Saturday, June 22, 2013

बुद्धको काम केवल बाटो देखाउनु हो ।

वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)

बुद्धको काम केवल बाटो देखाउनु हो ।

    भगवान बुद्ध एक पटक कालामहरुको नगरमा पुग्नु भएको थियो । कुराकानीको क्रममा कालामहरुले भगवान बुद्धको समक्ष “धेरै धर्मगुरुहरुसँग साक्षात्कारको अवसर पायौं सबैले आप्mनो धर्म उत्तम र श्रेष्ठ भन्छन् । तर वास्तवमा श्रेष्ठ उत्तम धर्म के हो ?” भनी जिज्ञासा राखे । उत्तरमा भगवान बुद्ध भन्नुहुन्छ । “जुन धर्म दुःख र दुःख मुक्तिको लागि हुन्छ क्लेश मुक्तिको लागि हुन्छ, त्यही श्रेष्ठ र उत्तम धर्म हो ।” त्यसैगरी डुंगाको उपमा दिएर बुद्धले भिक्षुहरुलाई भन्नुभएको थियो कि जसरी डुंगा नदी तरेर पारीजानको लागि प्रयोग गरिन्छ । त्यसरी नै धर्म साँसारिक दुःखबाट पार तरेर जानको लागि हो ।
    एक समय तथागत श्रावस्तीमा विशाखाको पुब्बाराम विहारमा वस्नुभएको थियो । एक दिन मोग्गालन नामक ब्राम्हण आएर भगवानलाई एक्लै देखेर सोध्यो कि केही मानिसलाई चरम ज्ञान प्राप्त छन्, केही यस्का नजिक छन् तर केही मानिसहरु यस्ता पनि छन जसलाई यस सुखको प्राप्ति भएको छैन । तसर्थ के कारण हो कि केही साधकहरुलाई निर्वाण सुख प्राप्त हुन्छ र केहीलाई हुँदैन । अनि भगवान तपाई आफ्नो अपार करुणाले किन सबैलाई निर्वाण सुख दिनुहुन्न र भवसंसारको बन्धनबाट मुक्त गर्नुहुन्न ? बुद्धले मोग्गालनलाई प्रतिप्रश्न गर्नुभयो । “मोग्गालन ! के तिमीलाई श्रावस्ती देखि राजगृहसम्मको जाने आउने बाटो राम्रौ सँग थाहा छ ? ” मोग्गालनले भन्यो “ मलाई निश्चय नै श्रावस्ती देखि राजगृहसम्मको जाने आउने बाटो राम्रो सँग थाहा छ । ” भगवानले फेरि साध्नुभयो “ तिमीलाई कुनै मानिस आएर राजगृहका बाटो सोध्छ र उसलाई तिमीले जुन बाटो बताइन्छ । त्यसलाई छाडेर ऊ अर्के बाटो समात्छ र त्यसैगरी अर्को मानिस आउँछ र ऊ पनि राजगृहको बाटो सोध्छ र तिमी उसलाई पनि ठीक ठीक बाटो बताइ दिन्छौं र ऊ बताएको बाटो हिड्छ भने के दुवैजना सकुशल राजगृह पुग्छ ?” त्यसपछि मोग्गालनले भने “होइन भगवान ! जो मैले बताएको बाटो समात्छ, त्यो मानिसमात्र राजगृह पुग्छ ।” फेरि भगवानले भन्नुभयो “ ठिक त्यसरी नै जो साधक मैले देखाएको बाटो हिड्छ, उसलाई निर्वाण सुख प्राप्त हुन्छ । जो फरक बाटो हिड्छ, उ दुःखको बन्धनबाट मुक्त हुँदैन ।” त्यसैले “तुम्हेहि किच्चं आतप्वं, अक्खातारो तथागता” अर्थात मुक्ति प्राप्तिका लागि आफ्नो काम आफैले गर्नुपर्दछ । तथागत बुद्ध त सिर्पm बाटो देखाइदिने मार्ग प्रदर्शक मात्र हो ।
    भवचक्रबाट मुक्त हुनको लागि नभई तथागतको रुपमात्र हेरेर आनन्द लिनको लागि भिक्षु वक्कलि प्रवजित भएका थिए । उनलाई उपदेशको क्रममा भगवान बुद्धले भन्नुभएको थियो कि जसले धर्मलाई यथार्थरुपमा जाने बुझेको हुन्छ, उसले मेरो दर्शन पाएका हुन्छ । यहाँनेर संक्षेपमा भएपनि धर्म के को लागि भने कुरा बुझ्नु आवश्यक देखिन्छ । धर्म अल्पेक्ष (आवश्यक भन्दा बढी जम्मा नगर्न ) को लागि हो धर्म सन्तुष्ट हुनको लागि हो । आरम्भदेखि अन्त्यसम्म धर्म प्राप्तिमा उत्साह बढाउनको लागि हो धर्म होशियारपूर्वक राम्रा कार्यगरी जीवन बिताउनको लागि हो । धर्म कुशल कार्यमा एकाग्रह हुनको लागि हो । धर्म प्रज्ञा (विवेक) को लागि र धर्म निर्वाण प्राप्तिको लागि हो । धर्मको फल धर्ममार्गमा हिँडेर मात्र सम्भव हुन्छ । त्यसैले भगवान बुद्धले आफ्नो शरणमा मात्र आएर परमसुख निर्वाण प्राप्त हुन्छ भन्नेकुरा कहिल्यै भन्नुभएन । कसैलाई पनि हात समातेर निर्वाण मार्गमा डोर्याउन सकिदैन् । मुक्तिको मार्गमा डोर्याउन सकिदैन । शुद्ध हुनु र असुद्ध हुनु आ–आफ्नो काम हो । त्यसैले सम्यकसम्बुद्ध भन्नुहुन्छ –
