Wednesday, October 16, 2013

बुद्ध जन्मेको नेपालमा बुद्धकै उपहास

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

बुद्ध जन्मेको नेपालमा बुद्धकै उपहास

       आजभन्दा २६३७ वर्ष पहिले नेपालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको कुरा नेपालले मात्र होइन् विश्वले नै स्विकारेको तथ्य हो । सिद्धार्थ गौतम पछि ३५ वर्षको उमेरमा सम्यकसम्बुद्ध हुनुभई दुःखमय भवसागरमा रुमल्लीरहेका सारा मानिसको अविब्द्यालाई उघार्ने शिक्षा, ज्ञान र उपदेश दिनुभयो । वहाँको जन्मभूमिलाई केही भारतका व्यक्तिहरुले बिवादित तुल्याउने षडयन्त्र भएतापनि सम्राट अशोकले राखेको अशोक स्तम्भमा उत्कीर्ण “हिद बुधें जाते सक्यमुनिति” (यहाँ शाक्यमुनि बुद्धको जन्म भएको हो) र “हिद भगवं जातेति लुमिनी गामे”   (यहाँ भगवान बुद्ध जन्मनु भएको लुम्बिनी ग्राम) भन्ने ब्राम्ही लिपीको शिलास्तम्भले बुद्धको जन्मभुमि लुम्बिनी हो भन्ने तथ्य प्रमाणित गर्दछ ।
       बुद्ध एशिया महादेशको मात्र होइन् विश्वकै ज्योति÷प्रकाश हो । नेपालमा जन्मनु भएका वहाँ अग्रमहा पुरुषको १२ औं शताब्दीदेखि बौद्ध स्मारक केन्द्र र प्राचीन सम्पदाको रुपमा रहेको स्थानमा एउट बुद्धको प्रतिमा स्थापना गर्न खोज्दा प्रशासनले सौताको छोरासमान गरेको अमानवीय व्यवहार र उपहास देख्दा नेपाललाई सच्चा दिलले माया गर्ने सम्पूर्ण नेपालीलाई दुःख लाग्नु स्वभाविक हो । स्थानीय प्रशासनको आधिकारिक स्विकृत लिएर सुर्खेतको लातिकोइलि गाविसको कांक्रे विहारमा स्थापना गरिसकेको बुद्धको मूर्तिलाई  उही प्रशासनको निर्देशनमा प्रहरी लगाएर फाल्न लगाए । अहिंसाका पुजारी बौद्ध मार्गीहरुलाई प्रहरीले निर्घात कुटपिट र अभद्र व्यवहार गरे । अनेक बुद्धमुर्ति एवं चैत्यहरुको अत्यन्त महत्वपूर्ण ऐतिहासिक सम्पदाको ठाउँमा बुद्धको मुर्ति स्थापन गर्न नदिन सामुदायिक वन संरक्षित क्षेत्रको नाउँमा नाटक रचे । धर्म निरक्षेप मुलुकमा आफैले संविधानको मयार्दालाई उल्लंघन गरेर नेपालमा सम्पूर्ण बोद्धमार्गीहरुलाई आन्दोलन नै गर्नुपर्ने बाध्यता र वातावरणको सृजना गरे ।
       कांक्रे विहारमा बुद्धको एउटा मुर्ति स्थापन गर्न नदिनुको सोझो अर्थ बुद्ध धर्मलाई हेला गर्नु, अपमान गर्नु हो । तर वास्तविकता र यथार्थता के हो भने बुद्धको शिक्षा, ज्ञान र उपदेशलाई नबुझनु र बुझ्ने प्रयास नहुनु हो । सरकार र स्थानीय प्रशासनमा ती व्यक्तिहरु जसले बुद्धको प्रतिमा राख्न रोक लगाए, उनीहरुले आधुनिक विज्ञानका महानतम हस्ती अल्वर्ट आइन्स्टाइनको भनाई “आजको युगमा विज्ञानको नजिक कुनै धर्म छ भने त्यो बुद्ध धर्म हुनसक्छ ” र विश्व विख्यात दार्शनिक बट्रेण्ड रसेलको “यदि मलाई कुनै धर्म रोज्न बाध्य गरेमा म बुद्ध धर्मलाई रोज्छु ” भन्ने विचार एकपटक ठण्डा दिमागले चिन्तन मनन गर्नु आवश्यक छ । साथै बैज्ञानिक