Wednesday, October 16, 2013

अमेरिकी साम्राज्यवाद– सिरिया छोड !

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

अमेरिकी साम्राज्यवाद– सिरिया छोड !

    काठमाडौं । मध्यपूर्वी देश सिरियामाथि संरा अमेरिकाको युद्ध धम्की र सैन्य हमलाको विरोधमा मङ्गलबार नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले काठमाडौंस्थित संरा अमेरिकी राजदूतावासमा विरोध पत्र बुझाएका छन् ।
    अमेरिकी साम्राज्यवादविरुद्ध नाराहरू लेखिएका प्लेकार्ड बोकेका युवा–विद्यार्थीहरूले सिरिया, इराक, अफ्गानिस्तान, लिविया, आदि देशहरूमा अमेरिकी हमला र हस्तक्षेपको विरोधमा दूतावासअघि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
      प्रदर्शनकारीहरूले दूतावासका सुरक्षा सहचरी कोलिन बक्नरलाई विरोध पत्र बुझाएका थिए ।
    सो क्रममा भएको कोणसभामा बोल्दै नेक्रायुसंघका अध्यक्ष उकेश कवांले अमेरिकी प्रजातन्त्र र मानव अधिकार पाखण्डमात्र भएको बताउँदै सिरियाको घटनाक्रमले पुनः एकपटक विश्वसामु उदाङ्गिएको बताउनुभयो । उहाँले सिरियामाथि अमेरिकी हमलाको विरोध साम्राज्यवादविरोधी आन्दोलनको सिलसिला भएको बताउनुभयो ।
    नेक्राविसंघका अध्यक्ष रवीन्द्र ज्याख्वले संसारभरका न्यायप्रेमी जनता सिरियामा संरा अमेरिकी हमलाको विरोधमा उत्रिएको बताउनुभयो । उहाँले भारतीय विस्तारवादको हस्तक्षेपविरुद्ध संघर्षरत नेपाली युवा–विद्यार्थीहरूले सिरियामाथि हमलाको विरोध गर्नु अन्तर्राष्ट्रिय कर्तव्य भएकोमा जोड दिनुभयो ।
    कार्यक्रममा नेक्रायुसंघका केन्द्रीय सहसचिव शङ्कर भण्डारी र नेक्राविसंघका केन्द्रीय सचिव नीरज लवजूले पनि बोल्नुभएको थियो ।
    विरोध पत्रमा भनिएको छ – सिरिया मध्यपूर्वको स्वतन्त्र र सार्वभौम देश हो । सिरियाका राष्ट्रपति बसाद अल अस्सादको सरकार सिरियाली जनताको अनुमोदन प्राप्त सरकार हो । तर संरा अमेरिकाले सिरियाको तेल खानी कब्जा गर्न विगत २८ महिनादेखि सिरियाका कथित विद्रोहीहरुलाई आर्थिक र हतियार सहयोग गर्दै आएको र राष्ट्रपति अस्सादलाई हटाउने असफल प्रयास गरिरहेको छ । हालै संरा अमेरिकालगायतले सिरियाको सरकारलाई कथित विद्रोहीमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै थप हातहतियार पठाएर सिरियामा हस्तक्षेप र आक्रमणको तयारी गर्दैछ । सिरियाको सरकारले रासायनिक हतियार प्रयोग नगरेको स्पष्ट गरिसकेको छ ।
    सिरियामाथि संरा अमेरिकाको नेतृत्वमा बेलायत, फ्रान्स, अष्ट्रेलियालगायत देशहरुले संयुक्त आक्रमण गर्ने समाचारसँगै विश्वका न्यायप्रेमी र युद्धविरोधी जनताहरुले यसको कडा विरोध र भतर्सना गर्दैछन् ।
    बेलायतको संसदमा प्रधानमन्त्री डेभिड क्यामरुनको सिरिया आक्रमण गर्ने प्रस्ताव अत्यन्त बहुमतबाट अस्वीकृत भयो । महामहिम राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि नै सिरियामाथि आक्रमण गर्ने अमेरिकी तयारीको विरोधमा जनप्रदर्शन भइसकेको छ । जोर्डन, यमन, क्यानाडा, बेलायत, क्युवा, भेनेजुयलालगायत देशहरुमा सिरियामाथि अमेरिकी हस्तक्षेप र आक्रमणको तयारी विरोधमा जनप्रदर्शन भइरहेको छ ।
    सन् २००३ मा आणविक हतियार थुपारेको आरोप लगाउँदै संरा अमेरिकाको नेतृत्वमा नाटो सेनाले इराकमाथि आक्रमण गरी राष्ट्रपति सद्दाम हुसेनको हत्या गरे । तर इराकमा रासायनिक हतियार फेला परेन । संरा अमेरिका र नाटो सेनाले ४१ वर्ष लामो समयसम्म निरंकुश र तानाशाही शासन चलाएको आरोप लगाउँदै राष्ट्रपति मुअम्मर गद्दाफीको हत्या गरे र लिविया कब्जा गरे । समाजवादी देशहरु क्युवा र प्रजग कोरियामाथि आधा शताब्दीभन्दा अघिदेखि मानवताविरोधी आर्थिक नाकाबन्दी लादिएको छ । क्युवाका पाँच देशभक्त युवाहरुलाई जासुसीको आरोप लगाई संरा अमेरिकी जेलमा बन्दी बनाइएको छ । आणविक हतियार निर्माण गरेको आरोप लगाउँदै इरानमाथि आक्रमणको धम्की दिइरहेको छ ।
    युद्ध र अशान्तिको कारक पूँजीवाद, साम्राज्यवाद र विनाशकारी हतियार उत्पादन नै हो । संसारमा सबैभन्दा बढी हतियार उत्पादन गर्ने र बिक्री गर्ने देश संरा अमेरिका नै हो । हातहतियार उत्पादनमा भइरहेको खर्च मानव कल्याणमा उपयोग गर्नुपर्छ । प्रजग कोरिया र क्युवामाथि लगाइएको मानवताविरोधी आर्थिक नाकाबन्दी तत्काल हटाउनुपर्छ । पाँच क्युवाली देशभक्त युवाहरुलाई निःशर्त रिहा गर्नुपर्छ । सार्वभौम देश सिरियामाथि हस्तक्षेप र आक्रमणको तयारी तत्काल फिर्ता गर्नुपर्छ । सिरियाका कथित विद्रोहीहरुलाई आर्थिक र हातहतियार सहयोग तत्काल बन्द गर्नुपर्छ । मध्यपूर्व र बाँकी विश्वमा शान्ति कायम गर्न विश्वका विभिन्न देशबाट अमेरिकी शैन्य शिविर र हातहतियारहरु अविलम्ब फिर्ता गर्नुपर्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete