नाम अघि राख्ने, कसले पहिला दर्ता गर्ने, कुन संगठनले ठूलो प्रचार सभा गर्ने विषयमा ठूलै तथा तुक नभएको विवाद गरिरहेका छन् ।
    राजधानीको त्रिचन्द्र र अस्कल क्याम्पसमा कुन संगठनले कसरी अर्को संगठनका कार्यकर्तालाई कुटपिट गर्यो भनी तस्बीर प्रदर्शनमा बाक्लै विद्यार्थी नेताहरूले विद्यार्थी आन्दोलनको उचाइ बढाउन जतिसुकै मीठो–मसिनो कुरा गरे पनि पुरानै मण्डले रोगबाट विद्यार्थी आन्दोलन मुक्त हुन नसकेको स्पष्ट छ ।
हुनुपर्छ निर्वाचन
    स्ववियु निर्वाचन हुन झण्डै दस दिन बाँकी हुँदा देशभरका क्याम्पसमा तालाबन्दी भएको छ । आफैले नक्कली भर्ना गर्ने विद्यार्थी संगठनहरूले त्यस्ता भर्ना खारेज गर्न माग गर्दै तालाबन्दी पाखण्डको हद हो । नैतिकता त्यागेपछि राजनीति विकृत बन्दै जान्छ । अहिलेको अवस्था गति छाडा विद्यार्थी संगठनहरूका कारण झन् झन् विकृत बन्दै गएको छ । यो वर्ष चुनावको मुखमा आइसकेपछि भएका यस्ता क्रियाकलापले स्ववियुको अस्तित्व अन्त्य गर्नतर्फ जानेछ । ऐतिहासिक विद्यार्थी आन्दोलनको उपलब्धि स्ववियूको अस्तित्वलाई सङ्कटमा पार्न ती विद्यार्थी संगठनहरू नै साक्षी हुनेछन् ।
    यसो गर्नु विश्वविद्यालय शिक्षालाई क्रमशः निजीकरण गर्न उद्यत त्रिविभित्रका शक्तिहरू र नेपाली शिक्षालाई नवउदारवादी भासमा होम्न प्रयत्नरत बहुराष्ट्रिय संस्थाहरूको इच्छा साकार हुनेछ । यसर्थ यो निर्वाचनमात्र विद्यार्थी नेतृत्वमा सीमित छैन, नेपाली शिक्षा क्षेत्रलाई नवउदारवादी व्यवस्थामा हुल्ने–नहुल्नेसँग पनि नजिकबाट सम्बन्धित छ । तसर्थ केही विद्यार्थी संगठनहरूको सङ्कीर्णता, जिद्दी, स्वार्थ र अवसरवादी चरित्रका कारण चुनाव रोकिनुहुन्न्न ।

No comments:

Post a Comment