Thursday, June 13, 2013

एसएलसी परीक्षा २०६९ को नतिजा सार्वजनिक

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

एसएलसी परीक्षा २०६९ को नतिजा सार्वजनिक

    काठमाडौ । मङ्गलबार सार्वजनिक भएको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजामा नियमिततर्फ एक लाख ६७ हजार नौ सय ३५ जना अर्थात् ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
    गत चैतमा लिइएको सो परीक्षामा नियमिततर्फ पाँच लाख ११ हजार १६५ जना विद्यार्थी सहभागी थिए ।
    यो नतिजा गत वर्षको तुलनामा ६ प्रतिशतले कम हो भने विगत एक दसककै दोस्रो खराब नतिजा हो । अघिल्लो वर्ष नियमिततर्फ ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नतिजा खस्किएपछि शिक्षाका नीति निर्माताले यसको गम्भीर प्रभाव पर्ने जनाएका छन् ।
    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार एक्जाम्टेडतर्फ एक लाख सात हजार २२९ विद्यार्थी परीक्षामा सम्मिलित भएकोमा आठ हजार ३१८ अर्थात् ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
    परीक्षाफल प्रकाशनपछि आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक खगराज बरालले नियमिततर्फ दुई लाख ६ हजार १९१ छात्रले परीक्षा दिएकोमा ९६ हजार ४५४ र एक लाख ९७ हजार ७४६ छात्राले परीक्षा दिएकोमा ७१ हजार ४८१ छात्रा उत्तीर्ण भएका छन् ।
    उत्तीर्णमध्ये नियमिततर्फ विशिष्ट श्रेणीमा १६ हजार ९२४, प्रथम श्रेणीमा ७६ हजार १६५, द्वितीय श्रेणीमा ६९ हजार ८३१ र तृतीय श्रेणीमा पाँच हजार १६ विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
    विभिन्न कारणले ६ हजार ६७ विद्यार्थीले एसएलसी परीक्षा छोडेका, ८१८ परीक्षार्थीको नतिजा रोकिएको र २३१ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
    परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि पुरक परीक्षाको व्यवस्था गरिएको र उक्त परीक्षा आगामी साउन २१ देखि २७ गतेसम्म सञ्चालन गरिने गरी तोकिएको छ ।
कमलमा शतप्रतिशत उत्तीर्ण
    कमल इङ्गलिस स्कुल, बल्खुले प्रवेशिका परीक्षामा निरन्तर शतप्रतिशत नतिजा हासिल गरेको छ । २०६९ मा ३० जना विद्यार्थीमध्ये १५ जना विशिष्ट श्रेणी, १४ प्रथम श्रेणी र १ जनाले द्वितीय श्रेणीमा उर्तीण भएका छन् । जसमध्ये आशा खड्काले सामाजिक शिक्षा विषयमा ९१ अंक प्राप्त गरेको विद्यालयले जनाएको छ ।

No comments:

Post a Comment