आइस्टाइन र दार्शनिक रसेल श्रीलंका, म्यान्मार, थाइलैण्ड आदि बौद्धमार्गी मुलुकमा जन्मेको बौद्धमार्गी होइन भन्ने कुरा बुझ्नु पनि नितान्त जरुरी छ । अनि उनीहरुको सम्झनु पर्दछ कि किन बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको महान त्रि–संयोगको पावन बैशाख पूर्णिमाको दिनलाई संयुक्त राष्ट्रसंघले बिदा घोषणा ग¥यो भनेर । वास्तवमा सच्चार्ई मानवले अमृतलाई अमृत र सच्चाइलाई सच्चाई भनेर स्विकार्न सक्नु पर्दछ ।
       नेपालमा पहिलो पटक भएको संविधान सभाको चुनावले बनाएको संविधान सभा परिवर्तन नचाहनेहरुको कारणले संविधान बनाउन नसकि अवशान भयो, विघटन भयो । धर्म निरपेक्ष राष्ट्रलाई अहिले संक्रमणकाललाई सदुपयोग गरेर सत्ता र प्रशासनको आडमा हिन्दु राष्ट्र कायम गने दुस्वप्न हो । विश्वको महामानव बुद्ध जन्मेको ठाउँमा अहिले उनै एउटा मूर्ति स्थापना गर्न नदिनु उनीहरु परिवर्तन नचाहनेहरुको चलखेल हो, यथास्थितिमा राख्ने एउटा चाहना हो । अनेक बुद्धमुर्ति चैत्यहरुको ऐतिहासिक स्थललाई संरक्षण नगरी उत्खननमा अवरोध पु¥याउने एउटा अकुशल चाहना हो । राज्यको सत्तामा हिन्दु हिमायतीहरु रहेको कारणले यस प्रकारको प्रपंञ्च भइरहेको हो । सत्य तथ्यलालई कसैले लुकाएर लुकाउन सकिदैन । वास्तविकतालाई असत्यको कपडाले छापेर छोपिदैंन् । एक दिन यो सवैजना असफल नै हुनेछन् । किनभने जसरी महान पृथ्वीलाई एउटो सानो कुटोले खन्दैमा नष्ट हुँदैन, जसरी अनन्त आकाशलाई कुनै रंगले रंगाउन सकिदैन., जसरी विशाल समुद्रलाई केही झारपात बालेर पानी तताउन सकिदैन अनि जसरी विरालोको अत्यन्त कोमल रौंलाई लठ्ठी रगडेर कडा बनाउन सकिदैन्, त्यसरी नै अकुशल कर्मका हिमायतीहरु कदापि सफलहुँदैन्।
       अन्तमा अग्रमहापुरुष सम्यकसम्बुद्ध र सर्वोच्च शिखर सगरमाथा नेपालका गौरबहरु हुन । गौरबलाई अनन्तसम्म गौरबकै रुपमा राख्न होसियार हुनु सच्चा नेपालीको परम कर्तव्य हो । तर एकातिर उनै शान्तिका अग्रदूत बुद्धको नाउँमा दाताहरुसँग सहयोगका लागि हातहरु बढाउँछौं भने अर्को तिर वहाँलाई नै अपमान गर्न पछि सर्दैनौ । बुद्धको अपमान नेपालका शान्तिप्रिय बौद्धहरुको मात्र अपमान होइन, विश्वका एक अर्ब बौद्धहरुको अपमान हो अनि यो सरकार बनाउने एनेकपा माओवादी, काँग्रेस, एमाले लगाएत पार्टीहरुका नेताहरुको पनि अपमान हो । यथार्थमा सुर्खेतको लातिकोइलि गाविसस्थिति काँक्रे विहारमा एउटा बुद्धको मुर्ति राख्न खोज्दा प्रशासन/सरकारमा बस्नेहरुको अवशान एवं उनीहरुको सबै अधिकार हनन हुने जस्तो गरी मानसिकताको विकास हुनु एउटा विडम्वना हो, संकुचित सोचको उपज हो र अन्तराष्ट्रिय क्षेत्रमा ब्राम्हणवादी सरकारको बेइज्जत हो । त्यसैले आफ्नो बेइज्जत होइन इज्जत रहने कार्य गरौं । बुद्धको अपमान होइन सम्मान गरौं ।
—पूर्णमान महर्जन, कीर्तिपुर

No comments:

Post a Comment