Saturday, September 14, 2013

भाद्र १...कीर्तिपुरको बाघभैरव जात्रा

वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)

भाद्र १...कीर्तिपुरको बाघभैरव जात्रा

    काठमाडौंको दक्षिण पश्चिममा अवस्थित, समुद्री सतहबाट करीब ४८०० फीट उचाइमा रहेको पूर्व र पश्चिम लाम्चो भै डुंगाको आकारमा देखिने कीर्तिपुरको मध्ये भागमा बाघभैरवको मन्दिर रहेको छ । बाघभैरवको मन्दिरलाई स्थानीय मानिसहरुले आःजुद्य भन्ने गरिन्छ । आःजुको अर्थ पूर्खा हो । त्यसैले बाघभैरवको मन्दिर निकै पुरानो हुनु पर्छ भन्ने कुरा यस शब्दबाट पनि स्पष्ट हुन्छ ।
    बाघभैरवको विषयमा लेख्नु अघि कीर्तिपुरको बारे केहि लेख्नु उपयुक्त हुनेछ । कीर्तिपुरको पुरानो नाम पद्यकाष्ठपुर, पद्यकाष्ठगिरी र गुँदे पनि भन्ने गरिन्छ । यस क्षेत्रलाई शीवदेव तृतीयले पुर वा शहरको रुपमा निर्माण गरेको कुरा गोपालराज वंशावलीमा उल्लेख गरेको छ । यही शीवदेवले बाघभैरवको मन्दिर पनि निर्माण गरेको भनिन्छ । गुँदेको नामबाट के स्पष्ट हुन्छ भने यो क्षेत्र परापूर्वकालमा जंगल थियो वा जंगलले घेरिएको थियो भने स्पष्ट हुन्छ । कीर्तिपुरको प्राचीन वस्ती यस गुँदेको उत्तरतिरको समतल भूमी हो भन्ने गरिन्छ । यसलाई प्रमाणित गर्ने आधार भनेको त्यस क्षेत्रमा हाल पनि जग खन्दा पुराना अवशेषहरु भेटिएबाट हुन्छ । जुन ठाउँलाई नरवः भन्ने गरिन्थ्यो र हाल पनि नरवः फाँट भन्ने चलन अद्यावधि छँदैछ । कीर्तिपुरका बुढापाकाका भनाई अनुसार नरवः वस्तीमा एक समय निकै उडुसले बस्नै नसक्ने गरी दुःख दिएपछि त्यहाँका वासिन्दाहरु नरवः वस्तीलाई छोडेर हाडिगाउँमा बसाँई सरे र ती वासिन्दाहरुले आफनै वस्तीको नाम नरवः नै राखे । हाडिगाउँका बुढापाकाहरु अहिलेसम्म पनि कसैले परम्परा तोड्न लागेमा अहिलेको कुरा हो र नरवःदेखिको चलन हो भन्ने गरेको सुनिन्छ । अर्को कुरा त्यहाँका अधिकांश नेवारहरुको आःजु द्यः(कूलदेवता) भनेको धुँबाराहि हो । जुन कीर्तिपुरका मानिसहरु वस्न जाँदा आफूसंगै धुँभैरवको प्रतिक पनि लगेको भन्ने किंवदन्ति पाइन्छ ।
     अहिलेसम्म काठमाडौ उपत्यकामा भेटिएका प्राचीनकालिन लिच्छवी अभिलेखहरु हाडिगाउँबाट नै भेटिएको हुनाले हाडिगाउँ उपत्यकाकै सवभन्दा पुरानो वस्ती हो भन्ने प्रमाणित भैसकेको छ  । यो पुरानो वस्ती पनि कीर्तिपुरबाट वसाँई सरेर गएकाहरुले निर्माण गरेको भन्ने धारणाबाट  कीर्तिपुर उपत्यकाकै सवभन्दा पुरानो वस्ती भन्ने थाहा हुन्छ । त्यसमध्ये पनि वंशावलीमा व्याख्या भए अनुसार चोबहालको गल्छीबाट नजिकको डाँडा भएको कारणले, गोपालराज वंशावलीमा उल्लेख भए अनुसार पहिलो वंश गोपालहरुको सन्तानहरु ग्वाःहरुको वस्ती भएको कारणले , ग्वाःहरुले गाई चढाउँन लग्दा गाईलाई पानी खुवाउन बनाइएको ग्वाःपुखूको अवशेष प्राप्त भएबाट कीर्तिपुर नेपाल उपत्यकाकै सभ्यताको उद्गम स्थल हुन सक्नेमा दुईमत नहोला ।
    यस्तो प्राचीन वस्तीभित्र मध्ये भागमा रहेको पूर्वाभिमुख बाघभैरवको मन्दिर शीवदेवले वनाए होला तर मूल माटोले वनेको गर्भमा रहेको मूर्ति कसले वनायो भन्ने विषयमा धेरै किम्वदन्तिहरु पाइन्छ ।
    परापूर्वकालमा दानासुर राक्षसले यहाँका मानिसहरुलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहापाई यस क्षेत्रमा आई दानासुरको हत्या गरी यहाँका जनताहरुको रक्षाका लागि बाघभैरवको स्थापना गरेको भन्ने किम्वदन्ति पाइन्छ ।
    त्यस्तै अर्को किम्वदन्ति अनुसार उत्तरतिरको वस्तीका ग्वालाहरु पशुहरु चढाउन गुँदेमा आउँथ्यो । एकदिन बच्चाबच्चि ग्वालाहरुले माटोको खेलौना बाघ बनाएछ । त्यस बाघलाई जिब्रो हाल्नको लागि पात खोज्न गईरहेको बेला आफूहरुले चढाउन ल्याएको सम्पूर्ण पशुहरु खाएको र ती पशुहरु कसले खायो भनेर खोजेको बेलामा आफूहरुले बनाएको माटोको बाघले आँ गरेर देखाउँदा सधै त्यस्तै होस भनेर सरापेको हुनाले बाघभैरवको मूर्तिमा मुख आँ गरेको भन्ने मान्यता पाइन्छ ।
    त्यस्तै गोठालाहरु खेल्ने क्रममा एकजना बच्चिलाई साथीहरुले खेल्नमा सहभागी नबनाएकोले रोइरहेको अवस्थामा एकजना तान्त्रिक आएर ती सानी केटीलाई तन्त्र गरेको अक्षता दिएर भनेछ तिम्रा साथीहरुले बाघ बनाउने बेलामा मैले दिएको दायाँ हातको अक्षताले पूजा गरी जीव राखी दिनु, तिमिहरु डराउँने बेला बायाँ हातको अक्षताले पूजा गर्नु त्यसपछि पहिलाको जस्तै हुनेछ भने अनुसार सानी बच्चिले दायाँ हातको अक्षताले पूजा गर्दा प्राण भर्दा त्यसका साथीहरु भागाभाग भएर गाउँमा हल्ला गर्न गए पछि सबै गाउँलेहरु आई हेर्दा बाघ र गोठाला त्यसै ठाउँमा लिन भए । त्यसकै प्रतिक स्वरुप बाघभैरवको मूलढोका छिर्नासाथको सप्तमातृकासँगैको उभिएको मूर्तिलाई झवाः द्यः भन्ने गरिन्छ ।
     यस्तै खालको अर्कौ एक किम्वदन्ति अनुसार चम्पादेवी डाँडाको तल्लो जंगलमा एकजना सानी गोठालाले बनाएको माटोको बाघले बाख्राहरु खाएकोले ल लिई लखेट्दै जाँदा वर्तमान बाघभैरवको जंगलको प्वालमा बाघ पसेको र सो बाघ फर्केपछि बाघलाई पिट्न प्वालसँगै गोठाला पर्खिरहेको प्रतिक अनुसार झवाःद्यः राखेको वास्तवमा वच्चाहरुले बनाएको मूल बाघ भनेको चम्पादेवीको तल धुँज्वः ठाउँको हो भन्नेहरु पनि पाइन्छन् । यी सबै किम्वदन्ति मात्र हुन् वास्तविक हुनु पर्छ भन्ने छैन । पुराण, साहित्य किम्वदन्तिहरु समय परिस्थिति अनुसार रचनाकारले रचना गर्ने हुन् । यस्ता रचनाहरु सबै सत्य नभए पनि सबै झुठा पनि नहुन सक्छ । यस्ता कथाहरु ऐतिहासिक प्रमाणहरु प्राप्त नहुने ठाउँमा धेरै प्राप्त हुने गर्छन् ।
कीर्तिपुरको बाघभैरवको इतिहास मात्र होइन पृथ्वीनारायण शाहको समयदेखिकै सिङ्गो कीर्तिपुरको इतिहास मौन छन् । त्यसैले बाघभैरवको उत्पत्तिको विषयमा एैतिहासिक प्रमाण दिनसक्ने कुनै आधार छैन । यतिमात्र अनुमान गर्न सकिन्छ कि बाघभैरवको स्थापना सिङ्ग संक्रान्तिको दिन भएको हुनुपर्छ ।
- बज्रमुनि बज्राचार्य

No comments:

Post a Comment