                          “अत्ता हि अत्तनो नाथो, को हि नाथो परोसिया ।
                           अत्तना हि सुदन्तेन् नाथं लभति दुल्लभं ।।
    अर्थात् आफु नै आफ्नो मालिक अरुको हुन सक्ला ? आफुलाई राम्रोसँग दमन गर्न सक्यो भने दुलर्भ लाभ प्राप्त हुन्छ । सबै दुःखबाट मुक्त हुन्छ ।
    जन्म–मरणको सांसारिक बन्धन या भवचक्रबाट मुक्त हुन भगवान बुद्धले देखाउनु भएको मार्ग माध्यम मार्ग, आर्य अष्टाङ्गिक मार्ग या नैतिक मार्ग हो । तथागतले प्रथमबार सारनाथमा पञ्चभद्रवर्गीय भिक्षुहरुलाई धर्मचक्रसुत्र देशना गर्ने क्रममा नितान्त भोगविलासयुक्त र कठोर तपश्याको जीवययापन दुईटै अतिमार्ग भएकोले मध्यममार्ग अनुगमन गर्नेतिर केन्द्रित हुन जोड दिनु भएको हो । दुःखको वास्तविकतालाई स्वीकार गरी त्यसलाई निराकरणको लागि प्रयत्न गर्नु बुद्धको नैतिक मार्ग हो । दुःख सत्य हो, दुःखको कारण छ, दुःखलाई निरोध गर्न सकिन्छ र दुःख निरोधका मार्गहरु (आर्य अष्टाङ्गिक मार्ग) छन् भन्ने चतुरार्य सत्यलाई जीवनमा अवलम्बन गरेर सन्तुलित रुपमा अगाडि बढ्दै गएमा सफलता चुम्न गाह्रो हुँदैन ।    शील, समाधि र प्रज्ञा (आर्य अष्टाङ्गिक मार्ग) बुद्ध धर्मको सार हो । राग, द्वेष र मोहको समूल÷तृष्णालाई नष्ट गर्न जो कोही पनि शील (सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजिविका), समाधि (सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि) र प्रज्ञा (सम्यक दृष्टि, सम्यक संकल्प) को बाटोमा हिँड्न सकिन्छ । झुठो कुरा, चुकली कुरा, कडा वचन र काम नलाग्ने कुराबाट अलग रहनुलाई सम्यक वचन भनिन्छ । हिँसा नगर्नु, परधन नचोर्नु, अनैतिक कार्य नगर्नु सम्यक कर्मान्त हो । प्राणीको माँस नबेच्ने, मार्ने नियतले प्राणी नबेच्ने, बिप नबेच्ने, शस्त्र अस्त्र नबेच्ने, लागु पदार्थ नबेच्ने कार्य सम्यक आजिविका हो । जीवनमा कुशल, अकुशल कार्यमा सजगता अपनाई होश पु¥याउने या उत्पन्न भएको पापलाई निर्मुल गर्ने र उत्पन्न नगर्ने, कुशल कर्मलाई उत्पन्न गर्ने र कुशल धर्मलाई वृद्धि गर्ने सम्यक व्यायाम हुन् । चित्तमा एकाग्रताको विकास गर्ने, चित्तलाई एउटै कुशल आलम्वनमा राख्ने, प्रिति सुखानभुति प्राप्त गर्नेलाई सम्यक समाधी भनिन्छ । कुशल अकुशल छुट्याउन सक्नु, दुःख के हो र तृष्णाको अन्तबाट दुःखको निराकरण हुन्छ भन्ने कुरा जान्न सक्नु या ठीक समझदारीलाई सम्यक दृष्टि भनिन्छ । यसको साथै क्लेश, द्वेष, हिँसाबाट अलग भएर जीवन सफल पार्ने उद्देश्यले गन्तव्यमा पुग्ने संकल्पलाई सम्यक संकल्प भनिन्छ ।
धम्मपदमा भनिएको छ –
                     “मग्गानट्ठङ्गिको सेट्ठो, सच्चानं चतुरो पदा ।
                      बिरागो सेट्ठो धम्मानं, द्विपदानञ्च चकखुमा ।।”
अर्थात् मार्गमध्ये अष्टाङ्गिक मार्ग श्रेष्ठ, सत्यमध्ये चतुरार्य सत्य श्रेष्ठ, धर्ममध्ये वैराग धर्म श्रेष्ठ र प्राणीमध्ये चक्षुवान बुद्ध श्रेष्ठ हो । त्यसैले उहाँ सम्यकसम्बुद्धले देखाउनु भएको श्रेष्ठ मार्गमा हिँडेर त्यहाँ पुग्न सकिन्छ, जहाँ स्वयम् शास्ता पुग्नु भएको थियो । कसैको कृपा, अनुकम्पा र उद्धारबाट दुःखबाट छुटकारा पाउन सकिँदैन, सांसारिक बन्धनबाट मुक्त हुन सम्भव छैन र निर्वाण सुख प्राप्त गर्ने आशा राख्नु हुँदैन । तथागतले देखाउनु भएको बाटोमा गएर धेरै भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरुले निर्वाणको परमसुख प्राप्त गरेको धेरै उदाहरणहरु छन् । त्यसैले हामी पनि सम्यकसम्बुद्धको विसुद्धिमार्गलाई गौरव अवलम्बन गरौं । सदुपयोग गरौं । कल्याण यसैमा छ ।
- पूर्णमान महर्जन, कीर्तिपुर नयाँबजार

No comments:

Post a Comment