Saturday, June 22, 2013

भारतीय विस्तारवाद नेपाललाई नवउपनिवेश बनाउन खोज्दै

वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)

भारतीय विस्तारवाद नेपाललाई नवउपनिवेश बनाउन खोज्दै

   काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले वैदेशिक हस्तक्षेपविरुद्ध लड्न युवा–विद्यार्थीहरूमा कति पनि लघुताभाष हुन नहुने बताउनुभएको छ ।
   नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा शुक्रबार नेपाल ल क्याम्पसमा भएको वैदेशिक हस्तक्षेपविरुद्ध विचार गोष्ठीमा बोल्दै उहाँले पहिला भारतीय दलाल को भनी सोधखोज गर्नुपर्नेमा अहिले को होइन भनी सोच्नुपर्ने अवस्था आएको बताउनुभयो ।
    ‘कम्युनिष्ट’ आवरणमा जनविरोधी गतिविधि गर्ने पार्टीहरूको तीखो आलोचना गर्दै उहाँले भन्नुभयो, ‘समुद्री यात्रामा देखिनेभन्दा नदेखिने चट्टान घातक हुने गर्छन् ।’ आर्थिक, सांस्कृतिक र राजनीतिक उपनिवेशीकरणको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले नेपालका ठूला दलहरूलाई कब्जामा लिएर नेपाललाई भारतीय विस्तारवादले नवउपनिवेश बनाउन खोजिरहेको बताउनुभयो ।
    उहाँले विभिन्न नामका स्वामी बाबाहरूले गुप्तचरीको काम गरिरहेको चर्चा गर्दै भन्नुभयो, ‘तिनीहरू भारतीय गुप्तचर विभागकै अङ्ग हुन् ।
    उहाँले भन्नुभयो, आफ्नो स्वार्थपूर्ति गर्न नै भारतले माओवादीलाई हातहतियार र तालिम दिएको हो । बिप्पा सम्झौता र लगानी बोर्ड विधेयक त्यसैको परिणाम हुन् ।’
    नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालमा वैदेशिक हस्तक्षेपका लागि चार ठूलो शक्ति कठपुतलीको भूमिका खेलिरहेको बताउनुभयो ।
    उहाँले कार्यकारिणी कमजोर हुँदा वैदेशिक हस्तक्षेप अझ हावी हुने चर्चा गर्दै भन्नुभयो, ‘अहिलेको रेग्मी सरकार इतिहासकै सबभन्दा कमजोर कार्यकारिणी हो ।’ नेपाल बार एशोसियसनको उपाध्यक्ष अधिवक्ता टिकाराम भट्टराईले खिलराज रेग्मी र लोकमानसिंह कार्कीको नियुक्तिसँगै वैदेशिक हस्तक्षेप अझ नाङ्गो रुपमा देखिएको बताउनुभयो ।
    वैदेशिक हस्तक्षेप हिजोको प्रकृति र प्रवृतिभन्दा फरक ढङ्गले अगाडि आएको चर्चा गर्दै उहाँले जनजीविका र लोकतन्त्रको आवरणमा वै देशिक हस्तक्षेप हावी भएको बताउनुभयो ।
    प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईंले भारतीय पाठ्यक्रम पढाइ हुने नेपालका विद्यालयलाई अवैध घोषणा गरी तिनलाई सञ्चालन अनुमति दिने व्यक्तिलाई देशद्रोही घोषणा गरी कारबाही गरिनुपर्छ भन्नुभयो ।
    उहाँले भन्नुभयो, ‘नेपाली शासक वर्गहरू, शिक्षा मन्त्रालय र अन्य जिम्मेवारहरूको दिशाहीनताका कारण देशका सार्वजनिक शैक्षिक संस्थाहरू ध्वस्त हुँदैछन् । त्यसको परिणामस्वरुप हजारौं विद्यार्थी उच्च शिक्षाको निम्ति विदेशिएका छन् ।
    नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष उकेश कवांले सिक्किम, भुटान, फिजी र बाल्कन देशहरूका इतिहासबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।
    नेपाल क्रान्तिकारी महिला संघका सचिव लीला न्याइच्याईंले गोरा छालालाई नै बुद्धिको प्रतिकका रुपमा लिने प्रवृतिका कारण विभिन्न गैरसरकारी संस्थामार्फत् वैदेशिक हस्तक्षेप भएको बताउनुभयो ।
  नेक्राविसंघका अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको गोष्ठीमा केन्द्रीय सचिव नीरज लवजू र सदस्य राजेन्द्र चवालले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment