Saturday, September 14, 2013

हाम्रो दीर्घकालीन उद्देश्य कीर्तिपुरमै पहिलो ईञ्जिनीयरिङ कलेजको रुपमा विकाश गर्ने

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

हाम्रो दीर्घकालीन उद्देश्य कीर्तिपुरमै पहिलो ईञ्जिनीयरिङ कलेजको रुपमा विकाश गर्ने

    कीर्तिपुरमा नीजि क्षेत्रबाट संचालित पहिलो प्राविधिक शिक्षालय माइक्रो ईन्जिनियरिङ्ग इन्ष्टिच्युटको अहिलेसम्मको गतिविधि र प्राविधिक शिक्षा योजनावारे संस्थाका प्रिन्सिपल अरुण डंगोलसंग हाम्रो सम्वाददाताले लिनुभएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ ।— सं.
१) माइक्रो ईन्जिनियरिङ्ग इन्ष्टिच्यूटमा कुन कुन विषयमा पढाइ भईरहेको छ ?
    हाल यस इन्ष्टिच्यूटमा ईलेक्ट्रिकल, प्लम्बिङ्ग, वेल्डिङ्ग, डकर्मि र एयरकोन–मेकानिक्स गरि जम्मा ५ विषयको पढाइ भईरहेको छ ।
२) विषयगत प्राविधिक शिक्षाको कति अवधिमा पढाई पुरा हुन्छ ?
    वेल्डिङ्ग बिषयमा ४८० घण्टा र अन्य ४ विषयहरुको ३९० घण्टाको हिसाबले तीनदेखि चार महिना सम्मको अवधिमा पढाई पुरा हुन्छ ।
३) विषयगत कक्षाको भर्ना र मासिक या एक मुष्ट शुल्क कति लिने गरेको छ ?
    एक बिषयको पढाई पुरा गर्न भर्ना शुल्क २०००, प्राक्टिकल तथा ट्यूशन शुल्क ६००० (प्रति महिना) र सेक्यूरिटि डिपोजिटको ५००० गरि जम्मा २५,००० रकम लाग्नेछ जसमा सेक्यूरिटि डिपोजिटको ५००० रकम पछि फिर्ता हुने हुँदा एकमुष्ट २०,००० मात्र लाग्नेछ ।
४) अहिलेसम्मको अवस्था कस्तो छ ? कुन विषयमा कति जना सहभागिता भई प्राविधिक शिक्षा लिइरहनुभएको छ ?
    अहिले हामीले दुई वटा समुहलाई प्रशिक्षण दिई राखेका छौं । पहिलो समुहमा ईलेक्ट्रिकल र एयरकोन–मेकानिक्स बिषयमा गरि १० जना छन भने दोश्रो समुहमा १४ जनाको प्लम्बिङ्ग बिषयको प्रशिक्षार्थीहरुको लागी उहाँहरुको समय र पारबहनलाई ध्यानमा राखी काठमाण्डौंमा नै प्रशिक्षण दिई राखेका छौं ।
५)  कुन विषयमा कसले प्राविधिक शिक्षा दिइरहनु भएको छ ?
    बिषयगत रुपमा हामीसंग ५ जना प्रशिक्षकहरु हुनुहुन्छ । मेकानिकल प्रमुखमा ई.गोविन्द महर्जन, सिभिल प्रमुखमा ई.उदयलाल डंगोल, ईलेक्ट्रिकल शाखा प्रमुखमा ई. सुमन मानन्धर र एयर कण्डिशन तथा डक्टिङ्ग बिषयमा ई.सुदिप महर्जन हुनुहुन्छ ।
६) कीर्तिपुरमा प्राविधिक शिप लिइरहनु भएकाहरुको कस्तो अनुभव पाउनु भयो ?
    हामीले सैद्वान्तिकभन्दा प्राक्टिकलमा बिशेष जोड दिइराखेकोले शिक्षार्थीहरु निकै उत्साहित छन । सोचेभन्दा छिटो सिकिराखेका छन । अहिले त हामीले अधिकांश जो दिउँसो फुर्सदिला छन तिनीहरुलाई सिकारुको रुपमा काममा राखी दिइसक्यौं र आफ्नो खर्च आफै गर्न सक्ने भएका छन ।
७) सैद्धान्तिक र अभ्यास (Practical) कसरी मिलाउनु भएको छ ?
    विहान ६:०० बजे देखि ७:०० बजेसम्म १ घण्टा सैद्धान्तिक कक्षा र ७:०० बजे देखि ९:०० बजेसम्म २ घण्टा अभ्यास (Practical) कक्षा भैराखेको छ ।
८) मुख्य उद्देश्य दक्ष प्राविधिक बनाई युवाहरुलाई विदेश रोजगार पठाउने हो ?
    हाम्रो मुख्य उद्देश्य बेरोजगार युवाहरुलाई दक्ष प्राविधिक बनाउनु हो ताकी उसले संसारको कुनै पनि ठाउँमा गए पनि सक्षम होउन । पहिलो चाहना त स्वदेशमै उद्यमी बनुन भन्ने हो । त्यसको विकल्प यदि कोहि विदेश नै जाने मनसाय बनाएका छन भने, तिनीहरु दक्ष प्राविधिक भएर जाउन हाम्रो चाहना हो ।
९) हालै दक्षिण कोरिया विश्वविद्यालय तपाईको इन्ष्टिच्युटमा भलाकुसारी गर्नुभयो र कीर्तिपुरमै विचार आदानप्रदान अनि अन्तरक्रिया गर्नुभयो । के दक्षिण कोरियामा रोजगारीको वातावरण बनाउन खोज्नु भएको हो ?
    हामीले दक्षिण कोरियाको हानडोङ्ग विश्वविद्यालयका प्रोफेसरहरुलाई आमन्त्रण गरि कीर्तिपुरमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्यौं । यसको प्रमुख उद्देश्य भनेको हामी कीर्तिपुरबासी र उहाँहरु बीचमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्नु र एक आपसमा भाईचाराको सम्वन्ध स्थापना गर्नु हो । अनि तपाईंले भन्नुभए जस्तै दक्षिण कोरियामा भाषामा मात्र होईन प्राविधिकरुपमै दक्ष नेपालीहरुलाई सहज रोजगारीको वातावरण बनाउने चाहना चाहिं पक्कै हो । किनकी अहिले दक्षिण कोरियामा भ्एक् अन्तर्गत कोरियन भाषा मात्र सिकेर जाने गरेका छन ।
१०) कीर्तिपुरमा पहिलो इन्ष्टिच्यूत माइक्रोको मुख्य उद्देश्य के हो ?
    यस माईक्रो ईञ्जिनीयरिङ्ग ईन्ष्टिच्यूटको तात्कालिक उद्देश्य भनेको बेरोजगार तथा कम शिक्षित नेपाली युवाहरुलाई कुनै एउटा प्राविधिक बिषयमा ब्यबसायिक र दक्ष बनाई देश तथा विदेशको विकाशको लागी महत्वपूर्ण भौतिक निर्माण क्षेत्रमा भएका प्राविधिकहरुको कमीलाई पुर्ति गर्नु । हाम्रो दीर्घकालीन उद्देश्य भनेको यस पोलिक्लिनिक ईन्ष्टिच्यूटलाई भविष्यमा कीर्तिपुरमै पहिलो ईञ्जिनीयरिङ्ग कलेजको रुपमा विकाश गर्ने हो ।
११) यस पत्रिकामार्फत केही भन्नुहुन्छ ?
    यस सहिद साप्ताहिकका पाठकहरु समक्ष मेरो विनम्र अनुरोध छ, हामी सबैले सामान्य प्राविधिक ज्ञान सिकौं ताकी हाम्रो घरमा आइपर्ने स–साना विजुलिको, धाराको समस्याहरु हल गर्न अरुलाई चाकडी गरिराख्न नपरोस् र आत्मनिर्भर बनौं ।
— अरुण डंगोल
(प्रिन्सिपल) ÷माइक्रो ईन्जिनियरिङ्ग इन्ष्टिच्यूट, कीर्तिपुर

No comments:

Post a Comment