Friday, May 31, 2013

निर्वाचन आयोगमा ६१ दल दर्ता

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

निर्वाचन आयोगमा ६१ दल दर्ता

    काठमाडौं । आगामी संविधानसभा निर्वाचनका लागि  १३ जेठसम्म ६१ वटा  राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
    दल दर्ताको निवेदन दिन दुई दिन बाँकी रहँदा आयोगमा ६१ वटा दल दर्ता भएका हुन् ।
    दल दर्ताका लागि गत बैशाख १५ गतेदेखि यही जेठ १५ गतेसम्मको अवधी तोकिएको भए पनि अन्तिम दिन गणतन्त्र दिवस (बिदा) पर्ने भएकाले एक दिन थप गर्ने  निर्णय आयोगले गरेको छ ।
    आयोगका अनुसार सोमबार मात्रै सातवटा दल दर्ता भएका छन् । दर्ता भएका दलहरूमा नेपाल शान्ति समाज दल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, संघीय समाजवादी पार्टी, तराई मधेस, पहाड, हिमाल एकता पार्टी, जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स, लिम्बुवान मुक्ति मोर्चा र शान्ति पार्टी नेपाल रहेका छन् ।
    यसैबीच आयोगले निर्वाचनको आवश्यक तयारीमा रहेको र अहिले विद्युतीय मतदान  उपकरण अभ्यास गरिरहेको छ । आयोगका प्रवक्ता वीरबहादुर राईले अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्रमा प्रयोग गरिएको विद्युतीय  मतदान केन्द्रसहित अरु थप निर्वाचन क्षेत्रमा अभ्यास भइरहेको जानकारी दिनुभयो ।
    काठमाडौं उपत्यकाबाहेक तराईका बढी मतदाता भएका जिल्लामा पनि विद्युतीय मतदान उपकरणसम्बन्धी अभ्यास भइरहे पनि कुन निर्वाचन क्षेत्रमा गर्ने भन्ने निर्णय  भइनसकेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment